काठमाडौँ, ७ माघ । प्रधामन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीभित्रको विवादमा प्रतिनिधिसभा विघटन गरेको वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभएकाे छ । पार्टीभित्रका नेताहरूलाई देखाइदिनका लागि ओलीले प्रतिनिधिसभा विघटन गरेको भण्डारीको भनाइ थियो ।
पार्टीभित्रको विवादमा संसद्माथि प्रहार गर्नु संविधानविपरीत भएको भण्डारीको भनाइ थियो । उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्री केपी ओली र उहाँको पार्टी नेकपाको लडाइँमा संसद् मिचिएको छ । छोरी कुटेर बुहारी तर्साउने काम केपी ओलीले गरेका छन् । पार्टीका मान्छेलाई देखाइदिन ओलीले संसद् विघटन गरेका हुन् ।’
जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभाको के कसुर थियो र विघटन गर्नुपर्यो भनेर वरिष्ठ अधिवक्ता भण्डारीले प्रश्न गर्नुभएकाे थियाे ।
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलील सर्वसत्तावाद लाद्न खोजेको पनि भण्डारीको तर्क थियो । प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाहरूको सुनुवाइका क्रममा संवैधानिक इजलासमा बुधबार वरिष्ठ अधिवक्ता भण्डारीले भन्नुभयाे, ‘उहाँले जनताको वारेस (संसद्) को विश्वासमा काम गर्नु पर्छ । जब अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा भयो संविधानमा नभएको अधिकार प्रयोग गरेर जनताको वारेसलाई स्वाहा गर्ने ?’
केपी ओली प्रधानमन्त्री मात्रै नभएर नेकपाको अध्यक्ष पनि भएकाले पार्टीले कारबाही गर्न पाउने भण्डारीको भनाइ थियो । उनले आफूलाई कारबाही गर्न खोज्दा जनप्रतिनिधिको संस्था संसद्माथि प्रहार गर्नु गैरसंवैधानिक भएको बताउनुभयाे ।
आफूलाई काम गर्न नदिनेलाई कारबाही गर्नुपर्नेमा प्रतिनिधिसभालाई विघटन गर्नु सही नभएको भण्डारिको भनाइ थियो । ‘प्रधानमन्त्रीले काम गर्न दिएन भन्नु हुन्छ । काम गर्न नदिनेलाई उहाँले कारबाही गर्न सक्नुहुन्छ नि ! तर जनताको वारेसलाई स्वाहा गर्ने ?’
५ वर्षे कार्यकाल भएको प्रतिनिधिसभालाई काम गर्न दिनुपर्ने र प्रधानमन्त्रीले संसद्को विश्वासमा सरकार सञ्चालन गर्नुपर्ने वरिष्ठ अधिवक्ता भण्डारिको भनाइ थियो ।
भण्डारीले यसअघि संसद् विघटनका बेला सर्वोच्च अदालतले सुनाएका फैसला पनि स्मरण गराउनुभएकाे थियाे । उहाँले गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले गरेको संसद् विघटनका बेला सर्वोच्चले सुनाएका फैसला पढेर सुनाउन आग्रह गर्नुभएकाे थियाे ।
नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङको तर्फबाट बहसमा आएका प्रधानमन्त्रीले व्यवस्थाअनुसार संसद्को विश्वासमा अगाडि बढ्नुपर्ने बताउनुभयाे ।
source:ekantipur