कर्णबहादुर रोकाया, हुम्ला, २ माघ । खार्पुनाथ गाउँपालिकामा रहेको शैव गुफा खार्पु दोभानमा प्रत्येक वर्षको माघे सँक्रान्तिका दिनमा माघ नुहाउने पर्व लाग्ने गरेको छ । यहाँ हुम्लाका विभिन्न गाउँबाट सयौं भक्तालु तिर्थयात्रीहरू माघे
स्नान गर्न आउने गरेका छन् ।
विशेषतः माघ महिनालाई धर्मी महिना मानिने भएकाले पनि यहाँ रात्तभरी जाग्राम बसेर नुहाउने काम गर्दा मनोकांक्षा पुरा हुने र आफुले मागेको वरदान प्राप्त हुने जनविश्वास रहेको छ ।
यो दिनमा टाढा टाढा रहेका आफन्तहरूसँग पनि भेटघाट हुने भएकाले एकआपसमा मेलमिलाप गर्ने पर्वका रुपमा पनि लिने गरिएको माँजा गाउँका गोकुल शाहीको अनुभव रहेकोे छ ।
परापूर्वकालमा सतीदेवीले आत्मदाह गरिसकेपछि महादेव सतीदेवीको पार्थिव शरीर बोकेर व्यथित आत्मलाई शान्त गर्न यायावरमा निस्केका बेला सतीदेवीको काखी अर्थात् स्थानीय भाषामा खार्पा खसेको यो स्थान भएकाले यसको नाम खार्पाबाट खार्पु हुँदै खार्पुनाथ भएको रहेको खर्पेल गाउँका युवा जनकबहादुर शाहीले बताउनुभएको छ ।
हुम्ला कर्णालीको उत्तरी काखमा रहेको यो एक शिव दर्शन दिने तिर्थस्थल हो । यसको वरिपरी अनेकौं प्रकारका पशुपन्छीका आकारप्रकार र जनश्रुतीसँग छरिएका अनेकौं कथाहरू रहेका छन् ।
यसै गरी त्रिकोणात्मक आकारको रुपमा रहेको खार्पुनाथको अर्को अर्थ त्रिकोण अर्थात् तीनकुने स्थल भएकाले यसको नाम खार्पुनाथ रहेको पनि भन्ने गरिएको जानकारी खर्पेल गाउँकै अर्कै युवा प्रकाशबहादुर शाहीले जानकारी दिनुभएको छ ।
कुनै बेला शिवजी मृग भएर यहाँ विचरण गरी रहेको अवस्थामा पार्वती पनि सुन्दर मृगीनी भएर यहाँ आएर खार अर्थात नुनिलो वस्तु खाई शिवजीलाई चिनेर कैलासकुटमा लिएर गएको पनि लोककथन रहेको छ । यहाँ हिउँदका लागि आवश्यक पर्ने तातोपानी, पारिलो घाम र उपयुक्त स्थान मानिएकाले पनि ऋषिमुनी तथा तपस्वीहरूका लागि आकर्षणको केन्द्र पनि मानिँदै आएको छ ।
पौराणिक कालमा यो स्थानमा सात हजारदेखि सत्तरी हजार ऋषिहरूले पटक पटक विभिन्न प्रकारका धार्मिक सभाहरू पनि सञ्चालन गरेका थिए भन्ने स्थानीय जनश्रुति पनि प्रचलन पनि रहेको छ ।
यसका साथै यो तिर्थस्थलको व्याख्या र चिनारी स्कन्द पुराणमा पनि उल्लेख भएको जानकारी विभिन्न योगी तथा ऋषिमुनी हरू का दुर्लभ लिखतहरूमा पाइएको सन्दर्भ नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको भनाई रहेको छ ।
