पोखरा । पोखरा २६ अर्घौचोकमा रहेको सिर्जना बहिरा आवासिय माध्यमिक विद्यालयमा नेलम्बो नेपालको आयोजनामा एकहप्ते निशुल्क मुख तथा दन्त परिक्षण कार्यक्रम सुरु भएको छ । नेलम्बो नेपालले अत्याधुनिक सुविधासम्पन्न प्रविधियुक्त भ्यानमा दक्ष चिकित्सक सहितको टोलिले फागुनको १३ गतेसम्म विद्यालयमा सेवा प्रदान गर्ने नेलम्बो नेपालले जनाएको छ ।
उक्त शिविरमा पहिलो पटक कक्षा ११ कि छात्रा यशोधा श्रेष्ठले आफ्नो दाँतको परिक्षण गराउनुभयो । जिवनमा पहिलो पटक दाँतको उपचार त्यहिपनि आफ्नै विद्यालयमा शिक्षक र साथीहरुकोबीचमा गर्नपाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो ।
नेलम्बो नेपालले सुरु गरेको यस अभियानमा गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले पनि सहकार्य गरि दुर्गममा रहेका समुदायलाई विशेषज्ञ सहितको सेवा पुर्याउने गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । उहाँले एउटा भ्यान भित्र यति धेरै सेवा उपलब्ध गराएर सेवा सुरु गरेको गण्डकी प्रदेशमा यो नै पहिलो पल्ट भएको उल्लेख गर्नुभयो । डा. शर्माले भन्नुभयो – यो दन्त सेवाको सन्दर्भमा एउटा क्रान्ति नै हो ।
सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयबाट सुरु भएको यस अभियान गण्डकी प्रदेशको विभिन्न ठाउँमा लैजाने नेलम्बो नेपालको योजना रहेको छ । नेलम्बो नेपालका अध्यक्ष देवकोटाका अनुसार अध्ययन अनुसन्धान गरि आवश्यकता र अनुरोधलाई पहिचान गरि सेवा उपलब्ध गराइने छ । नेलम्बो नेपालले कुनै एक व्यक्तिले निशुल्क मुख र दन्त परिक्षण गरिसकेपछि पुनः फलोअपमा गएर पनि सेवा दिईने छ ।
दाँतमा समस्या भएपनि परिवारलाई बुझाउन नसक्ने अथवा परिवारका सदस्यहरुले बुझ्न नसक्ने भएकाले समस्यामा पर्दै आएका उनिहरु नेलम्बोको यस कार्यक्रमबाट निकै लाभान्वित हुने विद्यालयका प्रधानध्यापक अनिता सिग्देलले बताउनुभयो । आफ्नो विद्यालयमा पढ्ने बहिरा विद्यार्थीहरुका लागि शिविर अत्यन्तै उपयोगि हुने उहाँको विश्वास रहेको छ ।
देशका ४६ जिल्लाका २ सय ३० जना फरक क्षमता भएका विद्यार्थी पढ्ने यस विद्यालयबाट निशुल्क मुख तथा दन्त परिक्षणको शुभारम्भ गरेको नेलम्बो नेपालले आगामी दिनमा स्थानिय पालिकाहरुको सहकार्यमा विभिन्न ठाउँमा निशुल्क शिविर संचालन गर्ने अधयक्ष देवकोटाले बताउनुभयो ।
विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था, नेलम्बो नेपालले सुरु गरेको निशुल्क मुख तथा दन्त शिविरमा दाँतसम्बन्धी अधिकांश रोग र समस्याको समाधान गरिने नेलम्बो नेपालका सिनियर डेन्टिस्ट सर्जन डा. रोशन केसीको भनाई छ ।
नेलम्बो नेपालले विगत ३ वर्ष देखि स्वास्थ्य शिक्षा र वातावरणको नियमित कार्यक्रम गर्दै आइरहेको छ ।