श्रीपञ्चमीलाई ढँटेला फुलको स्वागत – Samacharpati Samacharpati श्रीपञ्चमीलाई ढँटेला फुलको स्वागत – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • श्रीपञ्चमीलाई ढँटेला फुलको स्वागत

श्रीपञ्चमीलाई ढँटेला फुलको स्वागत

श्रीपञ्चमीलाई ढँटेला फुलको स्वागत

कर्णबहादुर रोकाया, हुम्ला । श्रीपञ्चमी महिमा हिमाली जिल्ला हुम्लाको लागि संस्कृति र प्रकृतिलाई जोड्ने एक विशिष्ट पर्व हो । यो पर्वले हिउँदको अन्त्य र बसन्तको शुरुवात गर्ने सामाजिक, सांस्कृतिक तथा प्राकृतिक सीमारेखाको काम गर्दछ । बसन्तको आगमनलाई सांस्कृतिक लोकलहरीको माध्यमबाट पनि आह्वान गर्दै हिमालको विशेष वनस्पति ढँटेलाको फुलबाट हुम्लामा स्वागत गर्ने चलन समेत रहेको छ । यो दिनमा घरका लालाबालाहरूलाई अक्षराम्भ गर्ने नौलो गोरेटोको शुरुवात पनि गरिन्छ ।

हुम्ला लगायत कर्णाली क्षेत्रमा श्रीपञ्चमीमा यहाँका विशेषतः दमाई जातिले श्रीपञ्चमी गीत गाएर गाउँको घर घरमा बसन्त आगमनको सन्देश दिने गरेका छन् । यो समुहलाई स्थानीयहरूले आफुले वर्षभरी उत्पादन गरेका बाह्र बीज अन्न र अन्य वस्तुहरू दिएर स्वागत सत्कार गर्ने चलन रहेको छ । यो चलन पछिल्लो समय लोप हुँदै जान थालेको छ । यसमा सबै ऋतुहरूको महत्वलाई लोकलहरीको माध्यमबाट सेचतना जगाउने गरिएको सिमकोट २ ठेहे गाउँका खडक दमाईले बताउनुभयो ।

यहाँको सामाजिक धरातलमा श्रीपञ्चमी पर्वलाई शिशिर ऋतुको शुन्यताबाट बसन्त ऋतुको गर्मिलो तापक्रम शुरु हुने संगमद्वारमा रुपमा लिने गरिन्छ । यो समयमा यहाँको भूधरातलको तल्लो क्षेत्रमा बैजनी र खैरो रङको बाहुल्यता रहेको हुन्छ भने माथिल्लो हिमाली भूस्थलमा सेतो रङले आधिक्यता पाएको हुन्छ । यसैले पनि यो सेता रङ सुन्दर र शान्तको प्रतीक भएकाले पनि बसन्तलाई चाहिने शितलता, आद्रता र जलियांशको मुख्य स्रोत शिशिर ऋतुलाई विदाई गरेर वर्षभरीका लागि नयाँ आभाको रुपमा शुरु हुने बसन्तलाई हुम्लाको विशेष र विशिष्ट वनस्पति ढँटेलाको फुलले स्वागत गरिन्छ । यो वनस्पति पुसदेखि फागुनसम्म फुल्ने गर्दछ भने जेठ साउनसम्म फल पाक्दछ ।

हिमाली भेकको ३५ सय मिटरसम्म हुने यो वनस्पति यहाँको लागि सामाजिक, सांस्कृतिक, तथा आर्थिक उपार्जनको एक त्रिकोणात्मक महत्व बोकेको वनपैदावार हो । यसलाई हुम्लामा श्रीखण्ड, चन्दन र कुसको वैकल्पिक स्रोतका रुपमा अनिवार्य प्रयोग गर्ने गरिन्छ । यसले हिउँको सेतो च्यादरयुक्त भूखण्डमा सेतो फुल फुलाएर शुष्क हावापानीमा अक्सिजन पनि प्रदान गर्ने गर्दछ । विशेषतः बाह्रै महिना हरियो रहने यो वनस्पति विशेष प्रकारको हुने भएकाले यसको संरक्षण, सम्बद्र्धन, विकास, विस्तार र प्रचारप्रसार गर्नका लागि राष्ट्यिस्तरकै नीतिगत कार्यक्रमा राख्न सकेको खण्डमा हरित उर्जा, जैविक पयर्टन, वातावरण संरक्षणको माध्यमबाट समुदायले राम्रो आय लिन सक्ने सम्भावना रहेको भौगोलिक तथा जातिय वनस्पतिविद डा।मानवहादुर रोकायाको खोजको निष्कर्ष रहेको छ ।

हिमालमा हुने यो वनस्पतिलाई हुम्ली समाजले ढँटेलो भनेर चिन्दछ भने यसको अंग्रेजी नाम प्रीन्सेपीया हो । वैज्ञानिक नाम प्रीन्सेपीया युटिलिज रोयल हो । यो रोजेसी वानस्पतिक परिवारभित्र पर्ने काँडेदार झाडीयुक्त वनपैदावर हो । हुम्लामा यसको उपयोग जरा, काण्ड, पातपकर, फल, फुल सबै हुने गरेको छ । यो तीन मिटरभन्दा अग्लो हुने गर्दछ । यसमा धेरै प्रकारका लाभयुक्त रसायन हुने भएकाले पनि जैविक किटनाशकदेखि औषधीय प्रयोगको बहुउपयोगी मानिएको छ । यसको तेलबाट हुम्लीहरूले राम्रो आम्दानी लिने गरेका छन् ।

श्रीपञ्चमी पर्व र ढँटेलाको फुल एक आपसमा अन्योन्याश्रित रुपमा गाँसिएका संस्कृति र प्रकृतिका दुई फरक बिम्ब हुन् । यसले हुम्ली समाजलाई बाँच र बचाऊको सन्देश दिएको छ । यी दुबै पृथक बिम्ब भइकन पनि वातावरण, समाज र संस्कृतिको एक फरक फरक सन्दर्भ र निधि भइकन पनि एक विशिष्ट आयाम बोेकेको वनपैदावर भएकाले पटक पटक हुम्लाका सस र गैससहरूको चर्चा र परिचर्चाको वस्तु बन्ने गरेको हुम्ली युवा मानवशास्त्री राजबहादुर रोकायाले बताउनुभयो ।

श्रीपञ्चमीबाट नै बसन्त ऋतुको शुरुवात हुने भएकाले पनि किटपकरहरू सल्बलाउन थाल्ने समय पनि हो । यो एक समयरेखा हो । मौसमीपात्रो हो । जैविक निधिको विधि विधान हो । यसैले पनि श्रीपञ्चमी महिमा र ढँटेलाको फुल नेपाल र नेपालीका लागि नयाँ सन्दर्भ स्रोत बक्छ । यो वातावरण संरक्षण र सामाजिक संस्कारको नयाँ कुरा मानिएको छ । हामीले पनि हाम्रा संस्कारमा वातावरण संरक्षणका लागि उपयुक्त कुराहरूलाई ग्रहण गरेर नराम्रा कुराहरू कम गर्न गराउन यस्ता कुराहरूबाट सिक्नु जरुरी रहेको छ । हाम्रा चाडपर्वहरू सामाजिक संस्कर मात्रै हैनन् । जीवनजगतलाई चिन्न चिनाउने एक उदाहरण श्रीपञ्चमी र ढँटेलाको सन्दर्भ पनि मान्न सकिन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका