काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनको राज्यमन्त्री सरहको सल्लाहकार हुँ भन्ने एक पात्र हिजो राति महाराजगञ्ज चक्रपथबाट पक्राउ परेका छन् । मध्यराती मापसे गरेर जथाभावी सरकारी गाडी हाँकेको, डिभाइडरमा ठोक्काएको र सशस्त्र प्रहरीका अवकाशप्राप्त एआइजीको गाडीमा क्षति पुर्याएवापत मध्यरात साढे एघार बजे समातिएको प्रहरीले बताएको छ ।
‘जीवन गुरुङ्ग पक्राउ परेका छन् । अनलाइनसमेत चलाउँछु भन्ने उनले आफूलाई उपराष्ट्रपतिको सल्लाहकार दाबी गरेका छन्,’ प्रहरी स्रोतले भन्यो । रक्सीले मातेका चार जनासहित गएराति उनीहरु महाराजगञ्ज प्रहरीको फन्दामा परेका हुन् ।
नयाँ बसपार्क क्षेत्रमा साँझदेखि रक्सी खाएर गुड फ्राइडे मनाएका उनीहरुले मध्यरात सडकमा ताण्डव मच्चाएको प्रहरीको भनाइ छ । गोंगबुको बिजी मल नजिकै सडकको एउटा डिभाइडरमा गाडी ठोक्काएर अघि बढेपछि उनीहरुले सामाखुसी नजिकै सशस्त्रका पूर्व एआजी जीतबहादुर पुनको गाडीमा सवारी साधन ठोक्काएका थिए ।
उनीहरुलाई राति प्रहरीबाट छुटाउन पुगेको सेतो नम्बर प्लेटको गाडी प्रदेश ३ ०१ ००२ झ ४७७७ फोर्ड कम्पनीको थियो । प्रहरीले जीवन गुरुङ्गबाहेक ३ जनालाई हतकडी लगाएपछि छुटाउन एउटा टोली महाराजगञ्ज पुगेको थियो ।
राति नै मेडिकल चेक गर्न लैजान उनीहरुलाई हतकडी लगाइए पनि जीवनलाई हतकडी भने नलगाइएको स्रोतको दाबी छ । उनीहरुलाई छाड्न अनेक प्रयास भए पनि एआइजीको गाडीलाई ठोकाएको कारण मापसे प्रयोग गरेर गाडी चलाएकाहरु सबै अहिले प्रहरी हिरासतमा छन् ।