विधवा महिलालाई हेर्न दृष्टिकोणमा परिर्वतन हुर्नुपर्छ

 

१ सय ५० विधवा महिलालाई सम्मान

पोखरा,  १७ जेठ  । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १२ ले पोखरा लेखनाथ महानगरपालिकका कार्यबाहक मेयर सहित वडाभित्र रहेका १ सय ५० जना बिधवा महिलालाई सम्मान गरेको छ । बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यबाहक मेयर गुरुङलाई वडा अध्यक्ष रामबहादुर कार्कीले दोसल्ला ओढाएर सम्मान गर्नुभयो भने वडाभित्रका बिधवा महिलालाई उपप्रमुख गुरुङले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

सम्मान कार्यक्रमपछि बोल्दै पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले समाजमा विधुवा महिलालाई हेर्न दृष्टिकोण र संस्कारमा परिर्वतन हुनुपर्ने बताउनुभयो । उहाँले आफनो असहमती विधुवा शब्दसंग नभएको बताउनुभयो । ‘बिधुवा शब्द नराम्रो हैन, विधुवालाई हेर्ने दृष्टिकोण र संस्कार गलत छ, त्यसलाई परिर्वतन गर्नुपर्छ ।’ उहाँले समाज र संस्कारका कारण महिलाहरुलाई गरिने ब्यवहारलाई परिर्वतनको खाँचो रहेको बताउनुभयो ।

उहाँले कुनै महिलाको श्रीमानको मृत्यु हुने वित्तिकै पहिरन र पहिचान परिर्वतन हुने भन्दै त्यस्ता गलत संस्कारलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले नेतृत्व क्षमतामा कमी, आर्थिक रुपमा कमजोर, धार्मिक संस्कार, संस्कृति, शिक्षाका कारण महिलाहरु पछाडी परेको बताउनुभयो । ‘महिलालाई नेतृत्वमा ल्याउन आर्थिक, शैक्षिक र नेतृत्व विकासमा सक्षम बनाउनुपर्छ ।’ पोखरा महानगरपालिकाका कार्यक्रम अधिकृत दुर्गा न्यौपानेले एक महिलाको पक्षमा आफुहरुले विगत लामो समयदेखि संघर्ष गरेका कारण राज्यले एक महिला भत्ताको ब्यवस्था गरेको बताउदै समाजमा रहेका विकृति विरुद्ध महिलाहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समाजसेवी राधेश्याम कोइराला, भुवन प्रकाश आचार्य, सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष बलबहादुर कार्की, एकल महिला सीतादेवी कोइराला, इन्द्रीरा पन्त, वडा नम्वर १२ का वडा सदस्य विष्णुमाया विश्वकर्मा लगायतले एक महिलाका बारेमा बोल्नु भएको थियो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १२ का अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा कार्यालयमा कार्यरत कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top