Header Ads Widget

Sponser Us

Today Nepali News From USA🔴Samacharpati USA | 25 September 2026 | Usa Ma Aaja | America ma aaja

 

नरेश भट्टको हत्या मुद्दामा अदालतमा क्यामेरा राख्न अनुमति, तर पूर्ण लाइभ स्ट्रिमिङमा रोक

भर्जिनियामा दक्षिण एसियाली व्यवसायीको प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

नेपाली समुदायले परम्परागत इन्द्रजात्रा विशेष कार्यक्रमका रूपमा मनाउने, कार्यक्रम आज साँझ ५ बजेसम्म सञ्चालन हुने।

ओहायोमा नेपाली समुदायलाई लक्षित गर्दै आज Dashain Cup 2026 आयोजना हुँदै

नर्थ क्यारोलाइनामा नेपाली व्यवसायीको २ करोड ३० लाख डलर लगानीमा होटल सञ्चालन

अमेरिकाको भर्जिनियामा नेपाली कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन Kollywood Night 2026 को आयोजना हुदै, कार्यक्रमबाट बाढी राहतमा सहयोग गरिने ।।

‘एभरेस्ट कुजिन’को नयाँ शाखा Newark–Fremont मा अर्को महिना  खुल्ने

नर्दन क्यालिफोर्नियामा अक्टोबर १० मा ग्रान्ड दशैं मेला आयोजना हुँदै

दशैं २०८३ : अमेरिका भर धमाधम कार्यक्रम घोषणा, कलाकारहरुको बाक्लो उपस्थिति

यसपालीको दशैं-तिहारमा कुन कुन कलाकार अमेरिका आउँदैछन्

अमेरिकाको पूर्वी तटतर्फ विकसित भइरहेको शक्तिशाली Nor’easter storm का कारण Maryland, Virginia र Delaware का तटीय क्षेत्रमा बाढी, तेज हावा र ठूलो छालको जोखिम

मेरील्याण्डस्थित Annapolis क्षेत्रमा Spa Road को एक खण्ड आगामी सोमबारदेखि करिब चार सातासम्म बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने ।।

ओहायोस्थित Columbus मा प्रहरीले प्रयोग गर्दै आएको गाडीको नम्बर प्लेट पहिचान गर्ने क्यामेराको दुरुपयोगबारे विवाद

ओहायोमा Medicaid ठगीको आरोप, Columbus क्षेत्रका तीन जनामाथि मुद्दा

ट्रम्प–सी चिनफिङ शिखर बैठक सम्पन्न, व्यापार र एआईमा छलफल तर ठोस सम्झौता भएन

सर्वोच्च अदालतले मतदाता जाँचका लागि Social Security Data प्रयोग गर्न बाटो खोल्यो

कांग्रेसबाट यसअघि स्वीकृत भएको करिब १ अर्ब डलरको संघीय खर्च रद्द गर्ने डोनाल्ड ट्रम्प प्रशासनको निर्णय

Monster का CEO Coca-Cola मा जाने

नेपाली प्रोफाइल अन्तरगत आज हामीले

‍बर्दियाको सरकारी स्कुलदेखि अमेरिकाको Intel सम्म, यस्तो छ विवेक गौतमको यात्रा को विषयमा जानकारी दिने छौं हामीलाई अन्त्य सम्म हेर्नुहोला ।

अब ब्राण्ड परिचय । आज हामीले

Michael Kors कसरी बन्यो विश्व चर्चित ब्रान्ड? यस्तो छ यसको रोचक इतिहास

 

दर्शक महानुभाव नमस्कार समाचारपाटी USA को दैनिक न्युज बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ । म प्रल्हाद चन्द्र घिमिरे । आज सेप्टेम्बर 26 शनिवार, नेपालमा बिसं. २०८३ असोज १० गते । दशर्कमहानुभाव हामीले अमेरिकामा रहनुभएका नेपालीभाषीहरुका लागि दैनिक समाचार बुलेटिन प्रशारण गरिरहेका छौँ । यो समाचार बुलेटिन इष्टर्न समय अनुसार हरेक दिन बिहान ९ बजे प्रसारण हुने छ । यस बुलेटिनमा नेपाली समुदायले अमेरिकामा गरेका सामाजिक, आर्थिक राजिनितीक गतिबिधि, अमेरिकाले लागु गरेका र गर्न खोजेका निती नियम लगायत नेपाल र नेपालीलाई प्रभाव पार्ने सूचना, जानकारी र समाचार प्रस्तुत गर्नेछौँ । यदि हजुरसंग पनि नेपाल र नेपाली समुदायको विषयमा सरोकार राख्ने कुनै सूचना, जानकारी वा समाचार छ भने हामीलाई samacharpatiUSA@gmail.com मा इमेल गर्नसक्नुहुने छ । हामीलाई अमेरिकाको कुन स्टेट, कुन सिटिबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेण्ट बक्समा कमेण्ट गर्नुहोला । दैनिक रुपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला , आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फस्ट टाइम भनेर लेख्नुहोला । हाम्रो च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला । अनि अजिकै आउने बेल आइकन लाई क्लिक गर्नुहोला । समाचार सुरु गरौँ ..... को प्रसंगबाट

 

नरेश भट्टको हत्या मुद्दामा अदालतमा क्यामेरा राख्न अनुमति, तर पूर्ण लाइभ स्ट्रिमिङमा रोक

अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टी अदालतमा नरेश भट्टविरुद्ध चलिरहेको हत्या मुद्दाको सुनुवाइमा सञ्चारमाध्यमले क्यामेरा प्रयोग गर्न पाउने भएका छन्। तर, अदालतभित्र हुने सम्पूर्ण सुनुवाइलाई प्रत्यक्ष लाइभ स्ट्रिम गर्न भने अदालतले अनुमति दिएको छैन। न्यायाधीश किम्बर्ली अर्विङले अक्टोबर ५ देखि सुरु हुने मुख्य सुनुवाइलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेकी हुन्। सञ्चारमाध्यमले मुद्दामा ठूलो जनचासो रहेकाले पूरा ट्रायल प्रत्यक्ष प्रसारण गर्न अनुमति मागेका थिए। तर, नरेश भट्टका वकिलहरूले पूर्ण भिडियो प्रसारणले निर्णायक मण्डल अर्थात् जुरी र साक्षीहरूमाथि अनावश्यक दबाब पर्न सक्ने तथा निष्पक्ष सुनुवाइको अधिकारमा असर पर्न सक्ने तर्क गरेका थिए। दुवै पक्षको कुरा सुनेपछि अदालतले क्यामेराबाट सुनुवाइका केही दृश्य रेकर्ड गर्न तथा समाचारमा प्रयोग गर्न अनुमति दिएको छ। तर, पूरा ट्रायललाई चौबीसै घण्टा प्रत्यक्ष प्रसारण गर्न भने रोक लगाइएको छ। यसैबीच, नरेश भट्टले आफ्ना सरकारी वकिलहरू परिवर्तन गर्न माग गर्दै दिएको निवेदन पनि अदालतले अस्वीकार गरेको छ। सुनुवाइ सुरु हुन केही समय मात्र बाँकी रहेकाले नयाँ वकिल नियुक्त गर्दा मुद्दाको प्रक्रिया थप ढिलो हुन सक्ने अदालतको भनाइ छ। यो मुद्दा नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट सन् २०२४ को अगस्टमा बेपत्ता भएपछि सुरु भएको अनुसन्धानसँग सम्बन्धित छ। ममता बेपत्ता भएपछि प्रहरीले लामो अनुसन्धान गरेको थियो। त्यसपछि उनका श्रीमान् नरेश भट्ट पक्राउ परेका थिए। ममताको शव वा अवशेष अहिलेसम्म फेला परेको छैन। सरकारी पक्षले नरेश भट्टमाथि प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा शवको अपमानसँग सम्बन्धित अभियोग लगाएको छ। तर, यी अभियोगहरू अदालतबाट अन्तिम रूपमा प्रमाणित भइसकेका छैनन्। सरकारी पक्षले अदालतमा पेस गरेका प्रमाणमध्ये जुलाई ३० र ३१, २०२४ का निगरानी क्यामेराका दृश्य पनि छन्। ती दृश्यमा नरेशले फोहोर फाल्ने स्थानमा ठूला फोहोरका झोला लगेको देखिएको सरकारी पक्षको दाबी छ। त्यसैगरी, प्रहरीले नरेशले पन्जा, ठूला फोहोरका झोला र तीनवटा ठूला चक्कु किनेको विवरण पनि प्रमाणका रूपमा प्रस्तुत गरेको छ। अगस्ट १ मा ममताको फोनको अन्तिम लोकेसन लाउडन काउन्टी क्षेत्रमा देखिएको र त्यहाँको कपडा दान गर्ने बाकसबाट रगतको दाग देखिएको बाथम्याट बरामद भएको सरकारी पक्षको दाबी छ। अब अक्टोबर ५ देखि सुरु हुने मुख्य ट्रायलमा अभियोजन पक्ष र बचाउ पक्षले आफ्ना प्रमाण तथा तर्क प्रस्तुत गर्नेछन्। त्यसपछि जुरीको निर्णय र अदालतको अन्तिम प्रक्रियाले यो मुद्दाको कानुनी निष्कर्ष तय गर्नेछ।


 

भर्जिनियामा दक्षिण एसियाली व्यवसायीको प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

अमेरिकाको भर्जिनियामा दक्षिण एसियाली व्यवसायी तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरूलाई एकै मञ्चमा ल्याएर व्यवसाय प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। दक्षिण एसियाली व्यावसायिक परिषद् भर्जिनियाले आयोजना गरेको कार्यक्रममा दर्जनौँ व्यवसायी, कम्पनीका कार्यकारी प्रमुख, सरकारी अधिकारी तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनका क्रममा देखिएका चुनौती र त्यसका सम्भावित समाधानबारे छलफल गरिएको थियो। कार्यक्रममा भर्जिनिया राज्यका सिनेटर जेनिफर बायस्क, सिनेटर जेरेमी म्याकपिक तथा डेलिगेट जसजीत सिंहले व्यवसायीलाई आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ। डा. नीलिमा मेहताले सञ्चालन गरेको कार्यक्रममा व्यवसायिक प्रस्तुतीकरण र प्रश्नोत्तर सत्रसमेत राखिएको थियो। सहभागी कम्पनीका प्रमुख कार्यकारीहरूले निश्चित समयभित्र आफ्नो व्यवसायबारे जानकारी दिएका थिए भने विज्ञ तथा सहभागीहरूले प्रश्न गरेका थिए। कार्यक्रममा समुदायमा योगदान पुर्‍याएका प्रोफेसर डा. नीलिमा मेहरा, डा. विष्णुदत्त जयरमण, रणवीर भुटानी, सादिक अहमद, खालिद वार्दाक तथा सामुदायिक भोजनगृह ‘अन्न सुधा’ लगायतलाई सम्मान गरिएको विष्णु धितालले जानकारी दिनुभएको छ। कार्यक्रमको संयोजनमा नेपाली मूलकी कलाकार तथा सामाजिक अभियन्ता राजश्री श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। नेपाल, भारत, पाकिस्तान र बंगलादेशलगायत दक्षिण एसियाली मुलुकबाट अमेरिका आएका व्यवसायीलाई जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।


 

नेपाली समुदायले परम्परागत इन्द्रजात्रा विशेष कार्यक्रमका रूपमा मनाउने, कार्यक्रम आज साँझ ५ बजेसम्म सञ्चालन हुने।

अमेरिकाको मेरील्याण्डमा नेपाली समुदायले परम्परागत इन्द्रजात्रा विशेष कार्यक्रमका रूपमा मनाउने भएको छ। Newah Organization of America अर्थात् NOA को आयोजनामा १४औँ NOA Yenya Punhi अर्थात् इन्द्रजात्रा महोत्सव शनिबार, सेप्टेम्बर २६ मा आयोजना हुँदैछ। आयोजकका अनुसार कार्यक्रम मेरील्याण्डको Boyds स्थित Black Hill Regional Park मा दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। नेपालको काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइने इन्द्रजात्रा नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। यस पर्वमा परम्परागत संस्कृति, कला, नाचगान र धार्मिक परम्परालाई विशेष महत्व दिइन्छ। अमेरिकामा रहेका नयाँ पुस्ताका नेपालीलाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले पनि यस्ता कार्यक्रम महत्वपूर्ण मानिन्छन्। इन्द्रजात्राका माध्यमबाट अमेरिकामा हुर्किरहेका बालबालिका तथा युवालाई नेपाली समुदायको मौलिक संस्कृति नजिकबाट चिनाउने अवसर मिल्ने आयोजकको उद्देश्य छ। NOA ले आयोजना गर्दै आएको यो कार्यक्रम नेपाली समुदायबीच भेटघाट, सांस्कृतिक आदानप्रदान र सामुदायिक एकताको अवसरसमेत बन्ने अपेक्षा गरिएको छ। मेरील्याण्ड तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ। कार्यक्रम शनिबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म Black Hill Regional Park, Boyds, Maryland मा हुनेछ।



ओहायोमा नेपाली समुदायलाई लक्षित गर्दै आज Dashain Cup 2026 आयोजना हुँदै

अमेरिकाको ओहायोमा नेपाली समुदायलाई लक्षित गर्दै Dashain Cup 2026 आयोजना हुँदैछ। Nepali American Organization of Ohio को आयोजनामा सेप्टेम्बर २६, शनिबार सोलोन, ओहायोमा दशैं कप फुटबल प्रतियोगिता हुन लागेको हो। आयोजकका अनुसार प्रतियोगिताले नेपाली समुदायसँगै ओहायोको स्थानीय समुदायलाई पनि खेलकुदका माध्यमबाट जोड्ने उद्देश्य राखेको छ। दशैंको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा नेपाली समुदायका खेलाडी तथा फुटबलप्रेमीहरूको सहभागिता रहनेछ। Dashain Cup मा सहभागी हुन वयस्क खेलाडी तथा विद्यार्थीका लागि छुट्टाछुट्टै टिकट श्रेणी राखिएको छ। साथै, ६ वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ। दशैं नेपाली समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले अमेरिकामा यस्ता खेलकुद कार्यक्रममार्फत नेपालीहरूबीच भेटघाट, आपसी सम्बन्ध र सामुदायिक एकता बढाउने प्रयास हुँदै आएको छ। ओहायोमा रहेका नेपाली परिवार तथा फुटबलप्रेमीहरूका लागि यो कार्यक्रम खेलकुदसँगै दशैंको वातावरणमा समुदायसँग भेटघाट गर्ने अवसर पनि बन्ने आयोजकको अपेक्षा छ। Dashain Cup 2026 सेप्टेम्बर २६ मा Solon, Ohio मा आयोजना हुनेछ।


 

 

नर्थ क्यारोलाइनामा नेपाली व्यवसायीको २ करोड ३० लाख डलर लगानीमा होटल सञ्चालन

अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाली व्यवसायीहरूको समूहले करिब २ करोड ३० लाख अमेरिकी डलर, अर्थात् ३ अर्ब रुपैयाँभन्दा बढी लगानीमा नयाँ चेन होटल सञ्चालनमा ल्याएको छ। नर्थ क्यारोलाइनाको मेबेन शहरमा सेप्टेम्बर २४ मा विशेष समारोह आयोजना गरी ‘लाकिन्ता इन एन्ड हनथ्रोन एक्सेन्डेड स्टे’ होटलको औपचारिक उद्घाटन गरिएको हो। एउटै भवनमा दुईवटा होटल ब्रान्ड सञ्चालन हुने यो होटलमा १०३ वटा कोठा रहेका छन्। होटलको उद्घाटन गैरआवासीय नेपाली व्यवसायी सुमित सञ्जेल, सुधीर मरहठ्ठा र राधेश पण्डितले संयुक्त रूपमा रिबन काटेर गरेका थिए। उनीहरू होटलका लगानीकर्तासमेत हुन्। कार्यक्रममा साझेदार राधेश पण्डितले जग्गा खरिद, अनुमति, निर्माणदेखि उद्घाटनसम्मको प्रक्रिया पूरा गर्न करिब आठ वर्ष लागेको बताए। उनका अनुसार यो लगानीकर्ता समूहको स्वामित्व तथा सञ्चालनमा रहेको आठौँ होटल हो। अर्का लगानीकर्ता सुमित सञ्जेलले होटल सञ्चालनमा आएपछि पाहुनाबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको बताए। उद्घाटन कार्यक्रममा स्थानीय चेम्बर तथा सरकारी अधिकारीहरूले नेपाली व्यवसायीहरूको नयाँ लगानीको स्वागत गरेका थिए। पछिल्लो समय रोजगारी, शिक्षा र अनुकूल वातावरणका कारण नर्थ क्यारोलाइनामा नेपाली समुदायसँगै नेपाली व्यवसायीको लगानी पनि बढिरहेको बताइएको छ।


 

अमेरिकाको भर्जिनियामा नेपाली कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन Kollywood Night 2026 को आयोजना हुदै, कार्यक्रमबाट बाढी राहतमा सहयोग गरिने ।।

अमेरिकाको भर्जिनियामा नेपाली कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्दै आएको KC Dance Center ले आठौँ संस्करणको ‘Kollywood Night 2026’ आयोजना गर्ने भएको छ। आयोजकका अनुसार यस वर्षको कार्यक्रमबाट प्राप्त हुने रकमको एक हिस्सा बाढीपीडितको राहत तथा सहयोगका लागि छुट्याइने भएको छ। कार्यक्रम आगामी अक्टोबर ११, २०२६ आइतबार साँझ ५ः३० बजे भर्जिनियाको मनाससस्थित Hylton Performing Arts Center मा आयोजना हुनेछ। KC Dance Center का अनुसार ‘Kollywood Night’ विशुद्ध मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रमका रूपमा आयोजना हुँदै आएको छ। यसमार्फत नेपाली कला, संस्कृति र कलाकारहरूको प्रतिभालाई अमेरिकी नेपाली समुदायमाझ प्रस्तुत गर्दै समुदायलाई एकै ठाउँमा जोड्ने प्रयास गरिएको छ। आयोजकले विगतका वर्षमा दर्शक, समर्थक तथा शुभेच्छुकबाट प्राप्त निरन्तर सहयोगले कार्यक्रम सफल हुँदै आएको जनाएको छ। यस वर्ष पनि समुदायको उपस्थिति र सहयोगले कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। KC Dance Center ले कार्यक्रमबाट प्राप्त हुने रकमको एक हिस्सा बाढीपीडितको राहतमा प्रयोग गर्ने निर्णय गरेको जनाएको छ। यसले सांस्कृतिक कार्यक्रमलाई मनोरञ्जनसँगै सामाजिक सहयोगसँग जोड्ने प्रयासलाई पनि अघि बढाउनेछ। आयोजकले नेपाली समुदायका सदस्य, शुभेच्छुक तथा कला–संस्कृतिप्रेमी सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।


 

‘एभरेस्ट कुजिन’को नयाँ शाखा Newark–Fremont मा अर्को महिना  खुल्ने

अमेरिकाको क्यालिफोर्नियास्थित बे एरियामा नेपाली तथा भारतीय खानाका लागि परिचित Everest Cuisine ले आफ्नो व्यवसाय विस्तार गर्दै नयाँ शाखा सञ्चालनमा ल्याउने भएको छ। रेस्टुरेन्टले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार, अर्को महिना Newark–Fremont क्षेत्रमा नयाँ शाखा सुरु गर्ने तयारी भइरहेको छ। नयाँ स्थानबाट ग्राहकले Everest Cuisine का चर्चित नेपाली तथा भारतीय परिकारको स्वाद लिन पाउनेछन्। Everest Cuisine हाल बे एरियामा San Jose र Mountain View गरी दुई स्थानबाट सञ्चालनमा रहेको छ। कम्पनीको आधिकारिक वेबसाइटअनुसार यी स्थानमा नेपाली तथा भारतीय परिकारसँगै मोमो, झोल मोमो, बिरयानी, तन्दुरी चिकेन, नान, विभिन्न करी तथा अन्य परिकार उपलब्ध छन्। नयाँ शाखा सुरु भएपछि Newark, Fremont र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली तथा दक्षिण एसियाली समुदायका लागि नेपाली खानाको अर्को विकल्प थपिनेछ। रेस्टुरेन्टले नयाँ शाखा कुन ठेगानामा र ठ्याक्कै कुन मितिबाट सञ्चालनमा आउने हो भन्ने पूर्ण विवरण भने आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ। Everest Cuisine ले नयाँ शाखा सुरु गर्न लागेको खबरसँगै Newark–Fremont क्षेत्र आसपास रहेका नेपाली समुदायमा उत्साह देखिएको छ। Everest Cuisine-San Jose र Everest Cuisine-Mountain View का रूपमा हाल सञ्चालनमा रहेका शाखाहरूबाट व्यवसाय विस्तार गर्दै नयाँ क्षेत्रमा पुग्ने तयारीलाई नेपाली स्वादको विस्तारका रूपमा पनि हेरिएको छ।


 

नर्दन क्यालिफोर्नियामा अक्टोबर १० मा ग्रान्ड दशैं मेला आयोजना हुँदै

अमेरिकाको नर्दन क्यालिफोर्नियामा नेपाली समुदायले यस वर्षको बडादशैंको अवसरमा ‘द ग्रान्ड दशैं मेला २०२६’ आयोजना गर्ने भएको छ। नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया अर्थात् NANC को आयोजनामा हुने मेला अक्टोबर १०, शनिबार रिचमन्डस्थित Nepali Community Center मा आयोजना हुनेछ। आयोजकका अनुसार मेला दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ र कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। दशैंको अवसरमा नेपाली संस्कृति, परम्परा र समुदायबीचको एकता झल्काउने उद्देश्यले आयोजना हुन लागेको मेलामा लाइभ संगीत तथा सांस्कृतिक प्रस्तुति, नेपाली नृत्य, मौलिक नेपाली खानाका परिकार, दशैं बजार तथा स्थानीय व्यवसायको प्रदर्शनी राखिनेछ। त्यसैगरी बालबालिकाका लागि विभिन्न गतिविधि तथा पारिवारिक मनोरञ्जन, समुदायका संघसंस्था तथा स्थानीय व्यवसायको सहभागिता, उपहार तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमसमेत रहने आयोजकले जनाएको छ। आयोजकले नेपालमा जन्मिएका तथा अमेरिकामा हुर्किरहेका नयाँ पुस्तासहित सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। मेलाले नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परासँग जोड्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा खाना तथा व्यवसायिक स्टल, सांस्कृतिक समूह, कलाकार, फोटोग्राफर, भिडियो निर्माता, एमसी, प्रायोजक, स्वयंसेवक तथा सामुदायिक संस्थाहरूलाई सहभागी हुन समेत आह्वान गरिएको छ। कार्यक्रमका लागि अनलाइन दर्ता तथा सहभागिताको व्यवस्था गरिएको आयोजकले जनाएको छ।


 

दशैं २०८३ : अमेरिका भर धमाधम कार्यक्रम घोषणा, कलाकारहरुको बाक्लो उपस्थिति

अमेरिका, असोज ८ - अमेरिकामा बसोबास गर्ने नेपाली समुदायमा यस वर्षको बडादशैं २०८३ को चहलपहल सुरु भएको छ । दशैं र तिहारलाई लक्षित गर्दै विभिन्न राज्यका नेपाली संस्थाहरुले कार्यक्रम घोषणा गर्न थालेका छन् भने नेपालबाट चर्चित कलाकारहरु अमेरिका आउने क्रम जारी छ ।कन्सास सिटी नेप्लिज सोसाइटीले दशैं २०८३ को शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सोसाइटीका अनुसार कार्यक्रम अक्टोबर १०, २०२६ शनिबार साँझ ५ बजे, 9700 Woodson Dr, Overland Park, KS 66207 मा हुनेछ । कार्यक्रममा दशैंको टीका, सांस्कृतिक प्रस्तुति, र सामुदायिक भोजको आयोजना गरिने आयोजकले जनाएको छ । परिवारसहित उपस्थित हुन सोसाइटीले सबैलाई निमन्त्रणा गरेको छ ।

 

यसपालीको दशैं-तिहारमा कुन कुन कलाकार अमेरिका आउँदैछन्

यस वर्षको दशैं-तिहारलाई अमेरिकामा बस्ने नेपालीका लागि विशेष बनाउन चर्चित गायकहरुको USA टुर घोषणा भएको छ । दशैं र तिहारलाई लक्षित गर्दै विभिन्न राज्यका नेपाली संस्थाहरुले कार्यक्रम घोषणा गर्न थालेका छन् भने नेपालबाट चर्चित कलाकारहरु अमेरिका आउने क्रम जारी छ ।

१. राजेश पायल राईको दिपावली उपहार टुर

नेपाली सुगम संगीतका चर्चित गायक राजेश पायल राईको "DIPAWOLI UPAHAR - ROYAL PALACE USA TOUR 2026" घोषणा भएको छ । सामाजिक संजालमा सार्वजनिक पोस्टर अनुसार उहाँले अमेरिकाका विभिन्न शहरहरुमा प्रस्तुति दिनुहुनेछ ।

 

२. शिव परियारको दशैं-तिहार म्युजिकल ब्लास्ट

वरिष्ठ गायक शिव परियार दशैं तिहार म्युजिकल ब्लास्ट USA टुर २०२६ का लागि नेपालबाट प्रस्थान गर्नुभएको छ । सेप्टेम्बर २३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गर्दै उहाँले आफ्नो यो टुर रसुवा-भोटेकोशी बाढी पीडितहरुमा समर्पित गरेको बताउनुभएको छ ।

 

३. समीक्षा अधिकारी अमेरिकाको वेस्ट कोष्टमा

लोकप्रिय गायिका समीक्षा अधिकारी दशैं तिहार टुरका लागि अमेरिका आइपुग्नुभएको छ । सेप्टेम्बर २४ मा 'Hello America' भिडियो सार्वजनिक गर्दै उहाँले वेस्ट कोष्टबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेको जानकारी दिनुभएको छ । अमेरिकाका टेक्सास, न्यूयोर्क, क्यालिफोर्निया, कोलोराडो, नर्थ क्यारोलिना, पेनसेल्भेनिया लगायतका राज्यहरुमा पनि दशैं विशेष कार्यक्रमहरुको तयारी भइरहेको छ । समाचारपाटी USA ले अमेरिकाभर हुने दशैं कार्यक्रमको अपडेट क्रमशः प्रकाशित गर्दै जानेछ ।

अमेरिकाको पूर्वी तटतर्फ विकसित भइरहेको शक्तिशाली Nor’easter storm का कारण Maryland, Virginia र Delaware का तटीय क्षेत्रमा बाढी, तेज हावा र ठूलो छालको जोखिम

अमेरिकाको पूर्वी तटतर्फ विकसित भइरहेको शक्तिशाली Nor’easter storm का कारण Maryland, Virginia र Delaware का तटीय क्षेत्रमा बाढी, तेज हावा र ठूलो छालको जोखिम बढेको छ। मौसमविद्हरूका अनुसार यो प्रणाली आइतबारसम्म अझ शक्तिशाली बन्न सक्ने अनुमान गरिएको छ। Washington, D.C. क्षेत्र नजिकै भने ठूलो वर्षाभन्दा तटीय तथा नदीको पानी बढ्ने जोखिम बढी देखिएको छ। Alexandria को King Street आसपास, Annapolis को City Dock लगायत पानी नजिकका र होचा क्षेत्रमा Coastal Flood Advisory जारी गरिएको छ। उच्च ज्वारका समयमा पानी सडक तथा आसपासका क्षेत्रमा पस्न सक्ने चेतावनी दिइएको छ। विशेषगरी Annapolis र Alexandria क्षेत्रमा Chesapeake Bay तथा पोटोम्याक नदी को पानी बढ्ने सम्भावना रहेको मौसम अधिकारीहरूले बताएका छन्। पूर्णिमाको समयमा उच्च ज्वार र समुद्रबाट आउने हावाको प्रभाव एकैपटक पर्दा बाढीको जोखिम थप बढ्न सक्ने बताइएको छ। समुद्री किनारतर्फ भने अवस्था अझ चुनौतीपूर्ण हुनसक्नेछ। Maryland को Ocean City तथा Delaware का केही समुद्री तटीय क्षेत्रमा Coastal Flood Warning जारी गरिएको छ। ठूलो छाल र समुद्री किनार कटानको जोखिमका कारण Ocean City मा हुने Oceans Calling Festival का शुक्रबारका कार्यक्रमसमेत रद्द गरिएको छ। मौसम पूर्वानुमानअनुसार आइतबारपछि अवस्था क्रमशः सुधार हुने अपेक्षा गरिएको छ। तर तटीय क्षेत्रमा बाढी र समुद्री छालको जोखिम अर्को साताको सुरुसम्म रहन सक्ने भएकाले स्थानीय बासिन्दा र यात्रुहरूलाई मौसम तथा स्थानीय आपतकालीन सूचनामा ध्यान दिन आग्रह गरिएको छ।


मेरील्याण्डस्थित Annapolis क्षेत्रमा Spa Road को एक खण्ड आगामी सोमबारदेखि करिब चार सातासम्म बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने ।।

अमेरिकाको मेरील्याण्डस्थित Annapolis क्षेत्रमा Spa Road को एक खण्ड आगामी सोमबारदेखि करिब चार सातासम्म दिनको समयमा बन्द हुने भएको छ। Maryland Department of Transportation State Highway Administration का अनुसार मौसमले साथ दिएमा सेप्टेम्बर २८, सोमबारदेखि सडक बन्द हुनेछ। MD 387 अर्थात् Spa Road/Ferry Point Road को Hunt Meadow Drive र Harness Creek Road बीचको खण्डमा प्रत्येक कार्यदिवस बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिनेछ। यो काम करिब चार सातासम्म चल्ने बताइएको छ। सडक बन्द भएपछि चालकलाई Hunt Meadow Drive हुँदै वैकल्पिक मार्ग प्रयोग गराएर फेरि Spa Road/Ferry Point Road मा जोडिने व्यवस्था गरिएको छ। निर्माण क्षेत्रमा संकेत बोर्ड, कोन र ट्राफिक कर्मचारी राखेर चालकलाई मार्गदर्शन गरिनेछ। यो अस्थायी बन्द Village at Providence Point नामक नयाँ विकास परियोजनासँग सम्बन्धित utility work का कारण हुन लागेको हो। परियोजनाअन्तर्गत Spa Road मा पैदल तथा साइकल प्रयोग गर्न मिल्ने साझा बाटो निर्माण, Forest Drive र Spa Road को intersection सुधार, सडक चौडा तथा पुनः कालोपत्रे गर्ने काम पनि हुने बताइएको छ। साथै turn lanes, pavement markings र stormwater तथा drainage सुधारसमेत गरिनेछ। अधिकारीहरूले निर्माण क्षेत्रमा चालकलाई सतर्क रहन, गति कम गर्न र बदलिएको traffic pattern मा ध्यान दिन आग्रह गरेका छन्।


 

ओहायोस्थित Columbus मा प्रहरीले प्रयोग गर्दै आएको गाडीको नम्बर प्लेट पहिचान गर्ने क्यामेराको दुरुपयोगबारे विवाद

अमेरिकाको ओहायोस्थित Columbus मा प्रहरीले प्रयोग गर्दै आएको Flock automated license plate reader अर्थात् गाडीको नम्बर प्लेट पहिचान गर्ने क्यामेराको दुरुपयोगबारे विवाद चर्किएको छ। Columbus प्रहरीले एक अधिकारीले एउटै लाइसेन्स प्लेटलाई सयौँ पटक खोजेको विषय बाहिर आएपछि Flock प्रणालीको प्रयोग अस्थायी रूपमा रोकेको छ। सार्वजनिक विवरणअनुसार ती अधिकारीले एउटै नम्बर प्लेट कम्तीमा २७२ पटक खोजेका थिए। प्रहरी प्रमुख Elaine Bryant ले ती खोजीहरू कुनै वैध अनुसन्धानको हिस्सा नभएको बताएकी छन्। यस घटनापछि Columbus का मेयर Andrew Ginther ले शहरमा रहेका ६५ वटा Flock क्यामेराको प्रयोग रोक्न निर्देशन दिएका छन्। क्यामेराले थप डेटा संकलन नगरोस् भनेर केही क्यामेरामा प्लास्टिकको कभरसमेत लगाइएको छ। साथै, प्रणालीको सम्भावित अन्य दुरुपयोग पत्ता लगाउन तेस्रो पक्षबाट audit गर्ने प्रक्रिया अघि बढाइएको छ। यसैबीच Columbus Police ले Flock लगायत automated license plate reader प्रयोगका लागि नयाँ नियम लागू गर्ने जनाएको छ। सेप्टेम्बर ३० देखि लागू हुने नयाँ नीतिअनुसार सामान्य अवस्थामा क्यामेराबाट संकलित डेटा सात दिनभन्दा बढी राख्न नपाइने व्यवस्था गरिएको छ, अनुसन्धानका लागि प्रमाणका रूपमा आवश्यक परे भने फरक व्यवस्था हुनेछ। Flock क्यामेराले चोरी भएका गाडी वा अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न सक्ने भए पनि व्यक्तिगत गोपनीयता र प्रहरीको निगरानी अधिकारबारे प्रश्न उठ्दै आएका छन्। Columbus City Council ले पनि यसको प्रयोगलाई नियमन गर्ने नयाँ कानुनबारे काम गरिरहेको छ।


 

ओहायोमा Medicaid ठगीको आरोप, Columbus क्षेत्रका तीन जनामाथि मुद्दा

ओहायोमा सरकारी स्वास्थ्य बीमा कार्यक्रम Medicaid बाट ३ लाख ५५ हजार डलरभन्दा बढी रकम ठगी गरेको आरोपमा १८ जनामाथि अभियोग दायर गरिएको छ। ओहायो Attorney General’s Office का अनुसार, यसै साता Franklin County मा उनीहरूमाथि अभियोग दायर गरिएको हो। अभियोगमा परेकामध्ये तीन जना Columbus क्षेत्रका छन्। New Albany की ५३ वर्षीया Sheereen Jaulim माथि मात्रै सात वर्षको अवधिमा Medicaid बाट १ लाख ६७ हजार डलरभन्दा बढी रकम गलत तरिकाले लिएको आरोप छ। उनी Columbus मा रहेको addiction treatment center MedSave Clinic की सञ्चालक हुन्। सरकारी पक्षका अनुसार, Jaulim ले कर्मचारीलाई एउटै भेटमा दिइएको चिकित्सकीय मूल्यांकन र counseling लाई फरक–फरक दिनमा भएको देखाएर Medicaid मा बढी रकमको दाबी गर्न निर्देशन दिएको आरोप छ। त्यस्तै, Columbus का ४१ वर्षीय Djuan Walton माथि adult daycare कार्यक्रममा यातायात सेवा दिएको भन्दै गलत Medicaid दाबी पेश गरेको आरोप छ। अनुसन्धानमा सन् २०२३ को मेदेखि यस वर्षको जनवरीसम्म १२८ वटा गलत दाबी भेटिएको र Medicaid लाई ६ हजार ४९३ डलर क्षति भएको बताइएको छ। Columbus की ६३ वर्षीया Princess Ramey-Turner माथि भने एक सेवाग्राहीको मृत्यु भइसकेपछि पनि home-health services का लागि Medicaid मा बिल पठाइरहेको आरोप छ। यसबाट थप ३ हजार २८१ डलर क्षति भएको अधिकारीहरूले बताएका छन्। यी सबै अभियोग मात्र हुन् र अदालतबाट दोषी प्रमाणित नभएसम्म आरोपीहरूलाई कानुनी रूपमा निर्दोष मानिन्छ। बाँकी १५ आरोपीमाथि पनि Medicaid fraud सम्बन्धी आरोप लगाइएको छ।


 

ट्रम्प–सी चिनफिङ शिखर बैठक सम्पन्न, व्यापार र एआईमा छलफल तर ठोस सम्झौता भएन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वासिङ्टनमा भएको तीनदिने उच्चस्तरीय भेटवार्ता शुक्रबार सम्पन्न भएको छ। एक दशकभन्दा बढी समयपछि सीको वासिङ्टन भ्रमण भएको हो। दुई नेताबीच व्यापार, कृत्रिम बुद्धिमत्ता अर्थात् एआई, ताइवान र इरानलगायतका विषयमा छलफल भएको थियो। बैठकपछि ट्रम्पले आफू र सीबीचको भेटलाई “महत्त्वपूर्ण” र राम्रो भएको बताएका छन्। सीले पनि दुई देशबीच धेरै विषयमा साझा समझदारी बनेको बताएका छन्। तर बैठकबाट व्यापार वा एआईसम्बन्धी कुनै ठूलो नयाँ सम्झौता सार्वजनिक भएको छैन। सबैभन्दा ठोस निर्णयका रूपमा अमेरिका र चीनबीच यसअघि भएको व्यापार युद्धविरामलाई थप दुई महिना लम्ब्याउने सहमति भएको छ। यसले तत्काल थप ठूलो व्यापारिक तनाव हुनबाट केही समयका लागि रोक्नेछ। तर ट्यारिफ, चीनबाट हुने खरिद, दुर्लभ खनिज तथा प्रविधि निर्यातसम्बन्धी मुख्य विवादहरू अझै समाधान भएका छैनन्। एआई क्षेत्रमा अमेरिका र चीनबीच तीव्र प्रतिस्पर्धा रहे पनि यस विषयमा ठोस सहमति हुन सकेन। ताइवान र इरानजस्ता संवेदनशील भू–राजनीतिक विषयमा पनि दुवै देशका फरक धारणा कायम छन्। सीले यस वर्ष ट्रम्पसँग थप दुई पटक भेट हुने बताएका छन्। आगामी भेटहरूमा चीनमा हुने APEC सम्मेलन र मियामीमा हुने G20 शिखर सम्मेलन समावेश छन्।


 

सर्वोच्च अदालतले मतदाता जाँचका लागि Social Security Data प्रयोग गर्न बाटो खोल्यो

अमेरिकाको सर्वोच्च अदालतले राज्य सरकारहरूले मतदाता सूचीमा रहेका व्यक्तिको नागरिकता र मतदान योग्यताको जाँच गर्न Social Security लगायत संघीय सरकारी डेटाबेस प्रयोग गर्न सक्ने बाटो खोलिदिएको छ। शुक्रबार जारी गरिएको आपतकालीन आदेशमार्फत अदालतले तल्लो अदालतले लगाएको रोकलाई अस्थायी रूपमा हटाएको हो। यससँगै राज्यहरूले Department of Homeland Security को SAVE अर्थात् Systematic Alien Verification for Entitlements प्रणाली प्रयोग गरेर मतदाता सूचीमा रहेका व्यक्तिको नागरिकता तथा अध्यागमनसम्बन्धी विवरण संघीय रेकर्डसँग जाँच गर्न सक्नेछन्। SAVE को प्रयोग राज्यहरूका लागि अनिवार्य भने गरिएको छैन। ट्रम्प प्रशासनले यो प्रणाली गैरनागरिकले मतदान गर्न नपाऊन् भनेर मतदाता सूचीको जाँच गर्न आवश्यक रहेको बताउँदै आएको छ। तर यसको प्रयोगबाट योग्य अमेरिकी नागरिकसमेत गलत रूपमा गैरनागरिकको सूचीमा पर्न सक्ने भन्दै आलोचना र कानुनी चुनौती उठेको छ। टेक्सासको Travis County मा SAVE बाट चिन्ह लगाइएका ९७ मतदाताको जाँच गर्दा कम्तीमा १० प्रतिशत अमेरिकी नागरिक रहेको पाइएको स्थानीय अधिकारीहरूले बताएका छन्। सर्वोच्च अदालतको शुक्रबारको आदेशले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि राज्यहरूलाई यस्तो जाँच गर्ने अवसर दिएको छ। तर संघीय कानुनले निर्वाचनभन्दा ९० दिनअघिको अवधिमा मतदाता सूचीबाट ठूलो संख्यामा मानिस हटाउने काममा प्रतिबन्ध लगाएकोले तत्काल यसको प्रभाव सीमित हुनसक्ने बताइएको छ। यो मुद्दाको कानुनी विवाद भने अझै समाप्त भएको छैन। सर्वोच्च अदालतका न्यायाधीश Ketanji Brown Jackson, Sonia Sotomayor र Elena Kagan ले आदेशमा असहमति जनाएका छन्। तल्लो अदालतमा यस विषयको कानुनी प्रक्रिया जारी रहनेछ।


 

