Header Ads Widget

Sponser Us

नासामा कार्यरत नेपाली वैज्ञानिक डा. रञ्जय मान श्रेष्ठलाई प्रतिष्ठित ‘गोल्डेन गुस पुरस्कार २०२६’

वाशिङ्टन डीसी। अमेरिकाको अन्तरिक्ष निकाय नासामा कार्यरत नेपाली मूलका वैज्ञानिक डा. रञ्जय मान श्रेष्ठले प्रतिष्ठित वैज्ञानिक सम्मान ‘गोल्डेन गुस पुरस्कार २०२६’ प्राप्त गरेका छन्। काठमाडौंमा जन्मिएका श्रेष्ठ यो सम्मान प्राप्त गर्ने नेपाली मूलका पहिलो व्यक्ति बनेको समाचारमा उल्लेख छ। डा. श्रेष्ठसहित पाँच जना अनुसन्धानकर्तालाई नासाको ‘ब्ल्याक मार्बल’ परियोजनामा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको हो। सन् २०२६ सेप्टेम्बर २८ मा वाशिङ्टन डीसीस्थित अमेरिकी कंग्रेस पुस्तकालयमा आयोजित १५औँ गोल्डेन गुस पुरस्कार समारोहमा उनीहरूलाई सम्मान गरिएको थियो। नासाको ब्ल्याक मार्बल परियोजनाले भूउपग्रहको सहायताबाट रातको समयमा पृथ्वीका विभिन्न भागमा देखिने कृत्रिम उज्यालोको अध्ययन गर्छ। यसबाट कुनै क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको अवस्था, प्राकृतिक विपत्तिले पारेको असर, मानवीय गतिविधिमा आएको परिवर्तन तथा विपत्तिपछिको पुनर्निर्माणको प्रगति बुझ्न सहयोग पुग्छ। भूकम्प, बाढी वा आँधीपछि कुनै क्षेत्रको रातको उज्यालो घटेमा त्यसले विद्युत् सेवा वा भौतिक पूर्वाधारमा क्षति पुगेको संकेत दिन सक्छ। समयसँगै उज्यालो पुनः बढ्दै गएमा सेवा पुनःस्थापनाको अवस्थासमेत आकलन गर्न सकिन्छ। यस प्रविधिले विपद् व्यवस्थापन, ऊर्जा पहुँच, सहरी विकास र वातावरण संरक्षणसम्बन्धी निर्णयमा सहयोग पुर्‍याउँछ। डा. श्रेष्ठले जर्ज मेसन विश्वविद्यालयबाट पृथ्वी प्रणाली तथा भू-सूचना विज्ञानमा विद्यावारिधि गरेका छन्। उनी नासाको गोडार्ड अन्तरिक्ष उडान केन्द्रमा अनुसन्धान वैज्ञानिकका रूपमा कार्यरत छन्। पृथ्वीको अवलोकनसम्बन्धी अनुसन्धानमा झन्डै एक दशकको अनुभव हासिल गरेका श्रेष्ठले भूउपग्रहबाट प्राप्त जटिल तथ्यांकलाई व्यावहारिक र उपयोगी जानकारीमा रूपान्तरण गर्ने क्षेत्रमा योगदान दिएका छन्। उनीसँगै मिगुएल ओ. रोमान, एलेनोर क्याथरिन स्टोक्स, झुओसेन वाङ र भर्जिनिया काल्बले पनि यो पुरस्कार प्राप्त गरेका छन्। सन् २०१२ मा स्थापना भएको गोल्डेन गुस पुरस्कारले समाजलाई महत्त्वपूर्ण लाभ पुर्‍याउने संघीय लगानीमा आधारित वैज्ञानिक अनुसन्धानलाई सम्मान गर्दै आएको छ। डा. श्रेष्ठको यो उपलब्धिले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा नेपाली मूलका प्रतिभाले अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदानलाई उजागर गरेको छ। साथै, नेपाली युवालाई वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनमा अघि बढ्न प्रेरणा दिने उपलब्धिका रूपमा पनि यसलाई हेरिएको छ।