Header Ads Widget

Sponser Us

अमेरिकामा पाँच पटक देशनिकाला गरिएका मेक्सिकन नागरिक क्यालिफोर्नियामा पक्राउ

क्यालिफोर्निया। अमेरिकाबाट पाँच पटक देशनिकाला गरिएका र विभिन्न आपराधिक मुद्दामा दोषी ठहर भएका मेक्सिकन नागरिक मारियो जेसस भाल्देज–फ्लोरेस पुनः पक्राउ परेका छन्। अमेरिकी अध्यागमन तथा भन्सार कार्यान्वयन निकाय (आईसीई) ले क्यालिफोर्नियाको किङ्स बिच क्षेत्रमा सवारी जाँचका क्रममा उनलाई पक्राउ गरेको हो। अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) ले अक्टोबर १५ मा सार्वजनिक गरेको विवरणअनुसार, आईसीईको होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन र निष्कासनसम्बन्धी अपरेसन टोलीले अक्टोबर ७ मा उनलाई पक्राउ गरेको थियो। विभागका अनुसार, भाल्देज–फ्लोरेस यसअघि पाँच पटक अमेरिकाबाट देशनिकाला भइसकेका छन्। उनी लागुऔषध तथा नियन्त्रित पदार्थ ओसारपसार र बिक्रीसम्बन्धी अपराधमा दोषी ठहर भएका थिए। उनीमाथि प्रथम श्रेणीको डकैती, आपराधिक षड्यन्त्र तथा घातक हतियार प्रयोग गरी आक्रमण गरेको आरोपमा पक्राउसमेत गरिएको अभिलेख रहेको विभागले जनाएको छ। मदिरा वा लागुऔषधको प्रभावमा सवारी चलाएको अभियोगमा पनि उनी दोषी ठहर भएका थिए। अमेरिकी अधिकारीहरूका अनुसार, उनी सन् २००४ मा कानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए, तर तोकिएको अवधिभन्दा बढी बसेका थिए। उनलाई सन् २००८ मा तीन पटक तथा सन् २००९ र २०१६ मा थप एक–एक पटक देशनिकाला गरिएको थियो। पक्राउपछि भाल्देज–फ्लोरेसलाई आईसीईको हिरासतमा राखिएको छ। उनलाई पुनः मेक्सिको पठाउने प्रक्रिया अघि बढाइएको गृह सुरक्षा विभागले जनाएको छ।