विशेषतः कर्णालीमा कल्याल वंश स्थापना गर्ने बलीराज साई र उनका तपस्वी गुरु चन्दननाथ पनि शैवमार्गी भएकाले उनैको सरसल्लाह र सहजीकरणमा यो स्थानको पूर्नःखोज भएको कुरा स्थानीय जनश्रुतिलाई केलाउँदा थाह पाउन सकिन्छ ।
यहाँ माघे सँक्रान्तिको अघिल्लो दिन अर्थात पुसको अन्तिम रात्त खर्पेल र यीँचेलहरू जम्मा भएर विभिन्न प्रकार पौराणिक गाथा, कथा र व्यथा समेटिएको भारीगीत, माँगलगीत, फाग, धमारी, चाँर्ची र चुट्कीला जस्ता गीतहरू गाउने गर्दछन् । यी गीतहरूमा शिव पार्वती, बाह्र भाई मष्टो, नवदुर्गा भवानी तथा देवदेवीको प्रशस्ती गाइन्छ भने कल्यालको पुस्तैनी गाथा पनि उल्लेख गरिन्छ ।
यसका अलवा शिवजीको महिमाको पनि व्याख्या गर्ने गरिएको छ । खार्पुनाथ हुम्ला कर्णालीको एक प्रमुख शैव गुफा पनि हो । यो तिर्थस्थलसँग यहाँका कल्यालहरू विशेष गरी खर्पेल गाउँ र याँचु गाउँका ठकुरीहरूले आफ्नो पुख्र्यौली पर्वका रुपमा मान्ने गरेका छन् ।
यसैले पनि यिनीहरूको रेखदेख र अगुवाईमा यो तिर्थस्थलको व्यवस्थापन हुने गरे पनि पछिल्लो समय यसको रेखदेखप्रति उदासिनता बढ्दै जानु चिन्ताको विषय बन्न गएको याँचु गाउँका बासिन्दा ज्वालाराज शाहीले बताउनुभएको छ ।
हुम्लाको सामाजिक जनजीवनमा नाथ अर्थात् शैव सम्प्रदायको उल्लेख्य महिमा र प्रभाव रहेकाले नै देवपुरी हुम्लो ब्रह्मापुरी जुम्लो भन्ने उखानले चर्चा र परिचर्चा पाएको छ । यसैको एक नमुना तिर्थस्थल हो खार्पुनाथ । तर पनि यसको हुनु पर्ने जति प्रचार प्रसार जानकारी हुन सकेको छैन ।
हुम्लामा रल्लिङ्गनाथ र खार्पुनाथ विशेष र शैव सम्प्रदायका महान् तिर्थस्थलहरू हुन् । यहाँको दर्शन र भक्तीले जन्मजन्मान्तर को पाप नष्ट हुन्छ भन्ने मान्यता रहेको छ । यसका साथै मनले खोजेको र रोजेको वर पनि प्राप्त गर्न सकिन्छ भन्ने जनमान्यता रहेको सिमकोट गाउँकी लक्ष्मी रोकायाको विश्वास छ ।
प्रत्येक वर्षको माघे सँक्रान्तिमा स्नान गरेर विभिन्न प्रकारका कलुष भावनाबाट मुक्ति पाउने राम्रो तिर्थस्थल हो खार्पुनाथ । यसैले तपाई हामी पनि यो जैविक र आदिम स्थलमा पुगेर एक पटक भए पनि ग्रामीण तथा तिर्थ पर्यटनलाई साथ दिने हो कि रु जसबाट हुम्ला कर्णालीको पर्यटन व्यवसायमा केही मात्रा भए पनि सहयोग र योगदानको लागि सहभागी होऔं र अरुलाई पनि सहभागी बन्न लगाउने काममा हातेमालो गरौं ।
यसबाट हाम्रा गाउँघर वरपर रहेका विभिन्न प्रकार सामाजिक तथा सांस्कृतिक स्थानको प्रचार प्रसारमा केही मात्रामा भए पनि योगदान पुग्ने छ । खार्पुनाथको फोटो यस अघिको प्रयोग गर्नुहोला र फोटोमा लोगोको पनि राख्नुहोला ।