आज छठको मुख्य दिन

चार दिवसीय महापर्व छठको आज मुख्य दिन हो । तराई–मधेसलगायत मुलुक भरका नदी, खोला, पोखरी र नहर किनारलाई ब्रतालु एवं आगन्तुकको स्वागतमा झकिझकाउ पारिएको छ ।आज ब्रतालु तथा परिवारजनले घरघरमा बिहानदेखि लोकप्रिय प्रसाद ठेकुवा, भुसुवा, खाजा भनिने एक प्रकारको मिठाई एवं पुरी तयार पार्छन् ।

अपराह्न घरको आँगनलाई लिपपोत गर्छन् । आँगनमा बाँसको नांग्लो र ढाकी मिलाएर राख्छन् ।

नांग्लोमा पुजा सामग्री सजाउँछन् । एक पटक घरमै पुजा गरेपछि सामग्रीसहितको नांग्लोलाई पुन: ढाकीमा सजाउँछन् । प्रसाद झर्न नदिनलाई ढाकीलाई सफा कपडाले मजाले बाँध्छन् । त्यसमाथि सावधानीकासाथ बलिरहेको दियो राख्छन् ।

यसपछि नयाँ पहिरनमा ब्रतालुसहित सारा परिवार पुजा सामग्री बोकेर छठ गीत गाउँदै घाटतिर लाग्छन् । प्रसादले भरिएको ढाकी भने जिम्मेबार व्यक्तिलाई बोक्न लगाउँछन् ।

लोक आस्थाको यो पर्वको तेस्रो दिन मंगलबार साँझ एवं चौथो दिन बुधबार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्रीसहित पुगेपछि ब्रतालु एवं परिवारजनले सूर्यदेवलाई अर्घ्य दिन्छन् ।

बिहानीको अर्घ्य लगतै छठ माताको महिमाको कथा वाचनसहित चार दिने धार्मिक अनुष्ठानको समापन हुन्छ । अटल सौभाग्यको कामना गर्दै महिला ब्रतालुले एक अर्काको निधारमा रातो टीका पनि लगाइदिन्छन् ।

अन्तिम दुई दिन घाट भनिने नदी, पोखरी एवं नहर किनारमा दिपावलीझैं माहोल हुन्छ । केहि दिन अगाडिदेखि नै घाटको सरसफाइ, निर्माण र सजावटमा स्थानीयवासी लाग्छन् । लक्ष्मी पुजामा घरलाई सजिसजाउ पारे झैं यतिखेर घाटलाई झिलिमिली बनाउँछन् । तराई–मधेसमा घाटमा लहरे केराको बोट गाडेर दियो बालिने हुनाले दुरुस्त दिपावलीकै माहोल हुन्छ ।

बिहानीको पुजापछि अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं ठेकुवा, भुसवा एवं गेडागुडी मिश्रित प्रसाद माग्न आउनेको घाटमा ओइरो लाग्छ । न दिने थाक्छन्, न त माग्ने नै । प्रसाद बाँड्दा धर्म हुने विश्वास गरिन्छ । त्यसैगरी प्रसाद मागेर खानेलाई पुजा गर्ने जतिकै जति पुण्य हुने धार्मिक मान्यता छ ।

भरपुर आस्थाकासाथ प्रसाद माग्न आउने, बाँडने एवं मुख्य उपासकलाई ढोकेर आशीष लिने क्रम घरदेखि घाटसम्म निरन्तर चल्छ । ब्रतालुले आइतबार बिहान स्नानपछि शुद्ध शाकाहारी भोजन ग्रहण गरी यो पर्व सुरु गरेका हुन् । चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको दोस्रो मुख्य दिन सोमबार साँझ छठ ब्रतालुले घरघरमा ‘खरना’ पुजा गरे ।

पहिलो दिनको स्नानपछि शाकाहारी भोजन खाएपछि पूर्णरुपले उपवास बसेका छठका ब्रतालुले परिवारजन एवं छरछिमेकको सहयोगले साँझ नपर्दै खिरपुरी तयार पारे । मधेसतिर यो पर्वकै प्रयोजनकोलागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा ती चढावा तयार पारिन्छ ।

ब्रतालुले सोमबार साँझ घरको एक शान्त कोठालाई लिपपोत गरे । त्यसपछि भूइमा केराको पात फिजाएर त्यसमाथि खिरपुरी र केरा राखे । धुपदीप बालेर चन्द्र, सूर्य र भगवान सूर्यकै भगवती रुप मानिने छठी माताको मौन पुजा गरे । होहल्लाले पुजा भंग हुने आस्थाका कारणले ब्रतालुले कोठाको ढोका थुनेरै आराधना गर्छन् । देवीदेवतासँग गरेको कामना बारे उनले कसैलाई पनि बताउँदिनन् ।

घरको आँगन र बरन्डामा बसेर परिवारजन, छरछिमेक एवं पाहुनाले पुजा समाप्तिको प्रतिक्षा गरिरहेका हुन्छन् । घरमा छठ नहुने विवाहित छोरीचेली पनि यतिखेर माइत आउँछन् । टाढा घर भएका आफन्तजन एवं मितमितेनीलाई ब्रतालु परिवारले आमन्त्रण गर्छन् ।

खरना पुजा सम्पन्न भएपछि ब्रतालुले प्रसाद ग्रहण गर्छन् । उपस्थित सबैलाई बाँडछन् । छठ पुजाको मुख्य दिन अगाडीको यो एक महत्वपूर्ण धार्मिक विधि हो । यो धार्मिक अनुष्ठानपछि ब्रतालुको ३६ घण्टे निर्जल उपवास सुरु हुन्छ । सूर्यदेवको पुजाकालागि अर्को दिन बेलुकी पख र भोलिपल्ट बिहान घरबाट नजिकैको जलाशय किनारमा पुग्ने सम्झनाले ब्रतालु एवं आफन्तजनलाई रातभरी निन्द्रा लाग्दैन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top