Header Ads Widget

Sponser Us

नेपाली युवती सोनिका पौडेल MGCY को माउन्टेन यूथ वर्किङ ग्रुपको ग्लोबल संयोजक नियुक्त

 कोलम्बस, ओहायो — नेपालकी सोनिका पौडेललाई संयुक्त राष्ट्रसंघसँग सम्बन्धित Major Group for Children and Youth (MGCY) अन्तर्गत गठन गरिएको Mountain Communities and Ecosystems Youth Working Group को ग्लोबल संयोजक तथा Global Focal Point (GFP) नियुक्त गरिएको छ।


उक्त नियुक्तिको घोषणा सेप्टेम्बर २५, २०२६ मा आयोजित भर्चुअल अन्तर्राष्ट्रिय संवादका क्रममा गरिएको थियो। प्राप्त आधिकारिक जानकारीअनुसार, उनको नियुक्तिलाई सेप्टेम्बर २८ मा भएको MGCY Secretariat Meeting ले औपचारिक रूपमा अनुमोदन तथा प्रमाणीकरण गरेको हो। उनको मनोनयनलाई MGCY अन्तर्गत दक्षिण एसियाली क्षेत्रको युवा प्लेटफर्म SAARC Youth Platform (SYP) ले समर्थन गरेको जनाइएको छ।

Mountain Communities and Ecosystems Youth Working Group MGCY अन्तर्गत पर्वतीय क्षेत्रका विषयमा केन्द्रित आधिकारिक युवा कार्यसमूहका रूपमा स्थापना गरिएको हो। आयोजकहरूका अनुसार, यसले पर्वतीय समुदाय, हिमाली पारिस्थितिक प्रणाली र जलवायु परिवर्तनका विषयमा युवाको आवाजलाई अन्तर्राष्ट्रिय तथा संयुक्त राष्ट्रसंघीय नीतिगत प्रक्रियासम्म पुर्‍याउने औपचारिक माध्यमका रूपमा काम गर्नेछ।

यो कार्यसमूहको सुरुवात “Climate Crisis in the Cryosphere: Mountain Youth Championing Environmental Resilience Against Escalating Himalayan Disasters” शीर्षकको अन्तर्राष्ट्रिय भर्चुअल संवादका क्रममा गरिएको थियो। संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (UNGA81) को अवसरमा आयोजित उक्त कार्यक्रममा हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम, हिमनदी तथा क्रायोस्फियरमा भइरहेको परिवर्तन, बाढी, पहिरो तथा ग्लेसियल लेक आउटबर्स्ट फ्लड (GLOF) जस्ता जोखिमबारे छलफल गरिएको थियो।

कार्यक्रमलाई Kathmandu Climate Action Week (KCAW) 2026 को तयारीसँग समेत जोडिएको थियो। छलफलमा पर्वतीय विपद् जोखिम न्यूनीकरण, जलवायु वित्तमा पर्वतीय समुदायको पहुँच, सीमापार सहकार्य तथा नीति निर्माणमा युवाको सहभागिताजस्ता विषय समेटिएका थिए।

भर्जिनिया टेकमा पीएचडी गर्दै

सोनिका पौडेल हाल अमेरिकाको भर्जिनिया राज्यस्थित Virginia Polytechnic Institute and State University (Virginia Tech) मा Agricultural and Extension Education विषयमा PhD अध्ययनरत छिन्।

उनी नेपालस्थित Youth for Environment Education and Development Foundation (YFEED Foundation) को बोर्ड अफ डाइरेक्टर्सकी सदस्य पनि हुन्। YFEED Foundation ले यसअघि पनि पौडेललाई जलवायु, वातावरण तथा युवा नेतृत्वसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराउँदै आएको सार्वजनिक विवरणमा उल्लेख छ। २०२६ मा उनले Virginia Tech बाट Agricultural and Extension Education मा मास्टर डिग्री पूरा गरेको YFEED Foundation ले जनाएको छ।

पौडेलको जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र युवा सहभागितासम्बन्धी अन्तर्राष्ट्रिय कामको पृष्ठभूमि पनि छ। संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरणसम्बन्धी विगतका कार्यक्रमहरूमा उनी युवा प्रतिनिधिका रूपमा सहभागी भएको अभिलेख भेटिन्छ।

नयाँ जिम्मेवारीसँगै पौडेलले हिमाली क्षेत्रका युवाको आवाजलाई अन्तर्राष्ट्रिय नीति निर्माणमा पुर्‍याउने, पर्वतीय समुदायका समस्या उठाउने तथा जलवायु परिवर्तन र वातावरणीय जोखिमविरुद्ध युवा नेतृत्वलाई थप प्रभावकारी बनाउने भूमिकामा काम गर्ने अपेक्षा गरिएको छ। 

हामीलाई अमेरिकाको समाचार पठाउन : samacharpatiusa@gmail.com मा इमेल गर्नुहोस धन्यवाद ।