काठमाण्डौ,११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको उहाँको दाबी छ । आज अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेको बताउनुभयो। ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु भएको समेत उहाँको आरोप छ ।
त्यस्तै केपी शर्मा ओलीले यसो भनिरहँदा सत्ताको खेल भइरहदा यता नेपाली भने ऋणले चुर्लुम्मे डुबेका छन । नेपाल सरकारको सार्वजनिक ऋण बढेर १४ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयका अनुसार गएको मङ्सिर महिनासम्म सरकारको सार्वजनिक ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ पुगेको हो ।यो रकम गएको साउनको तुलनामा ८८ अर्ब २० करोड रुपैयाँले धेरै हो ।सरकारको कुल ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँलाई अहिलेको नेपालको जनसङ्ख्या तीन करोड २२ लाख एक हजार सात सय पाँच जनाले भाग गर्दा हरेक नेपालीको भागमा ४६ हजार तीन सय ५४ रुपैयाँ ऋण पर्न आउँछ ।