अमेरिकामा बाल यौन दुर्व्यवहारसम्बन्धी अपराध लुकाएर नागरिकता प्राप्त गरेको ठहर भएपछि ७२ वर्षीय लाइबेरियाली नागरिक सिरिल डोमाक्विक क्लेमेन्सको अमेरिकी नागरिकता खारेज गरिएको छ। उनलाई आफ्नै खर्चमा अमेरिका छाड्न संघीय अदालतले आदेश दिएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले अक्टोबर १५ मा सार्वजनिक गरेको सूचनाअनुसार, क्लेमेन्सलाई नागरिकता प्राप्त गर्ने क्रममा ठगी गरेको अभियोगमा दोषी ठहर गरिएको हो। उनले जुन १८, २०२६ मा नागरिकता प्रक्रियामा ठगी गरेको अभियोग स्वीकार गरेका थिए। सेप्टेम्बर १७ मा संघीय न्यायाधीशले उनलाई यस मुद्दामा भुक्तान गरिसकेको अवधिलाई नै सजाय मान्ने निर्णय सुनाएका थिए। अदालतले उनको नागरिकता खारेज गर्नुका साथै आफैँ अमेरिका छाड्न आदेश दिएको छ। क्लेमेन्सले सन् २०२१ फेब्रुअरी १९ मा अमेरिकी नागरिकता लिएका थिए। नागरिकता आवेदन र अन्तर्वार्ताका क्रममा उनले यौन अपराधमा संलग्न भएको तथा पक्राउ नपरेको अवस्थामा अपराध गरेकोबारे सोधिएका प्रश्नमा गलत विवरण दिएको अभियोजन पक्षले जनाएको छ। यसअघि सन् २०२३ अप्रिल ३ मा नर्थ क्यारोलिनाको डरहम काउन्टीस्थित राज्य अदालतमा उनले बालबालिकासम्बन्धी अनुचित यौन व्यवहारका तीन अभियोग स्वीकार गरेका थिए। अदालतले उनलाई १६ महिनादेखि २९ महिनासम्मको कैद सजाय सुनाउनुका साथै यौन अपराधीका रूपमा दर्ता हुन आदेश दिएको थियो। अभियोजनसम्बन्धी विवरणअनुसार, पीडित बालिकामाथि सन् २०११ नोभेम्बरदेखि सन् २०२२ मार्चसम्म दुर्व्यवहार भएको थियो। अमेरिकी अधिकारीहरूले क्लेमेन्सको आप्रवासनसम्बन्धी ठगी र अपराधको अनुसन्धानमा यूएससीआईएस, अध्यागमन तथा भन्सार कार्यान्वयन निकाय (आईसीई) र होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनका अधिकारी सहभागी रहेको जनाएका छन्। ‘अपरेसन फल्स हेभन’ अन्तर्गत अघि बढाइएको यो अनुसन्धानले गम्भीर अपराधमा संलग्न भएर गलत विवरणका आधारमा आप्रवासनसम्बन्धी सुविधा लिने व्यक्तिलाई लक्षित गरेको अधिकारीहरूले बताएका छन्।