आज सफला एकादशी ब्रत – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७

आज सफला एकादशी ब्रत

आज सफला एकादशी ब्रत

काठमान्डाैँ, २५ पुस । हिँउदका एकादशीहरुको श्रृखला चलिनैरहेको छ । नेपालमा जाडो बढ्दो छ,  सखारै बिहान बलेसीबाट झरेका शीतका थोपाहरु बग्रेल्ति देखिन्छन्, बारीमा आलुका बिरुवाहरु झप्सीले बिगार्ला भन्ने चटारो पनि एकातिर छ ।

धान्ने पूर्णे पछिको एकादशी, अर्थात धान भित्राएर अन्न पूजा गरिसकेपछिको पहिलो एकादशीमा स्वागत छ । यस एकादशी हो, सफला एकादशी । नयाँ अन्नहरुलाई बिधिवत भित्राएपछि आज चाँही अन्न नखाएर, चोखोनितो गरेर एकादशी व्रत बसिने चलन छ ।

एकादशीका दिन भगवान् विष्णुको श्रद्धा भक्ति एवं विधीपूर्वक पूजा गरिन्छ । पूण्य मन्त्रहरुद्वारा देवदेवेश्वरहरि बिष्णुको पूजा आराधना गरिन्छ भने राती जाग्राम पनि बसिन्छ । यस एकादशीको ब्रतपछि गूरु ब्राम्हणहरुलाई दिप अथवा दियो दान गर्नु फलदायी मानिन्छ ।

अरु एकादशीमा झै सफला एकादशीमा पनि सात्विक आहार व्यवहार गरी ब्रत बस्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाई भगवान बिष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्नु पर्दछ ।

भोलीपल्ट द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै ब्रतालुले भोजन गर्नु पर्दछ । यसप्रकार सफला एकादशी ब्रत विधी पुरा गरेको खण्डमा अखण्ड फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

बर्षको चौबीसवटा एकादशी मध्ये सफला एकादशी पौष महिनाको कृष्णपक्षको एकादशी हो । सफला अर्थात सफल हुने, समृद्धि पाइने र कर्मको यथोचित फल पाइने ।

तसर्थ सफलता र खुशी चाहने जोकोहीले पनि यस एकादशीको व्रत लिन जरुरी रहने कुरा धर्मशास्त्रमा उल्लेख छ । यस एकादशीको ब्रत बस्ने सवैलाई सफलता प्राप्त हुने भएकोले यस एकादशीको नामै सफला एकादशी भएको हो ।

सफला एकादशीको ब्रतको फल ठुलाठुला महायज्ञभन्दा पनि धेरै हुने धार्मिक विश्वास रहेको छ । पद्मपुराणमा बताइए अनुसार सफला एकादशी ब्रतको अनुकम्पा सयौं महायज्ञहरुभन्दा धेरै हुन्छ । सफला एकादशीलाई पापहरुबाट मुक्ति र कल्याणको एकादशीको रुपमा पनि लिइन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका