काठमाडौं, २९ पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिनुभएकाे छ ।
प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गर्यो, काम गर्न दिएन भनेर दाबी गरेको भन्दै उहाँले भन्नुभयाे, ‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’
बरु पार्टीले यसो गरौं भन्दा त्यसविपरीत चलेको उहाँको आरोप छ । देश कोरोना महामारीमा रहेका बेला सबैलाई समेटेर संयन्त्र बनाउँ भन्दा आफूलाई व्यंग्य गर्दै हिँडेको उहाँले स्मरण गर्नुभयाे । प्रचण्डले अघि भन्नुभयाे, ‘पार्टीका नेताहरुको विश्वास लिन किन सकिँन भनेर केपी ओलीले हेर्नु पर्दैन ?
यदि ओलीले भनेको जस्तै पार्टीले काम गर्न नदिएकै भएपनि उहाँका सामू नेताहरुको विश्वास लिने वा बहुमत सदस्यहरुलाई गो अहेड भनेर राजीनामा दिनुपर्ने उहाँले बताउनुभयाे ।