अमेरिकामा अमेजनमार्फत बिक्री भएका १ लाख १२ हजारभन्दा बढी बोतल दुखाइ कम गर्ने औषधि फिर्ता माग गरिएको छ। औषधिका चक्कीको रङ परिवर्तन भएको गुनासो आएपछि उत्पादक कम्पनीले बजारबाट औषधि फिर्ता बोलाएको हो। ‘प्रिभेन्सन’ पत्रिकाका अनुसार, अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) मा प्रकाशित सूचनाअनुसार, औरोबिन्दो फार्मा यूएसएले सेप्टेम्बर १८ मा यो फिर्ता प्रक्रिया सुरु गरेको थियो। यसमा अमेजनको ‘बेसिक केयर एक्स्ट्रा स्ट्रेन्थ’ नाममा बिक्री हुने ५०० मिलिग्राम एसिटामिनोफेन औषधिका १ लाख १२ हजार ९३२ बोतल समावेश छन्। फिर्ता माग गरिएका औषधि २००, ५०० र १ हजार चक्की भएका बोतलमा बिक्री भएका थिए। चक्कीको रङ परिवर्तन भएको गुनासो आए पनि हालसम्म यसबाट स्वास्थ्यमा प्रतिकूल असर परेको घटना सार्वजनिक भएको छैन। एफडीएले पनि औषधिको जोखिम वर्गीकरण अझै तोकेको छैन। उपभोक्तालाई आफ्नो औषधिको बोतलमा रहेको लट नम्बर जाँच गर्न र प्रभावित समूहमा परेको भए औषधि प्रयोग नगर्न आग्रह गरिएको छ। औषधि सुरक्षित रूपमा कसरी विसर्जन गर्ने र रकम फिर्ता कसरी लिने भन्ने जानकारीका लागि अमेजनको खातामा रहेको उत्पादन सुरक्षा सूचनासमेत जाँच गर्न सकिन्छ।