सङ्खुवासभा, २४ पुस । भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।
सङ्खुवासभा मकालु गाउँपालिकाका १५÷१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो ।
उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिनुभयो ।
सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँ लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।
शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको रु नौ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा दार्जिलिङ पठाएको सोधपुछका क्रममा खुलेको ढकालको भनाइ छ ।
उद्धार गरिएका तीनै किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएको छ । पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव बेचबिखन हुने क्रम बढ्दै गएको छ ।