हिमाली जिल्ला म्याग्दीको दुईवटा पालिकामा पनि हरियाली पार्क निर्माण,पार्क निर्माणमा गण्डकी प्रदेशको चाँसो – Samacharpati Samacharpati हिमाली जिल्ला म्याग्दीको दुईवटा पालिकामा पनि हरियाली पार्क निर्माण,पार्क निर्माणमा गण्डकी प्रदेशको चाँसो – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • हिमाली जिल्ला म्याग्दीको दुईवटा पालिकामा पनि हरियाली पार्क निर्माण,पार्क निर्माणमा गण्डकी प्रदेशको चाँसो

हिमाली जिल्ला म्याग्दीको दुईवटा पालिकामा पनि हरियाली पार्क निर्माण,पार्क निर्माणमा गण्डकी प्रदेशको चाँसो

हिमाली जिल्ला म्याग्दीको दुईवटा पालिकामा पनि हरियाली पार्क निर्माण,पार्क निर्माणमा गण्डकी प्रदेशको चाँसो

पछिल्लो समय सहरी कोलाहलबाट मुक्त हुन तथा धुलो, धुँवाबाट बच्नका लागि पार्क निर्माण गर्ने क्रम बढ्दो छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यापर्यटन कार्यक्रमअन्तर्गत हिमाली जिल्ला म्याग्दीको दुईवटा पालिकामा पनि हरियाली पार्क निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५,७६ मा बेनी नगरपालिका–२, खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिल र मंगला गाउँपालिका–२ बाबियाचौरमा हरियाली पार्क निर्माण गरिएको हो । प्रदेश सरकारको १८ लाख रुपैयाँको लागतमा मंगलाको बाबियाचौर तथा १२ लाख रुपैयाँको लागतमा लभ्लीहिलमा हरियाली पार्क निर्माण भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

सहरी क्षेत्रमा बढ्दो प्रदूषणबाट बच्न र पर्यावरणको समेत संरक्षण गर्ने उद्देश्यसहित हरियाली पार्क निर्माणको कार्य अघि सारिएको प्रदेश सरकारले जनाएको छ । पर्यटकहरुको चहलपहल बढाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको हरियाली पार्कमा विभिन्न प्रजातिका सुगन्धवाल फलफुलका बिरुवाहरु रोपिएका छन् ।अक्सिजन उत्सर्जन गर्न, पर्यटकलाई वनस्पतिसम्बन्धी विषयमा सूचना दिन र जैविक विविधताको संरक्षण एवं अभिवृद्धि गर्ने उद्देश्यले हरियाली पार्क निर्माण गरिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताउनुभयो ।

सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गामा वृक्षारोपण गरी हरियाली बनाइ सफा र स्वच्छ हावा लिनका लागि समेत पार्क निर्माणमा जोड दिइएको जनाइएको छ । म्याग्दीको विभिन्न स्थानमा सामुदायिक वनअन्तर्गत खाली जग्गाजमिन र पाखो क्षेत्रलाई उपयोग गर्नेगरी हरियाली पार्क निर्माणपछि स्थानीय खुसी भएका छन् । निर्माण गरिएका पार्कमा दुबो, धुपी, कपुर, अशोक, बुलमहर, कल्कीफुल प्रजातिका सदाबहार हरियाली भैरहने र सुगन्धवाल बिरुवाहरु रोपिएको छ । लभ्लीहिलमा हरियाली पार्क बनाएर विभिन्न प्रजातिका बोटबिरुवाहरु रोपेसँगै पछिल्लोपटक लभ्लीहिल भ्रमण गर्ने आन्तरिक पर्यटकहरु बढ्दै जान थालेको खबराका स्थानीय चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मंगला गाउँपालिकाले गएको आर्थिक वर्षमा मंगला इन्द्रेणी पार्क निर्माणमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरी पार्क निर्माण गरेको जनाएको छ । चालु आर्थिक वर्षमा पनि म्याग्दीको विभिन्न स्थानमा प्रदेश सरकारको आर्थिक सहयोगमा गुराँस पार्क, हरियाली पार्क, रावणपार्क, पिक्नीक स्पोट, साइकल लेन बनाउने जस्ता योजनाहरु कार्यान्वयनको चरणमा रहेका छन् ।कार्यक्रमअनुसार सामुदायिक वन क्षेत्रको खाली जग्गामा गह्रा निर्माण गरी बगैंचा बनाउने, बोटविरुवा रोप्ने, वृक्षारोपण गर्ने, शोभनीय खालका नयाँनयाँ प्रजातिका विरुवाहरु लगाउने, बस्न मिल्ने ठाउँ बनाउने र पर्यटक आगमन बढाउन हरियाली पार्कमा रुपान्तरण गर्ने योजना अगाडि सारिएको छ ।(उज्याले बाट साभार )

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका