धेरै पढ्न नपाएकोमा पछुतोमा तरकारी खेतीबाटै भाइहरूलाई भनेजति अध्ययन गराउने

वीरगन्ज,१२ मंसिर l  ‘मैले पढ्न सकिनँ । तर भाइहरूलाई भने उनीहरूले चाहेको जति पढाउँछु’, खेतमा काउली काट्दै गरेको अवस्थामा भेटिएका २७ वर्षीय सम्सुल होदाले भने, ‘साइँलो भाइ एचए पढ्दै छन् । काइँलो प्लस टू र कान्छो १० कक्षा । पर्साको पोखरिया नगरपालिका-९ सेमरबारीका सम्सुल परिवारका जेठा सन्तान हुन् । दुई कक्षा मात्र पढेका सम्सुललाई धेरै पढ्न नपाएकोमा पछुतो छ । तर आफूले पढ्न नपाए पनि भाइहरूलाई भने उनीहरूले चाहेजति पढाउने र असल नागरिक बनाउने उनको लक्ष्य छ । त्यसका लागि उनी खेतीपातीमा रातदिन लागेर मेहनत गरिरहेका छन् ।

उनले तरकारी खेतीबाटै भाइहरूको अध्ययनका लागि खर्चको जोहो गर्दै आएका छन् । ‘धान र गहँ रोपेर कुनै फाइदा छैन, एक बिघामा धान लगाउँदा जति आम्दानी हुन्छ त्यति आम्दानी त तीन कठ्ठाको तरकारी खेतीबाट हुन्छ’, सम्सुलले भने, ‘वर्षमा एक बाली मात्रै धान लगाउँछु, बाँकी तीनचार बाली तरकारी खेती गर्छु । १५ कठ्ठामा तरकारी खेती गरेको छु । घरखर्च सबै कटाएर वार्षिक आठ÷नौ लाख रुपैयाँ बचत हुन्छ । -सम्सुल होदा, किसान तरकारी खेतीकै आम्दानीबाट घरपरिवारको खर्च र भाइहरूको पढाइको खर्च जोहो भइरहेको उनले बताए । ‘अहिले १५ कठ्ठामा काउली रोपेको छु, पाँच कठ्ठामा मूला, १० कठ्ठामा प्याज र साग लगाएको छु’, उनले भने, ‘खेतीपातीमा लाग्ने र घरखर्च सबै कटाएर वर्षमा आठ÷नौ लाख रुपैयाँ बचत हुँदै आएको छ ।

१५ सदस्य रहेको सम्सुलको परिवारमा काम गर्ने मुख्य व्यक्ति र घरमूली उनी नै हुन् । तीनजना भाइको पढाइमा वर्षमा ६ देखि ७ लाख रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ । ‘भर्खर चार लाख रुपैयाँ तिरेर साइँलो भाइलाइ एचएमा भर्ना गरेको छु, वीरगन्जमा पढ्दै छ’, उनले भने ।
महेनत भए र जाँगर चलाउन सके आफ्नै गाउँठाउँमा रोजगारीको प्रशस्त अवसर रहेको उनी बताउँछन् । मेहनत गर्ने हो भने परिवारको छत्रछायाँमै बसेर खेतीपातीबाटै राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । ‘विदेशमा गएर १८ घण्टा काम गर्नुको साटो आफ्नै खेतमा चारपाँच घण्टा मात्र काम गर्ने हो भने प्रशस्त कमाउन सकिन्छ, मैले कमाएको छु पनि’, उनले भने ।

सम्सुलले गरेको तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेको देखेर गाउँका अरू युवाले पनि सिको गर्दै तरकारी खेती गर्न थालेको उनले बताए । ‘अल्छी गर्‍यो भने त कही गए पनि कमाउन सकिँदैन, तर मेहनत गर्‍यो र जाँगर चलायो भने आफ्नै खेतमा सुन फलाउन सकिन्छ’, उनले भने, ‘खेतमा उत्पादन हुने तरकारी म आफै बजारमा लगेर बेच्छु, त्यसमा माइलो भाइले पनि सघाउँछ, कहिलेकाहीँ बुबाले पनि काममा सहयोग गरिदिनुहुन्छ ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित