फेसबुके डाँडाबाट माँजा गाउँलाई नियाल्दा – Samacharpati Samacharpati फेसबुके डाँडाबाट माँजा गाउँलाई नियाल्दा – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • फेसबुके डाँडाबाट माँजा गाउँलाई नियाल्दा

फेसबुके डाँडाबाट माँजा गाउँलाई नियाल्दा

फेसबुके डाँडाबाट माँजा गाउँलाई नियाल्दा

कर्णबहादुर रोकाया, हुम्ला, २ माघ । हुम्ला खार्पुनाथ गाउँपालिका वडा नं ४मा पर्ने माँजा गाउँको लेखमाँजा जाने बाटोमा भवानीको थान अर्थात मन्दिर रहेको छ । यसलाई आजभोलि गाउँका स्थानीयहरूले फेसबुके डाँडो भनेर नयाँ नामाकरण गरेका छन् । किनकी यहाँबाट आजभोलि फोरजी सेवा चल्ने गरेको छ ।

माँजा गाउँ हुम्लाको जैविक विविकताले सम्पन्न एक हुम्लाको मुूख्य गाउँ पनि हो । यहाँ रोकाया र रावत क्षेत्री, कल्याल ठकुरी र केही दलितहरूको बस्ती रहेको छ । माथि लेख तल औल रहेको यो गाउँलाई स्थानीय चलन अनुसार स्याँली पाखा अर्थात् हिउँदको समयमा चिसो हुने ठाउँ पनि भनेर चिनिन्छ ।

यो क्षेत्र कृषि तथा पशुपालन व्यवसायका लागि राम्रो मानिन्छ । यहाँका ९५ प्रतिशत स्थानीयहरूको मुख्य पेशा पनि कृषि र पशुपालन नै हो । अन्य विभिन्न प्रकारका पेशामा ५ प्रतिशत आवद्ध भएको जानकारी स्थानीयबासी मक्क रोकायाले दिनुभएको छ ।

पछिल्लो समय संस्कृति माथि विभिन्न प्रकारका प्रविधिले हाली मुहाली गरिरहेको अवस्थामा यहाँका गाउँलेहरू पनि विशेषतः मोबाइल र इन्टरनेट प्रविधिसँग हातेमालो गाँसेर आफ्नो दैनिक तथा व्यावहारिक कुराहरूलाई सहज बनाउनका लागि जानी नजानी आकर्षित भएका छन् । यसैको नयाँ खोज र स्थान हो माँजा गाउँको भवानी डाँडो । यो डाँडोले पछिल्लो समय प्रविधि प्रयोगको डाँडोको रुपमा चिनिरी पाएको स्थानीयबासी नन्दरुपा शाहीको मत रहेको छ ।

उहाँले भन्नु भयो–हामी बुढाबुढी पनि आफ्ना आफन्त र छोराछोरीहरूसँग अनलाइन कुराकारी गर्न र भिडियो च्याट गर्न यही डाँडोमा जाने गरेका छौं । अरु ठाउँबाट मोबाइल मात्र लाग्छ । यहाँ गए पछि फेसबुक र इन्टरनेट चल्ने गरेकाले फुर्सदको समयमा प्रविधिसँग मीतेरी गाँस्ने ठाउँ बनेको छ ।

यहाँबाट खार्पुनाथ, पञ्चमुखी, भवानी, चोखेचौर लगायत वरपरका विभिन्न गाउँ तथा दर्जर्नौ स्थानहरूलाई आँखाको ज्योतिले स्पर्श गर्न सकिन्छ भने प्रविधिको प्रयोग गरेर संसारलाई नियाल्न सकिन्छ । यसलाई प्रविधिको प्रयोग गर्न गराउनका लागि एक अवलोकन थुम्काको रुपमा विकास र विस्तार गर्न सकेमा आन्तरिक र बाह्य पर्यटनका लागि आकर्षण गर्न सकिने सम्भावना धेरै रहेको छ ।

खार्पुनाथ गाउँपालिकाको वडा नं ४ मा पर्ने यो ठाउँ गाउँको पूर्व दक्षिणमा लम्पासार परेर हुम्ला कर्णालीको किनारदेखि दुधेकुण्डको शिरसम्म अमूर्त चित्रकला झैँ तानिएको एक अनौठो र देवकीय स्थान पनि हो । यहाँ नवदुर्गा भवानीका नौ बहिनीहरू प्रति दिन र बेला बेलामा हिंड्ने गरेको स्थानीय जनश्रुति भएकाले पनि यसलाई भवानी डाँडो भन्ने गरिएको छ ।

आजाभोलि यो डाँडोलाई स्थानीयहरूले फेसबुके डाँडाको रुपमा नामाकरण गर्न थालेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका