अनि यसरी टुंगियाे हाम्राे प्रेमकाे अधुराे कहानी

रात भएकाले ठ्याक्कै त थाहा भएन कहाँ हो। तर, त्रिशुली किनारमा पहाडको बाटो हुँदै हुँइकिएको रात्रिबस एउटा सानो शहरको बिचमा लामो जाममा पर्यो। सानो ब्याग भिरेर बसबाट ओर्लेर नजिकैको चिया पसलमा गएँ। जाम खुल्ने अझै छाँटकाँट थिए। एउटा चुरोट र चिया मगाएँ। र, ब्यागबाट डायरी झिकेर समय कटाउन दैनिकी लेख्ने विचार गरेँ। डायरीको पहिलो पानामा भएका -विद्याराज्यलक्ष्मी राणा, क्रिकेट, कलेज टियु ग्राउन्ड नयाँ बर्ष २०६८, जन्मदिन जस्ता शब्दहरुमा मेरो नजर पर्यो। हत्तपत्त डायरी बन्द गरेँ। र, मोबाइल झिकेँ। १२ बजिसकेछ, र विद्यालाई नयाँ वर्ष २०७० र जन्मदिनको शुभकामना दिन फोन लगाएँ। दुइ पटक फोन उठेन।

र, तेस्रो पटक च्याटठिएको स्वर आयो, ‘के हो आधा रातमा फोन गरेर मान्छेको निन्द्रा बिगार्ने? तपाईको बुद्धि छैन?’ रिसले कान तातो भयो। र, एउटा लामो म्यासेज पठाएँ, ‘हरेक रात सुत्नु अघि डायरी पल्टाउँछु, दैनिकी लेख्न खोज्दा पहिलो पानामा भएको तिम्रो नाम देख्छु।

हत्तपत्त पाना पल्टाएर लेख्न शुरु गर्छु, तर अतीतका यादहरुले पछ्याउँछ। तिमीलार्इ भुल्न हरेक रात डायरी अधुरो लेख्दै बन्द गरी सुत्छु। तर, यो निद्रा पनि तिमी जस्तै धोकेबाज!

भुल्न खोज्दा पनि तिमीलार्इ सपनामा पठाइदिन्छ। तर, थाहा छैन, यो डायरीको पहिलो पाना किन च्यात्न सक्दिँन र सायद एकदिन त्यो अरु कसैले च्यात्ने छ तब म तिमीलार्इ सदाका लागि भुलिसकेको हुने छु।

तिम्रो जन्मदिन र नयाँ वर्षको असिम शुभकामना। यत्ति भन्नू थियो, प्लिज रिप्लाई गर्ने दुख नगर्नु। यति म्यासेज पठएर पहिलो पाना नदेख्ने गरि फेरि डायरी पल्टाएर भर्खरै घटेका यी घटनाहरु डायरीमा लेख्न थाले। स्नातकाेत्तरकाे पढार्इ पनि सक्कियो। अब एकछिनमा जाम छिचोल्दै राजधानी नफर्किने गरी आफ्नो ठाउँ झापा जान्छु। र, अतीत भुल्ने कोशिस गर्छु।

यो थोत्रे डायरीको यति भाग पढिसकेपछि म त छागाबाट खसेझैँ भए। उहाले पन्ध्र वर्षसम्म लुकाएका यी कुरा आज यो थोत्रे बाकस नखोलेको भए मलाई कहिल्यै थाहा हुने थिएन। बुकमार्कले गर्दा बिचदेखि पढेँ।

तर, के छ त यो पन्ध्र वर्ष पूरानो डायरीकाे पहिलो पानामा? कस्तो सम्बन्ध थियो, उहाँको विद्याराज्यलक्ष्मी राणासँग? मेरो ओठमुख सुकिसकेछ। छेवैको टेबुलमा भएको आधा बोत्तल पानी एकै सासमा पिएछु। अब डायरीकाे पहिलो पाना पढ्छु।

धेरै महिना भएछ, दैनिकी नलेखेको। लेखौं पनि कसरी? उनीसँग च्याट गर्दागर्दै निदाउँने बानी परेको थियो। आज मेरा अक्षरहरु लर्बराइरहेछन्। तर, अक्षरभन्दा धेरै मेरा भावनाहरु लर्बराइरहेछन्।२०६९/०८/२७ (दैनिकी)

मन टुटेपछि धेरैले रक्सीको सहारा लिन्छन्। तर उनको विशाक्त मायाको मदिराले मातेको मेरो मनले अब अरु नसा सहन सक्तैन। मेरो मस्तिष्कमा अझै सफा छ, उनलाई भेटेको पहिलो दिन।

त्यो टियु ग्राउन्डको हरियो चौरमा बुरुक्क-बुरुक्क उफ्रिँदै गरेकी मृगको पाठी जस्ती विद्या। न्यू इयर इटर फ्याकल्टी क्रिकेट कप फाइनल गेम थियो। म सय रनको व्यक्तिगत स्कोरमा आर्ट्स फ्याकल्टीका लागि खेल्दैथिएँ। प्रत्येक पटक चौका-छक्का हान्दा साइन्स ग्रुपका केटीहरुको झुण्डबीचबाट उनी उफ्रिँदै ताली पिट्दैथिइन्।

मलाई लाग्यो, कि त यो केटी साइको हो, कि त यसले क्रिकेट नै बुझ्दिनँ। खेल हामीले जित्यौँ। म खेल सकिने बित्तिकै उनी भएकाे ठाउँ गएँ। र, सोधिहालेँ, ‘के हो नानी, क्रिकेट बुझ्दैनौं कि क्या हो? म साइन्स टिमको हैन त किन जोतमा उफ्रेको?’ जवाफ तुरुन्तै आइहाल्यो “हजुरभन्दा धेरै बुझ्छु। कथा लामो छ सुन्ने भए फेसबुकमा एड गर्नु। आइडी -विद्याराज्यलक्ष्मी। मलार्इ हतार छ गाको।’

रुखो प्रश्न सोधेपनि कैलो कपाल, छोटो कद, चुच्चो नाक, पाउरोटीजस्ता गाला र चेरीजस्ता ओठ भएकी विद्याबाट पहिलो भेटमै प्रभावित भएँ। किटब्यागबाट मोबाइल झिकेँ र फ्रेन्ड रिक्वेस्ट पठाएँ।

कोठामा गएपछि पनि उनको फेसबुक टाइमलाइन हेरिरहे। आज उनको जनमदिन रहेछ। बेलुका अनलाइन आइँन्। शुरुमा बर्थडे नयाँ वर्ष २०६९ काे शुभकामना दिएँ। र, दिउँसोको अजिब हर्कतको बारेमा सोधेँ।

उनले बेलिविस्तार लाउन थालिन् , ‘सुन्नुन, हाम्रो साइन्स टिम हारेपनि आज तपाईले मलाई बचाउनु भयो। आज त्यो तपाईले छक्कै-छक्का पिठेको बिएस्सीको बलर चक्रेले मलाई पहिल्यैदेखि क्लासमा इरिटेट गर्थ्यो। हिजो एउटा शर्त राखेकोथ्यो तेसले कि फाइनलमा म्यान अफ दि म्याच पायो भने सबको अगाडि प्रपोज गर्ने। तर, पाएन भने कहिल्यै ल्याङ नगर्ने। मैले त केही नसोची ल भन्देछु।

अब म तपार्इलाइ कसरी धन्यवाद दिउँ आजको लागि?’ कथा फिल्मी लाग्यो र मनमनै हाँस उठ्यो। मैले जिस्काइदिएँ, ‘चक्रेको ठाउँमा मैले प्रपोज गरे भनेनि, के भन्छौँ?’ सिधैँ भनिन्, ‘हाहा मिलाएर आफैँ बुझ्नु न। तर तपाई के गर्नुहुन्छ? कसरी पाल्नुहुन्छ मलाई?’

मलाई ठूलै चिठ्ठा पर्यो, र तुरुन्तै अलिकति ढाट्दै रिप्लाई दिए ‘मास्टर्स् गर्दै छु जागिर त पाइहाल्छु होला, नपाए किसानको छोरो हुँ हलो जोतेर भएनि पाल्छु।’

‘हाहाहा ल सुतौँ अब भोलि बिहान क्यान्टिनमा भेटौँ,’ उनको रिप्लाई आयो। त्यसपछिका हरेक दिन कहिले क्यान्टिनमा त कहिले टियु ग्राउन्डमा हाम्रो भेट हुन थाल्यो। बिदामा त मैले उनलार्इ मेरो कोठामा पनि लग्थे।

काठमाडाैंको धनी व्यापारी उनको परिवारको बारेमा मलार्इ धेरै थाहा दिएन। मैले पनि झापाकै सबैभन्दा धनाढ्य जमीनदार मेरो बुबाको बारेमा पछि सप्राइज दिन लुकाएँ। उनका लागि म एक किसानको मेहनती छोरो।

रमाइला दिनहरु बित्दैथ्ये। तर, हिजो अचानक एक तुफान आयो हामीबीच। म बेलुका उनको घर गएँ। घरमा उनको स्कुटी बाहेक कोही देखिँन। जोडले पिसाब आयो। र, म माथ्लो तलाको ट्वाइलेट गएँ। निस्किएर जब उनको रुममा पसे तल स्कुटीको आवाज सुनेर झ्याल बाहिर हेरेँ।

उनको पछाडि एउटा केटा हल्लिदै स्कुटीमा बस्यो, र स्कुटी गयो। यो सब देखेपछि जब विद्याको बेडमा हेरे बेड पुरै मडारिएको थियो। र, त्यहाँ डुङ्ग रक्सी गनाएको एउटा भेस्ट थियो।

जब विद्या फर्किन्, मैले तथानाम गाली गरे। उनले पनि भनिन्, ‘कुरै नबुझी गाली गर्ने यस्तो गाउले, पाखे, जंगलीसँग बेकार माया लाएछु। तेरो के औकात छ मलाई गाली गर्ने?’ हात हालाहालकै स्थिति अायाे। ‘औकातको कुरा नगर, तिमी जस्ता केटीहरु त जमीन्दार रविनजंग ठकुरीको घरमा नोकर्नी बस्छन्’ भनेर बाटो लागेँ।

यकिन थाहा छैन, त्यो कोठाभित्र के भएको थियो। तर, उनको मुखबाट फर्किएको घटिया जवाफले मलार्इ उनीबाट सदाका लागि टाढा बनायो। तर, साँचो कुरा जान्न र माफी माग्न धेरै पटक उनलार्इ फोन गरे तर उठेन। फेसबुकमा ब्लक गरिन्। मैले कुरा नबुझी गाली पो गरे कि? आखिर चोखो माया गर्थें उनलाई। अब मेरा आँखा रसाउन थाले। र, योभन्दा धेरै लेख्न सकिँन।

उहाँको यो थोत्रो डायरीको यो पहिलो पाना पढिसकेपछि मेरो आँसु तरर डायरीमा खस्यो। डायरीको अन्तिम पेजमा उहाँले कहिल्यै जान्ने कोसिस नगरेको सच्चार्इ लेख्न मन लाग्यो। र, मैले लेखेँ।

२०८६/०२/०४

‘पति परमेश्वर रविन यो कुरा तपाईलाई भन्न सक्दिन र यही डायरीमा लुकाउछु। मंसिर २६ गतेको त्यो दिन जब म दाजुको बिहेमा काठमाडौं जादा मैले पहिलो र अन्तिम पटक विद्यालार्इ देखेँ।

त्यो बेलुका बिहेमा विद्या, म र काकाको छोराबीच गहिरो दोस्ती भयो। पार्टी प्यालेसबाट निस्केर एउटा क्याफेमा गएर हल्का चिसो पियौं। भाइले भोड्का पियो। विचरा आफूले मात्र हैन भेस्टलार्इ पनि पिलायो। अब पूरै जडिया गनायो।

घरमा थाहा नहोस् भनेर एउटा भेस्ट किनेर ल्यायौं। तर, फेरि उल्टी गर्यो। विद्याको घर नजिकै बल्खुमा छ भन्ने थाहा पाएँ। नयाँ भेस्ट र भाइ विद्यालार्इ जिम्मा लगाएँ। र, आधा घण्टा जति उनको घरमा आराम गराउन लाए। घरमा कोही नभएकाले उनी मानिन्।

भाइलार्इ उनको घर पुर्याएर हामी फेरि टियुतिर घुम्न निस्क्यौं। एकछिनपछि उनले भाइलार्इ लिएर मलाई जिम्मा लगाइन्। मलाइ कहिल्यै थाहा भएन कि, त्यो भाइकै भेस्ट थियाे, जुन विद्याको कोटामा भेटिएकाे थियाे। म काठमाडौंबाट फर्केको एक वर्षमा विद्यालाई मानसिक बिमारी डिप्रेसन भएछ।

र, उपचार उतै गर्न उनी सदाका लागि अमेरिका गएको थाहा पाएँ। त्यसपछि उनको अत्तोपत्तो छैन। अर्को साल मेरो मागि विवाह हजुरसँग भयो। हामीले यी कुरा कहिल्यै गरेनौं। र, सुखी जीवन जिउँदैछौँ। जुन  सम्बन्धमा विश्वास हुँदैन, त्यो सजिलै टुट्छ, र आक्रोशमा बोलेका शब्द सुनेर कसैको चरित्रको मूल्यांकन गर्नु हुँदैन। शुभदिनबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित