Header Ads Widget

Sponser Us

इलिनोइमा हिन्दू मन्दिरमा सामूहिक गोलीकाण्डको योजना बनाएको आरोपमा १९ वर्षीय युवक पक्राउ

 


अमेरिकाको इलिनोइ राज्यमा रहेको एक हिन्दू मन्दिरमा सामूहिक गोलीकाण्ड गराउने योजना बनाएको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन्। प्रहरीले समयमै सूचना पाएपछि सम्भावित ठूलो हिंसात्मक घटना रोकिएको जनाएको छ। एबीसी न्युजका अनुसार पक्राउ पर्ने युवक एलेक्सान्ड्रोस पापोराकिस हुन्। उनी इलिनोइको प्यालाटाइन क्षेत्रमा बस्दै आएका थिए। प्यालाटाइन प्रहरी प्रमुख विलियम नर्डका अनुसार, आइतबार माउन्ट प्रोसपेक्ट प्रहरीमार्फत पापोराकिसले पठाएका चिन्ताजनक विद्युतीय सन्देशबारे सूचना प्राप्त भएको थियो। अनुसन्धानका क्रममा उनको नाममा दर्ता भएको रातो होन्डा गाडी अरोरा क्षेत्रको एक हिन्दू मन्दिरको पार्किङ क्षेत्रमा दिउँसो १२ बजेर २५ मिनेटमा प्रवेश गरेको र करिब १३ मिनेटपछि बाहिरिएको पत्ता लागेको थियो। प्रहरीले मन्दिरको नाम भने सार्वजनिक गरेको छैन। त्यसपछि उनको घरमा छापा मार्दा राइफल, सयौँ गोली, गोलीबाट जोगाउने कवच र सुरक्षात्मक सामग्री फेला परेको प्रहरीले जनाएको छ। बरामद सामग्रीमध्ये श्वेत सर्वोच्चतावादी चरमपन्थी विचारसँग सम्बन्धित चिह्न भएको विशेष पोसाक पनि रहेको बताइएको छ। प्रहरीले फेला पारेको एउटा दस्तावेजमा दक्षिण एसियाली मूलका मानिस, विशेषगरी भारतीय मूलका व्यक्तिविरुद्ध हिंसात्मक विचार व्यक्त गरिएको आरोपसमेत लगाएको छ। पापोराकिसमाथि आतंकवादी धम्की दिएको र गैरकानुनी रूपमा छोटो नाल भएको राइफल राखेको आरोपमा मुद्दा चलाइएको छ। बुधबार अदालतमा उपस्थित गराइएका उनलाई न्यायाधीशले हिरासतमा राख्न आदेश दिएका छन्। घटनाको अनुसन्धानमा संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले पनि सहयोग गरिरहेको छ। आरोपितको अर्को अदालत उपस्थितिको मिति अक्टोबर ३० तोकिएको छ। प्रहरीले समयमै सूचना दिने व्यक्तिको सहयोगले सम्भावित ठूलो क्षति रोक्न मद्दत पुगेको जनाएको छ।