कांग्रेसबाट यसअघि स्वीकृत भएको करिब १ अर्ब डलरको संघीय खर्च रद्द गर्नेडोनाल्ड ट्रम्प प्रशासनको निर्णय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कांग्रेसबाट यसअघि स्वीकृत भएको करिब १ अर्ब डलरको संघीय खर्च रद्द गर्ने निर्णय गरेको छ। ह्वाइट हाउसले शुक्रबार घोषणा गरेको यो कदममा आप्रवासी सेवा, शरणार्थी तथा अन्य सामाजिक कार्यक्रमका लागि छुट्याइएको रकम पनि परेको छ। Office of Management and Budget अर्थात् OMB का अनुसार, खर्च कटौतीमा मुख्य रूपमा Health and Human Services अन्तर्गत शरणार्थी तथा अभिभावकविहीन नाबालिग आप्रवासीलाई सेवा दिने कार्यक्रमहरू छन्। प्रशासनले सीमा पार गर्ने घटना घटेकाले ती कार्यक्रमका लागि पहिले स्वीकृत रकम आवश्यक नरहेको तर्क गरेको छ। यसका साथै, migrant students का लागि शिक्षा विभागको एउटा कार्यक्रम, जातीय तनाव घटाउने उद्देश्यले Justice Department अन्तर्गतको कार्यालय, अल्पसंख्यक उद्यमीलाई सहयोग गर्ने व्यवसाय विकास कार्यक्रम तथा कम आय भएका व्यक्तिका housing counseling कार्यक्रमको रकम पनि कटौतीमा परेको छ। तर कांग्रेसकी Sen. Susan Collins सहित केही सांसदले यो निर्णयप्रति आपत्ति जनाएका छन्। Collins ले कांग्रेससँग पर्याप्त छलफल नगरी कार्यकारी शाखाले खर्च रोक्नुले संविधानले कांग्रेसलाई दिएको बजेटसम्बन्धी अधिकार कमजोर पार्न सक्ने बताएकी छन्। यसलाई “rescission” भनिन्छ, अर्थात् कांग्रेसले पहिले स्वीकृत गरेको बजेट रद्द गर्ने प्रक्रिया। सामान्यतया राष्ट्रपतिले यस्तो कटौती प्रस्ताव गरेपछि कांग्रेसले त्यसलाई अनुमोदन वा अस्वीकार गर्न सक्छ। Impoundment Control Act अन्तर्गत कांग्रेससँग प्रस्तावमाथि निर्णय गर्न ४५ दिनसम्मको प्रक्रिया हुन्छ। यसपटक भने आर्थिक वर्ष सकिन केवल पाँच दिन बाँकी हुँदा घोषणा गरिएको भन्दै यसको कानुनी वैधता र कार्यकारी अधिकारबारे विवाद बढेको छ। आप्रवासी तथा सामाजिक सेवा क्षेत्रमा काम गर्ने संस्थाहरूका लागि यसको वास्तविक प्रभाव आगामी दिनमा स्पष्ट हुँदै जानेछ।


 

Monster का CEO Coca-Cola मा जाने

अमेरिकाको लोकप्रिय energy drink कम्पनी Monster Beverage का Americas क्षेत्रका प्रमुख कार्यकारी अधिकृत Rob Gehring ले आफ्नो पदबाट राजीनामा दिने भएका छन्। कम्पनीका अनुसार Gehring ले नोभेम्बर ३०, २०२६ देखि CEO Americas को जिम्मेवारी छोड्ने जानकारी दिएका छन्। Gehring ले Monster Beverage छोडेर The Coca-Cola Company मा फर्किने भएका छन्। Coca-Cola ले उनलाई आफ्नो North America operating unit को President नियुक्त गरेको छ। उनको नयाँ जिम्मेवारी डिसेम्बर १, २०२६ देखि सुरु हुनेछ। Gehring Monster Beverage मा सन् २०२४ मा प्रवेश गरेका थिए। सुरुमा उनले Chief Growth Officer को जिम्मेवारी सम्हालेका थिए। त्यसपछि सन् २०२६ को फेब्रुअरी २५ देखि उनलाई Americas को CEO बनाइएको थियो। यस भूमिकामा उनले उत्तर अमेरिका, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको व्यवसाय हेर्दै आएका थिए। Monster Beverage ले Gehring को योगदानका लागि धन्यवाद दिँदै, Coca-Cola मा उनको नयाँ भूमिकामा पनि सहकार्य जारी रहने जनाएको छ। Gehring को स्थानमा भने Monster Beverage का Chief Strategy Officer Emelie Tirre ले डिसेम्बर १ देखि अस्थायी रूपमा Americas र Caribbean क्षेत्रको जिम्मेवारी सम्हाल्नेछिन्। Tirre यसअघि पनि Americas, Caribbean र Oceania क्षेत्रमा कम्पनीको commercial operations हेर्ने भूमिकामा रहिसकेकी छन्। यस नेतृत्व परिवर्तनसँगै अमेरिकाको energy drink बजारमा Monster Beverage र Coca-Cola दुवै कम्पनीको व्यवस्थापनमा महत्वपूर्ण परिवर्तन हुँदैछ।


 

 

 

नेपाली प्रोफाइल अन्तरगत आज हामीले

‍बर्दियाको सरकारी स्कुलदेखि अमेरिकाको Intel सम्म, यस्तो छ विवेक गौतमको यात्रा को विषयमा जानकारी दिने छौं हामीलाई अन्त्य सम्म हेर्नुहोला ।

नेपालको बर्दियाको सामान्य परिवारमा जन्मिएका विवेक गौतम अहिले विश्वकै चर्चित प्रविधि कम्पनीमध्ये एक Intel मा इन्जिनियरका रूपमा काम गरिरहेका छन्। उनको यात्रा भने सहज थिएन—तर अध्ययन, मेहनत र नयाँ कुरा सिक्ने इच्छाले उनलाई अमेरिकाको प्रविधि क्षेत्रमा पुर्‍याएको हो। विवेकका बुबा शिक्षक र आमा गृहिणी हुन्। बर्दियाकै सरकारी विद्यालयमा पढेका उनले एसएलसी परीक्षामा जिल्ला टप गरेका थिए। त्यसपछि काठमाडौं आएर अमृत साइन्स क्याम्पसबाट आईएस्सी र त्रिचन्द्र कलेजबाट बीएस्सी गरे। भौतिकशास्त्रमा स्नातकोत्तर गरेपछि केही समय उनले काठमाडौंमै अध्यापनसमेत गरे। सन् २००८ मा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले विवेक अमेरिका पुगे। उनले Iowa State University मा पीएचडी सुरु गरे र त्यहाँ Teaching Assistant का रूपमा काम गर्दै अनुसन्धान पनि अघि बढाए। सुरुमा उनले Nuclear Physics मा अनुसन्धान गरे। पछि University of Kansas मा गएर सुपरकन्डक्टरसम्बन्धी अनुसन्धान गरे। उनको अनुसन्धान उच्च तापक्रममा काम गर्ने सुपरकन्डक्टर र तीव्र गतिका रेलमा यसको सम्भावित प्रयोगसँग सम्बन्धित थियो। पीएचडी पूरा गरेपछि प्रविधि क्षेत्रमा काम गर्ने लक्ष्य लिएका विवेकले विभिन्न चरणको अन्तर्वार्ता पार गर्दै सन् २०१९ मा Intel मा जागिर पाए। अहिले उनी ओरेगनको पोर्टल्यान्डमा Intel का Module Development Engineer का रूपमा कार्यरत छन्। उनको काम मोबाइल, ल्यापटप र कृत्रिम बुद्धिमत्ता अर्थात् AI मा प्रयोग हुने सेमिकन्डक्टर चिपको उत्पादन प्रक्रियासँग सम्बन्धित छ। उत्पादन प्रक्रियालाई प्रभावकारी बनाउने, त्रुटि घटाउने र गुणस्तरीय चिप उत्पादन सुनिश्चित गर्ने उनको मुख्य जिम्मेवारी हो। Intel मा करिब दुई सय नेपाली काम गरिरहेको आफूले जानकारी पाएको विवेक बताउँछन्। अमेरिकामा रहे पनि नेपालको ज्ञान र सीप विकासमा योगदान गर्ने इच्छा रहेको उनको भनाइ छ। बर्दियाको सामान्य परिवारबाट सुरु भएको उनको यात्रा आज विश्वकै अग्रणी प्रविधि कम्पनीसम्म पुगेको छ। उनको कथा विदेशमा अध्ययन र रोजगारी खोजिरहेका धेरै नेपालीका लागि शिक्षा, निरन्तर मेहनत र सिक्ने इच्छाले अवसरको ढोका खोल्न सक्छ भन्ने उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।


 

दर्शक महानुभाव आज हामीले यहाँहरुलाई ‍बर्दियाको सरकारी स्कुलदेखि अमेरिकाको Intel सम्म, यस्तो छ विवेक गौतमको यात्रा को विषयमा जानकारी दियौं । यस्तै प्रेरणादायी नेपालीहरु हामीले खोजीरहेका छौं । तपाइको नजरमा कोहि त्यस्तो नेपाली हुनुहुन्छ भने हामीलाइ samacharpatiUsa@gmail.com मा इमेल गरेर जानकारी गराइदिनुहोला हामी उहाँहरुका प्रेरणादायी कथा प्रस्तुत गर्ने जमर्को गर्नेछौं ।

 

 

अब ब्राण्ड परिचय । आज हामीले

Michael Kors कसरी बन्यो विश्व चर्चित ब्रान्ड? यस्तो छ यसको रोचक इतिहास

आज अमेरिकादेखि विश्वका विभिन्न देशमा लक्जरी फेसन ब्रान्डका रूपमा चिनिने नाम हो—Michael Kors। तर यो ब्रान्डको सुरुवात भने कुनै ठूलो कम्पनीबाट होइन, एक युवा अमेरिकी फेसन डिजाइनरको सपनाबाट भएको थियो। Michael Kors को वास्तविक नाम Michael David Kors हो। उनी सन् १९५९ मा अमेरिकाको न्यूयोर्कको Long Island मा जन्मिएका थिए। बाल्यकालदेखि नै फेसनमा रुचि राख्ने Kors ले सानै उमेरमा कपडाको डिजाइन गर्न थालेका थिए। उनले Fashion Institute of Technology मा अध्ययन सुरु गरे पनि पढाइ पूरा नगरी फेसन क्षेत्रमा काम गर्न थाले। सन् १९८१ मा न्यूयोर्कमै Michael Kors ले आफ्नै नाममा महिलाका कपडाको फेसन लाइन सुरु गरे। उनको डिजाइनमा अमेरिकी स्पोर्ट्सवेयरको आराम, आकर्षक शैली र लक्जरी लुकलाई एकै ठाउँमा जोडिएको थियो। सुरुवाती उत्पादनहरू New York का प्रतिष्ठित Bergdorf Goodman र Saks Fifth Avenue जस्ता स्टोरमा बिक्री हुन थाले। तर कम्पनीको यात्रा सधैं सहज भने थिएन। सन् १९९० को दशकमा व्यापारिक कठिनाइ आएपछि कम्पनीले पुनर्गठन गर्नुपर्‍यो। त्यसपछि Kors ले आफ्ना डिजाइनलाई अझ ठूलो बजारमा पुर्‍याउने रणनीति अपनाए। उनी सन् १९९७ मा फ्रान्सेली लक्जरी फेसन हाउस Celine को महिला तयारी-पोसाकका डिजाइनर बने। यस क्रममा उनले आफ्नै ब्रान्डलाई पनि विस्तार गरिरहे। पछि Michael Kors ले कपडामात्र होइन, ह्यान्डब्याग, जुत्ता, घडी, गहना, चस्मा, परफ्युम र पुरुषका कपडासम्म उत्पादन विस्तार गरे। आज ब्रान्डका मुख्य लाइनमा Michael Kors Collection, MICHAEL Michael Kors र Michael Kors Mens रहेका छन्। Michael Kors को सफलताको एउटा महत्वपूर्ण पक्ष भनेको यसको “jet-set” जीवनशैलीसँग जोडिएको ब्रान्ड पहिचान हो। अर्थात् यात्रा, आधुनिक जीवनशैली, आकर्षक डिजाइन र लक्जरीलाई एउटै शैलीमा प्रस्तुत गर्नु। आज Michael Kors का उत्पादनहरू १०० भन्दा बढी देशमा स्टोर, अनलाइन बिक्री, डिपार्टमेन्ट स्टोर तथा अन्य वितरण माध्यमबाट उपलब्ध छन्। कम्पनीका अनुसार ब्रान्ड अमेरिकी लक्जरी फेसनबाट सुरु भएर विश्वव्यापी accessories, footwear र apparel कम्पनीमा विकसित भएको छ। अहिले Michael Kors, Capri Holdings अन्तर्गतको प्रमुख ब्रान्ड हो। Capri Holdings ले Michael Kors र Jimmy Choo जस्ता लक्जरी ब्रान्ड सञ्चालन गर्छ। अर्थात्, Michael Kors को कथा केवल महँगो झोला वा कपडाको कथा होइन। यो एउटा डिजाइनरले सन् १९८१ मा न्यूयोर्कबाट सुरु गरेको सानो फेसन लाइन कसरी विश्वभर चिनिएको लक्जरी ब्रान्डमा परिणत भयो भन्ने व्यवसायिक यात्राको कथा हो। तपाइलाई Michael Kors का सामान कस्तो लाग्छ, तलको कमेण्ट बक्समा कमेण्ट गर्नुहोस धन्यवाद ।


 

हवस्त दर्शक महानुभाव समाचारपाटी USA को दैनिक न्यूज बुलेटिन अहिलेको लागि यति नै । हामीले प्रस्तुत गरेका समाचारहरु प्रति तपाईको धारणा के छ, तलको कमेण्टबक्स मा कमेण्ट गर्नुहोला । हामीलाई अमेरिकाको कुन स्टेट, कुन सिटिबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेण्ट बक्समा कमेण्ट गर्नुहोला । दैनिक रुपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला , आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फस्ट टाइम भनेर लेख्नुहोला । हाम्रो च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला । अनि अजिकै आउने बेल आइकन लाई क्लिक गर्नुहोला । यदि हजुरसंग पनि नेपाल र नेपाली समुदायको विषयमा सरोकार राख्ने कुनै समाचार, सूचना वा जानकारी छ भने हामीलाई samacharpatiUSA@gmail.com मा इमेल गर्नसक्नुहुने छ । भोली फेरी नेपाल र नेपालीसंग सरोकार राख्ने सूचना, जानकारी र समाचार सहितको समाचारपाटी USA को NEWS BULLETIN इष्टर्न समय अनुसार भोली बिहान ९ बजे लिएर हामी उपस्थित हुने छौँ । तबसम्मको लागि हामीलाई विदा दिनुहोस, तपाईको बाँकी पल सुखद होस, जय नेपाल, जय नेपाली । नमस्कार ।



#SamacharpatiUSA #samacharpati #usanepalinews #latestUSAnewsnepali #Usanepali #nepaliusa #usanepal #nepalusa #nepalinewsUSA #todayusanews #usamamaaaja #usamaaja #americamaaja #americamaaaja #nepalinewsusa #usasamachar #nepalisamacharusa #samacharusa

youtube video : 

https://youtube.com/playlist?list=PLMTTPTIXArps&si=jZeLexh6w2zvReLm