अग्नी पुजाको उत्कृष्ट पर्व भुओ औंसीको महिमा र हुम्ली समाज – Samacharpati Samacharpati अग्नी पुजाको उत्कृष्ट पर्व भुओ औंसीको महिमा र हुम्ली समाज – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • अग्नी पुजाको उत्कृष्ट पर्व भुओ औंसीको महिमा र हुम्ली समाज

अग्नी पुजाको उत्कृष्ट पर्व भुओ औंसीको महिमा र हुम्ली समाज

अग्नी पुजाको उत्कृष्ट पर्व भुओ औंसीको महिमा र हुम्ली समाज

कर्णबहादुर रोकाया,  हुम्ला, २ माघ । आगोको महिमा गाउने हुम्ली पर्व हो भुओ । हुम्लामा ठूलो भैलो पनि भन्ने गरिन्छ । यो पर्वलाई यहाँ बसोबास गर्ने खशान र जडानमुलका बासिन्दाहरूले अति सम्मानका साथ मान्ने गरिन्छ । यसैले पनि हुम्ला र हुम्लीहरूका लागि भुओ अनेकतालाई एकताबद्ध गर्ने पर्व हो ।

मानव जीवनका लागि आवश्यक पर्ने पञ्च भौतिक भूतत्वमध्ये आगोको चर्चा र परिचर्चा जानी नजानी भएको छ । यो पुसे औंसीमा मनाइन्छ । हुम्ला सांस्कृतिक तथा प्राकृतिक रुपले विविधतायुक्त भूगोल हो । यहाँको समाज एकतामा अनेकताको प्रवाहमा बगेको छ भने अनेकतामा एकताले बास गरेको छ ।

यसैले पनि चराचर जगत्मा बस्ने मानवका लागि पञ्च भौतिक भूतत्वमध्ये आगोको स्थान उच्च रहेकोछ । विशेषतः हुम्ली समाजमा आगोको ठूलो पहिचान दिनु परेमा भुओ भन्ने गरिन्छ । पुुसे औँसीको अघिल्लो दिन गाउँ गाउँमा बनाइएका भुओखाडोमा वनबाट ठूला ठूला सुको काठका मुँडाहरू ल्याउने गरिन्छ । त्यसमा प्रत्येक घर घरबाट पनि दाउरा तथा मुँडा जम्मा गरेर विशाल खात बनाइने जानकारी सिमकोट गापा वडा नं २ का सूर्यमणि वोहराले जानकारी दिनुभयो ।

चतुर्थदशीका बेलुका घर घरमा सगुनपात र विशेषतः यो पर्वमा सकभर मासु अनिवार्य खाने गरिन्छ । यदि मासु खाएन भने मुसाको जन्म पाइन्छ भन्ने जनविश्वास रहेकोछ । बेलुका सगुनपात खाएर लोग्ने मान्छेहरू आफ्नो कटुम्ब पर्ने गाउँ वा टोलमा हातमा सल्लाको झरो अर्थात् दियालोको राँको बोकेर पानी माग्दै विभिन्न प्रकारका अश्लिल शब्दहरू बक्ने चलन छ भने
महिलाहरूले प्रतिकारमा ती कुटुम्बका लोग्नेमान्छेहरूलाई पानीमा विभिन्न प्रकार कुराहरू माटो, गोबर र अन्य वस्तु मिसाएर पानी छर्ने गरिन्छ ।

यदि आफ्नो गाउँमा कुटुम्ब नभएमा घर घरबाट राँको निकालेर प्रकृति र संस्कृति सम्बद्ध प्राचिन गीतहरू गाउँदै प्रशस्ती गाउँने गरिन्छ । यो प्राचिन गीत गाउँदा मानवको सृष्टिको जन्मदेखि देवदेवीका विभिन्न अवतारहरूका साथै मानस कैलाश देखि मुख्य मुख्य तीर्थस्थलहरूको बखानको महिमा गाइन्छ भने आगो, पानी, हावा, आकाश र माटोको उपादेयता र प्रयोगको बारेमा जानकारी लिनेदिने समेत गरिने खार्पुनाथ गाउँपालिका वडा नं ५का वयोवृद्ध जीतबहादुर शाहीले बताउनुभयो ।

हुम्ली खशानमुलका बासिन्दाहरूले भुओ पर्व मनाउँछन् भने हुम्ली जडानमुलका बासिन्दाहरूले विश्वमानव उत्पत्ति हुँदा प्रयोग भएका विभिन्न प्रकारका सांकेतिक रेखाहरूको आदिम तथा समष्टिगत रुप फेर मनाउने चलन रहेको छ ।

औंसीको अघिल्लो रात्ती घर घरमा विभिन्न प्रकारका सगुनपात गरेर फेर अर्थात् बारो लेख्ने चलन रहेकोछ । यसलार्ई माघे संक्रान्तिमा मेट्ने गरिन्छ ।

तर यो वर्ष मलामाँसका कारण एक दिनको फरकमा भुओ र माघे संक्रान्ति परेको छ । हुम्ली समाजमा भुओलाई सामाजिक एकता र सांस्कृतिक विविधता दिने पर्व मान्ने गरिन्छ । यसैले पनि यहाँका यी हिउँदमा पर्ने विभिन्न प्रकार चाडपर्वहरूमा भुओको महिमा अरुभन्दा पृथक रहेको छ ।

यो विशेषतः अग्निको महिमा गाउने पर्व भएकाले पनि हिउँदको माइनस् डिग्री तापक्रम हुने हिमाली भूभागमा आगो र मानवीय जनजीवनका अवयवहरूलाई यादगार गर्ने गराउने भुओ पर्वका बारेमा खाशै खोजअध्ययन अनुसन्धान नहुनु आफैमा एक विडम्बना भएको हुम्ली खोजकर्ता छेवांग लामाको मत रहेकोछ ।

हुम्ली जनजीवनमा प्रचलित कि दुई (जोडी) कि रुई (लुगा) कि फुई (आगो) भन्ने उक्तिले सर्वमान्यता पाएको छ । यसैले पनि हुम्ली समाजमा आगोको महिमाका बारेमा जानकारी लिने दिने पर्व भुओको बारेमा खोजीनीति गर्नु गराउनु आजको आवश्यकता हो ।

साथै आन्तरिक तथा बाह्य पयर्टनको विकास र विस्तारका लागि पनि एक मुख्य स्रोत र सन्दर्भ बन्ने सक्नेछ हुम्लाको भुओ पर्व । जय भुओ पर्व । जय अग्नीदेव । हामी लागौं हाम्रा संस्कार र संस्कृति जोगाउने अभियानमा । यसका लागि हाम्रा पर्वहरू सहायक बनेर आम्दानीका स्रोतहरू पनि बन्नेछन् हुनेछन् । यसको एक आधार बन्न सक्नेछ हुम्लाको भुओ पर्व ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका