कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा स्थानीयलाई घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ ।
एकैदिन १६ जनामा संक्रमण पुष्टि भएपछि वडा कार्यालयले यस्तो निर्णय गरेको हो ।वडा कार्यालयले सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने सम्बन्धमा फितलो भएको र संक्रमितको संख्या बढेकाले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।
‘अर्को सूचना जारी नहुँदासम्म वडा नं ४ स्थित अत्यावश्यक सेवा भन्दा बाहिरका संघ,संस्था, पसल, विद्यालय, सरकारी कार्यालय, बन्द गर्ने र सार्वजनिक यातायातका साधन संचालन तथा कुनैपनि किसिमका सभा सम्मेलन भोज भतेर खेलकुद अत्यावश्यक काम बाहेक घरभन्दा बाहिर ननिस्कने आदि कार्यहरुमा रोक लगाइएकोले यस संक्रमणकालिन अवस्थामा वडाबाट जारी भएको निर्देशनलाई पुर्ण रुपमा पालना गरि संक्रमण नियन्त्रण कार्यमा सहयोग गरिदिनुहुन यो सूचना प्रकाशित गरिएको छ’ वडा कार्यालयद्धारा जारी गरिएको सुचनामा उल्लेख छ। त्यसैगरी जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमण बढ्न सक्ने जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
प्रशासनले बिहीबार एक सूचना जारी गर्दै नजिकिँदै गरेको फागु पूर्णिमा लगायतका चाडबाड मनाउँदा तथा अत्यावश्यक गोष्ठी, भेला तथा कार्यक्रम सञ्चालन गर्दा भिडभाड नगर्न र अनिवार्य रूपमा जन स्वास्थ्यका मापदण्ड पालना गर्न तथा गराउन भनेको छ ।
प्रशासनले अनावश्यक गोष्ठी, भेला तथा कार्यक्रम नगर्न अनुरोध गर्दै सूचनाको अवज्ञा गर्नेलाई सङ्क्रामक रोक ऐन २०२० तथा प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।