काठमाडौं । यस वर्षको बडादशैंमा महाअष्टमी दुई दिन परेको विषयले धार्मिक तथा ज्योतिषीय क्षेत्रमा चर्चा पाएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पात्रोअनुसार वि.सं. २०८३ सालको कात्तिक १ र २ गते महाअष्टमी परेको उल्लेख गरिएको छ। हाम्रो पात्रो र नेपाली पात्रोले आजको दिनलाई शुक्ल अष्टमी र दशैंको विदा भनी उल्लेख गरेका छन् ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार वि.सं. २००० सालमा पनि दशैंको अष्टमी दुई दिन परेको थियो। त्यसयता पहिलोपटक यस्तो अवस्था आएको दाबी गरिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारीलाई उद्धृत गर्दै news of nepal मा प्रकाशित समाचारअनुसार यस वर्षको बडादशैं असोज २५ गते घटस्थापनाबाट सुरु भएको हो। कात्तिक १ र २ गते महाअष्टमी, कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमी परेको छ। यससँगै यस वर्षको दशैं घटस्थापनादेखि विजयादशमीसम्म ११ दिनको हुने बताइएको छ।
वर्षौपछि दुईदिन अष्टमी परेको विषयमा नेपाल पञ्चाङग निर्णायक विकास समितिका पुर्व कार्यकारी निर्देशक सुर्यप्रसाद ढुंगेलले बिसं २००० सालयता यस्तो अवस्था नआएको बताउनुभयो । उहाँले भन्नुभयो–बिसं बिसं २००० सालयताको पञ्चाङग पात्रो हेर्दा दुईवटा अष्टमी परेको देखिएन । भन्नुपर्दा वर्षोपछि यस्तो देखिएको हो । समितिका कार्यकारी निर्देशक पन्थीले यो निर्णय गर्नुअघि वर्षौअघिको पात्रो अध्ययन गरेको जानकारी दिनुभयो ।
यद्यपि, दुई दिन महाअष्टमी परेको विषय बुझ्न तिथि र पात्रोको मितिबीचको भिन्नता बुझ्न आवश्यक छ। हिन्दू पञ्चाङ्गमा तिथि चन्द्रमा र सूर्यको आपसी कोणीय दूरीका आधारमा निर्धारण गरिन्छ। त्यसैले एउटा तिथि दुईवटा पात्रोका मितिमा फैलिन सक्छ। तिथि दुई दिनसम्म रहनु र दुवै दिन छुट्टाछुट्टै महाअष्टमी पर्व मनाउनु भने एउटै कुरा होइन।
यस विषयमा भारतीय सञ्चारमाध्यमले पनि नवरात्रको तिथिगत गणना र पूजा गर्ने दिनबारे समाचार प्रकाशित गरेका छन्। भारतीय समाचारमा कतै सप्तमी दुई दिन पर्ने तथा अष्टमी र नवमीको पूजा एकै दिन गर्नुपर्ने अवस्थाबारे चर्चा गरिएको छ। तर भारतीय पात्रोको गणना र नेपालको महाअष्टमीसम्बन्धी दाबी एउटै नभएकाले दुवैलाई छुट्याएर बुझ्नुपर्ने हुन्छ।
नेपालको पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादशैंका साइतसम्बन्धी विज्ञप्तिसमेत सार्वजनिक गरेको छ। आधिकारिक पात्रोमा उल्लेख भएका पर्वका मिति र तिथिको वास्तविक अवधि यस विषयका महत्त्वपूर्ण आधार हुन्।
वि.सं. २००० पछि पहिलोपटक यस्तो भएको भन्ने दाबीलाई पूर्ण रूपमा ऐतिहासिक तथ्यका रूपमा पुष्टि गर्न भने विगतका पञ्चाङ्गहरूको तुलनात्मक अध्ययन आवश्यक हुन्छ। त्यसैले यस वर्षको दशैंमा दुई दिन अष्टमी तिथि परेको विषयलाई असामान्य पात्रो गणनाका रूपमा बुझ्नु उपयुक्त हुन्छ।
प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।
नवरात्रको दोस्रो दिन सोमबार ब्रह्मचारिणी, तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा, चौँथो दिन बुधबार कुष्माण्डा, पाँचौँ दिन बिहीबार स्कन्दमाता, छैटौँ दिन शुक्रबार कात्यायनी, सातौँ दिन शनिबार कालरात्रि र आठौँ दिन महागौरीको पूजा आराधना गरिएको हो ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत्लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसवर्ष विजयादशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
विजयादशमीदेखि कोजाग्रात पूर्णिमासम्म मान्यजनबाट टीका थाप्न कुनै समस्या नरहेको समितिका अध्यक्ष सह प्रा.डा. पुरुषोत्तम भट्टराईले बताए। दुर्गा देवीका आराधना एवं प्रसाद ग्रहण गरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन् ।
