न्यायिक कार्यमा हुम्लाका धामीहरूको दैविक इजलास – Samacharpati Samacharpati न्यायिक कार्यमा हुम्लाका धामीहरूको दैविक इजलास – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • न्यायिक कार्यमा हुम्लाका धामीहरूको दैविक इजलास

न्यायिक कार्यमा हुम्लाका धामीहरूको दैविक इजलास

न्यायिक कार्यमा हुम्लाका धामीहरूको दैविक इजलास

कर्णबहादुर रोकाया, हुम्ला । “राजाको ऐनभन्दा खोलाको चैन ठूलो” भन्ने उखानलाई हुम्लाका धामीहरूले सार्थक बनाएका छन् । यहाँ शदीयौंदेखि दैवीक न्याय प्रणालीबाट फौजदारी र देवानी मुद्धाहरू छिनोफानो गर्ने गरेका छन् ।

सरकारले नागरिकलाई विभिन्न मानवीय यातना र असुरक्षाबाट सुरक्षा दिन आवश्यता अनुसारका विभिन्न निकायहरु गठन गर्ने गर्दछ । ती तत् तत् निकायहरूले समाजमा शान्ति, सुरक्षा, अमयनचयन, पादर्शिता, जवाफदेहिता र भ्रष्टचारमुक्त समाज निर्माणमा सहयोग गर्दछन् । तर नेपालमा सरकारको दुरदृष्टिको अभाव भनौं कि अझै पनि केन्द्रीकृत नीतिको परिणाम भनौं राजधानी र मोफसलमा यस्तो भिन्नता ज्यादै गहिरो खाडलको रुपमा रहेको छ ।


हुम्ला जस्ता नेपालका विभिन्न मोफसल क्षेत्रहरुमा जातिगत, भाषागत, संस्कारगत र अन्य प्रथाजन्य प्रचलनहरूले पनि दैनिक तथा सामाजिक रुपमा आइपर्ने ज्योतिषी, ग्रहदशा, विवाह, ब्रतबन्ध, मुद्धामामिला र अन्य कुराहरू गाउँठाउँका प्रशिद्ध देवताहरू जस्तैः “कालोसिल्तो, रामपाल, हंसपाल, बेताल, मष्टो, कैलास, महादेव, सर्की, ल्वासुर, हिल्छो, महाकाल, गुरा, मदानु” जस्ता विभिन्न देवताका धामीहरूले छिनोफानो गर्ने जानकारी थाली गाउँका गुमान रावलले दिनुभएको हो ।

ग्रामपालका रुपमा रहेका यी धामीहरूले विशेषतः झैझगडा, जारी, चोरी, जग्गा, अंश, ठगी र ज्यानमारा आदि प्रकृतिका फौजदारी र देवानी दुबै प्रकारका मुद्धा छिन्ने काम आफ्नो देवकीय अदातल “घरमाँडु ९नजिकको देवताको थान० र वनमाँडु ९टाढाको देवताको थान०” दुबै स्थानबाट छिनोफानो गर्ने गर्दछन् । यहाँ र यस्ता माँडुहरूबाट न्याय पाउनका लागि पीडितले पीडकलाई धेरैभन्दा धेरै नशियत र जरिवाना होस् भनेर दियो बालेर, पिँठ्युमा ढुङ्गा बोकी, मुखमा दुबो च्यापी, भुजपत्रको टोपी, काँडाको ओछ्यान, फेरेको गादो, मोसोको टिको लगाई रुदै कराउँदै कर जोड्दै धामीको अगाडि नतमस्तक भई प्रार्थना गर्नुपर्छ र गर्दछन् ।

कर्णालीका धेरै जसो स्थानीयहरूको मानसिक तथा परम्पराजन्य विश्वास अनुसार अदालतमा त पहुँचवाला र मुखाले हरतरहले प्रमाण जम्मा गरी आफ्नो पक्षमा मुद्धा जित्ने प्रयास गदर्छन् । तर निमुमासोझा भने त्यसै रहन्छन् । यसैले पनि धामीहरूप्रति जनविश्वास धेरै र अगाध रहेको छ । त्यसैले पनि “देवपुरी हुम्लो ब्रह्मपुरी जुम्ला” भन्ने उखानले पनि मान्यता पाएको खर्पेलगाउँका वयोवृद्ध जानमान जीतबहादुर शाहीको पुष्ट्याईँ रहेको छ ।

द्वापर र त्रेतायुगमा शास्त्रमा उल्लेख भए झैँ यो हिमवत् खण्डको उत्तरी भाग हुम्ला दरा ९हाल जिल्ला०मा राक्षसी प्रवृत्तिको बोलवाला भएकाले भगवाने श्रीशंकरलाई उनका भक्तहरूले प्रार्थना र स्तुति गर्दा श्रीशंकरजीले भन्नु भयो हे सेवकहरू तिमीहरू आफ्नो नित्यकर्म अनुसार चार पूर्णिमा र चार औंसीमा कर्णालीको बगरमा गई मेरो आराधना गर । म देवसभाबाट त्यस्ता खराव आत्मा र दृष्कर्मीहरूलाई तह लगाउन “बाह्र भाई मष्टो र नवदुर्गा भवानी”लाई पठाउँछु भन्ने आज्ञा भए बमोजिम नै “देवपुरी हुम्ला” भएको हो । त्यो वेलादेखि नै यो क्षेत्रमा दैवी न्याय प्रणाली शुरु भएको हो भन्ने स्थानीयस्तरमा चलेको मान्यता पाइन्छ ।

देवता हामीहरूको बाबु हो । हाम्रो कुलस्वामी हो । हाम्रो न्यायधिश र न्यायकर्ता पनि हो किनभने हामी माथि भएको दश बीस पुस्तासम्मको पुरानो अन्याय, अत्यचार र जालफरेवलाई दैवी दृष्टिबाट दुधको दुध पानीको पानी हुने गरी छानबिन गर्दै न्याय दिन्छ भन्ने स्वीकारोक्ती सिमकोट गापा वडा नं ६ खाद्दक गाउँका मुगाले रावतको रहेको छ ।

हुम्लाका देवताहरू विष्णुगादीबाट इन्द्र, इ्न्द्रगाधीबाट देवताहरूको उत्पत्ति भएको हो । यिनीहरूले आफ्नो अवतार ढुङ्गा, माटो, पानी र पशुपन्छी सबैमा औतारिदा पनि ‘सतभित्’ देखाउन नसकी आजित भएपछि अन्तिममा मानिसमा प्रतिस्थापन हुँदा सास फेर्ने र नफेर्ने सबैको उद्धार गर्न सकेकाले नै मानव समाजमा न्यायिक काममा हात बढेको सन्दर्भ विभिन्न धामीहरूको पडेली ९लामो वृतान्त०बाट थाहा हुन्छ ।

यसरी हुम्ला लगायत कर्णाली क्षेत्रभरी नै “मष्टो र मष्टोइतरका देवाताहरूलाई कुलस्वामी, मुलस्वामी, क्षेत्रस्वामी, जातस्वामी, न्यायस्वामी, भूमिस्वामी, कर्मस्वामी, धर्मस्वामी, मर्मस्वामी र देवास्वामी” मान्ने भएकाले पनि “गाथ गाथमा मष्टो घरबारीका बस्तो” भन्ने लोकोक्ति प्रचलनमा आएको सिमकोट गापा वडा नं ५ खाद्दक गाउँका गुराका डाँग्री बलजीत कामीको भनाई रहेको छ ।

यस्तै हुम्ला लगायत कर्णालीका सयौं गाउँहरूमा बसोबास गर्ने धेरै मानिसहरूलाई तपाई अदालतमा नगएर किन रु देवताको माँडुमा जानुहुन्छ भन्ने जिज्ञासामा राख्दा अदालतको लामो प्रक्रिया, झन्झटिलो, पैंशाको दोहन, स्थलगत अध्ययनको कमी, शक्ति र सत्ताको कुरा मान्ने र निष्पक्षा नहुने जस्ता कुराहरूबाट आजित भएका प्रशंगहरू जोडिन आउँछन् । किनकी पढेलेखेकाहरू अनेकौं तरिकाले प्रमाण जुटाएर अड्डा९अदालत० जान्छन् । यसको विकल्पमा यो न्यायिक पद्धतिले स्थान पाएको देखिन्छ । धेरै पद्धतिबाट फाष्टट्याक, सम्मोहन, जादुटुनामुना र स्थानीय भैभलादमीको बयानका आधारमा मुद्धा छिनोफानो गर्ने गरिन्छ ।
कतिय सन्दर्भमा “खोलाको चैन (रीतिथीति)” असान्दर्भिक हुँदाहुँदै पनि शिक्षाको कमी, सांस्कृतिक सन्दर्भ, पुरातन मान्यता र अगाध विश्वासको कारणले यस्तो भएको हो । तर यो रिक्ततालाई सरकारी मानो खाएकाहरूले स्थानीयतालाई ध्यान दिएर सचेतनाका कार्यक्रम सञ्चालन गर्नु गराउनुपर्ने भए पनि यस्तो हुन नसक्नु राजाको काम कहिले जाला घाम जस्तै भएको हुम्लाका संघीय सांसद छक्कबहादुर लामा बताउनुहुन्छ ।

केही दशक अघि बरगाउँ निवासी लोप्चाङ्ग लामा र बुराउँसे निवासी गुरक्याप लामाको जारी मुद्धामा छिप्राको ल्वासुर देवताको धामीले ८० हजारमा छिनोफानो गर्दा दुवै पक्ष राजीखु्शी साथ दिनलिन तयार भएको घटना कर्मचारी मिलन केन्द्र हुम्लाको मुखपत्र “हुम्ला संगम”मा उल्लेख भएको प्रतिनिधि लिखत सन्दर्भ हो । तापनि यस्ता घटनाहरू दैनिक सयौंका संख्यामा छिनोफानो हुने गरेका छन् । यिनीहरूलाई लिखत गरिएको भए हालसम्म हजारौं लाखौं पुग्ने देखिन्छ ।
हुम्ला लगायत कर्णालीमा गाउँगाउँमा रहेका मष्टो र मष्टोइतरका देवताका माँडुहरूलाई “देवकीय न्यायलय” मानिन्छ भने धामीहरूलाई “देवकीय न्यायधिश” पनि । र त एकदशीदेखि पूर्णिमा र औसीसम्म विभिन्न प्रकार पुजाआजा गर्ने गराउने चलन रहेको स्याँडा गाउँका ठूला देवताका धामी रंगविर बुढाले जानकारी दिनुभएको छ ।

पछिल्लो समय संघीयताको शुरुवातपछि विभिन्न नीतिगत र विधिगत तारतम्य नमिल्दा कानुनी र व्यावहारिक सन्दर्भ झिएका छन् । यी कुराहरू देशको कानुन बमोजिम अवैधानिक, असान्दर्भिक र अव्यावहारिक भइकन पनि लागु हुनुमा राज्यका जिम्मेवार तालुकदार निकायको कमजोरी मान्न सकिन्छ । कानुनतः “कानुनको अज्ञानता कसैलाई क्षमायोग्य हुँदैन ।” तर यसको बारेमा जानकारी दिने कसले रु जागिर खानेहरू तलब पकाएर जान्छन् समाज जस्ताको तस्तै रु मारमा पर्ने नेपाली नागरिकहरू कतिसम्म पिल्सिने यो सोचनीय पक्ष रहेको छ । यसैको एक रिक्तता र निरन्तरता हुम्लाको दैवी न्यायिक प्रक्रियालाई मान्न सकिन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका