दुईवटा पेस्तोलसहित भारतीय नागरिक पक्राउ – Samacharpati
Home | About Us | Contact | Unicode | About Us | Topics |

दुईवटा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

विराटनगर / विराटनगर महानगरपालिका–९ बाट प्रहरीले दुईवटा पेस्तोलसहित एक भारतीय नागरिकलाई सोमबारराति पक्राउ गरेको छ । भारत सीतामणि घर बताउने २२ वर्षीय कुनालकुमार सिंहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

उनका अनुसार पक्राउ परेका सिंहका साथबाट कटुवा र चाइनिज गरेर दुईवटा पेस्तोल र दुवैमा लोड हुने चार÷चार राउण्ड गोली बरामद भएको छ । प्रहरीका अनुसार दुई जना भारतीय नागरिकहरु विराटनगर आएर एउटा गेस्ट हाउसमा हिजो दिउँसो १ बजे कोठा बुक गरेर बसेका थिए ।

हतियारसहित आएर बसेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी बेदप्रसाद गौतम नेत्रृत्वको टोली छापा हान्न पुगेको थियो । त्यस क्रममा सिंहलाई दुईवटा पेस्तोल र गोलीसहित पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ । उनीसँगै रहेका अर्का व्यक्ति भने त्यतिबेला गेस्ट हाउसमा नभेटिएको र खोजी थालिएको डीएसपी श्रेष्ठको भनाइ छ ।

गेस्ट हाउसमा नभेटिएका व्यक्तिको पहिचान प्रहरीले गोप्य राखेको छ । प्रहरीले पेस्तोलसहित नेपाल छिरेका भारतीय हतियार कारोबारी भएको हुन सक्ने आशंका गरेको छ । कुनै अपराधिक घटना गराउने उदेश्यले पनि उनीहरु विराटनगर आएको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको डीएसपी श्रेष्ठको भनाइ छ ।

The post दुईवटा पेस्तोलसहित भारतीय नागरिक पक्राउ appeared first on Purbeli News.

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित