मतदाता प्रभावित पार्ने बजेट नल्याउन पूर्वप्रमुख निर्वाचन आयुक्तको संयुक्त अपील – Samacharpati Samacharpati मतदाता प्रभावित पार्ने बजेट नल्याउन पूर्वप्रमुख निर्वाचन आयुक्तको संयुक्त अपील – Samacharpati
  • होमपेज
  • मतदाता प्रभावित पार्ने बजेट नल्याउन पूर्वप्रमुख निर्वाचन आयुक्तको संयुक्त अपील

मतदाता प्रभावित पार्ने बजेट नल्याउन पूर्वप्रमुख निर्वाचन आयुक्तको संयुक्त अपील

मतदाता प्रभावित पार्ने बजेट नल्याउन पूर्वप्रमुख निर्वाचन आयुक्तको संयुक्त अपील

काठमाडौं : निर्वाचन प्रभावित पार्नेगरी बजेट नल्याउन पूर्वप्रमुख निर्वाचन आयुक्तले अपील गरेका छन् । बिहीबार बिहान पाँचजना पूर्वप्रमुख निर्वाचन आयुक्तले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो अपील गरेका हुन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र दोलखबहादुर गुरुङले निर्वाचन घोषणा भइसकेको अवस्थामा कामचलाउ भूमिकामा रहेको सरकारले बजेट ल्याउँदा मतदाता प्रभाव पार्ने खालका कार्यक्रम ल्याउनु नहुनेमा जोड दिएका हुन् ।

संयुक्त विज्ञप्तिमा बजेट ल्याउदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै नयाँ कार्यक्रमका लागि बजेट विनियोजन नगर्न भनिएको छ । यस विषयमा निर्वाचन आयोगलेसमेत आफ्नो संवैधानिक दायित्वको ख्याल गरेर सम्बन्धित पक्षलाई सजग गराउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

‘२०७८ कात्तिक, मंसीरमा प्रस्तावित प्रतिनिधिसभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस विषयमा आफ्नो संवैधानिक दायित्वको ख्यालगरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमै सजग गराउनेछ भन्ने हामीले विश्वास लिएका छौं।’

प्रतिनिधिसभा विघटन भइसकेकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार दिउँसो ४ बजे सिंहदरबारमा विशेष कार्यक्रमको आयोजना गरेर बजेट भाषण गर्दैछन् ।

संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका पेश गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेकी छन् । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार संसद नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत् बजेट ल्याउन लागेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका