हिउँ पर्दा हुम्लीबासीहरू खुशी, कृषि कर्म राम्रो हुने आशा – Samacharpati Samacharpati हिउँ पर्दा हुम्लीबासीहरू खुशी, कृषि कर्म राम्रो हुने आशा – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • हिउँ पर्दा हुम्लीबासीहरू खुशी, कृषि कर्म राम्रो हुने आशा

हिउँ पर्दा हुम्लीबासीहरू खुशी, कृषि कर्म राम्रो हुने आशा

हिउँ पर्दा हुम्लीबासीहरू खुशी, कृषि कर्म राम्रो हुने आशा

कर्णबहादुर रोकाया, हुम्ला, २१ पुस । लामो समयसम्म हिउँ नपर्दा चिन्तीत भएका हुम्लीहरू  दिनमा हिउँ पर्दा खुशी भएका छन् । यो हिउँले हुम्लामा चल्दै आएको पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैत्रको हिउँ फात्फुत भन्न लोकसुसेलीलाई सम्बोधन गर्न सफल भएको छ ।

माथिको लोकसुसेलीको भावार्थले दिएको सन्देश जस्तै हुम्लाको समष्टिगत कृषि कर्मका लागि हिउँको धेरै ठूलो सहयोग र भूमिका रहेको छ । यहाँ हिउँलाई एक साधन मात्र नभएर साध्यको समष्टिगत रुप मानिदै आएको छ ।

यसैले पनि हिउँ हुम्लाको लागि एक अनिवार्य र अपरिहार्य वस्तु भएकाले हिउँदमा कम्तीमा पनि पाँच दश फिट हिउँ पर्नु अति राम्रो र शुभ संकेत मानिदै आएको हुम्ला रीप गाउँका अगुवा जसबहादुर महताराको मत रहेको छ ।

प्राकृतिक तथा सांस्कृतिक रुपमा पनि हिउँलाई हुम्लाको संरक्षक, चौकीदार, रक्षक, सिंचाईको मुख्य स्रोत, वनस्पतिको थर्ममिटर तथा हाइड्रोथेरापीको मुलतत्व मानिएको छ । यसकारण पनि हिउँ एक प्राकृतिक सुन्दरताको आभा पनि मानिदैं आएको छ । यसले हुम्लाको संस्कृतिमा हिउँ एक अपरिहार्य निधि र विधि पनि स्वीकारिएको छ ।

यो हिउँदमा हिउँ नआउँदा स्थानीयबासीहरू चिन्तित भएको अवस्थामा पुसको महिनामा हिउँ आउनु शुभ संकेत मानिएको छ । यसले कृषि, वन, वातावरण तथा सामाजिक जनजीवनमा सकरात्मक प्रभाव मार्ने स्थानीय मान्यता रहेको ठेहे गाउँका शिक्षक सूर्यमणि वोहराले बताउनुभयो ।

भदौ महिनादेखि पानी नपर्दा यहाँको खोलानाला कम हुनुको साथै खेतीपातीमा पनि पानीको अभाब भएको थियो । गाउँघरका पाखापखेराहरू पनि खडेरी पर्दा सानाठूला आगलागी भएर वनजंगल नष्ट हुँदै गएको थियो । यो हिउँले प्राकृतिक रुपमा नै नियन्त्रण गर्न सफल भएको छ ।

अब हुम्लाभरी नै खेतीपातीका लागि पानीको अभाब पूर्ति हुने भएकाले हिउँदमा लगाएको बालीनालीका लागि राम्रो हुने भएको छ । जब पुस महिना हिउँ पर्छ । त्यो हिउँले आगामी वर्षको बालीनालीको भविष्यवाणी हुने बरगाउँका जेष्ठ नागरिक छिरिंग लामाको अनुभव रहेको छ ।

उहाँले भन्नुभयो हिउँ पर्दा धेरै राम्रो हुन्छ । यसबाट हाम्रा वनजगल, खोलानाला तथा अन्य प्राकृतिक निधिको रक्षाको हुनाका साथै गाउँघरमा पनि दैवीक प्रकोप कम गर्न सहयोग पुग्छ ।

पछिल्लो समय मानवीय तथा प्राकृतिकजन्य विभिन्न प्रकार प्रकोपका कारण दिनप्रति दिन जलवायु परिवर्तनको समस्या झेलिरहेको अवस्थामा हिउँ नपर्दा विभिन्न प्रकार रोगव्याधीले ठाउँ पाउनुका साथै वनजंगल नाँसमाँस पनि बढ्दै गएको छ ।

जनसंख्या बढ्दै गएको अवस्था हुम्लाका विभिन्न ठाउँमा बजार उन्मुख क्षेत्र बिस्तार हुँदा विभिन्न प्रकारका मानवीय समस्या देखिने भए पनि यो क्षणिक समस्याभन्दा दीर्घकालीन फाइदालाई हेर्दा हिउँले हुम्लीलाई खुशी गराएको छ ।

पानी कै अभावले सिमकोट नेपालको एक अँध्यारो सदरमुकाम बन्ने कामलाई केही मात्रामा भए पनि कम गराउने आशा भएको नयाँ पत्रिका दैनिकका जिल्ला सम्वाददाता नरजन तामांगले भनाई रहेको छ ।

हुम्ला जिल्लामा अझै पनि गाउँघरमा कति दाब्लो अर्थात् फिट हिउँ पर्छ । त्यही अनुसार हिउँदको बाली जौ, गहुँ, उवा र नाफलको नापो गरिन्छ भने त्यसैको आधारमा वर्षामा पाक्ने बालीको पनिभविष्यवाणी गर्ने चलन रहेको छ ।

हिउँ पर्दा केही समयका लागि बजारउन्मुख क्षेत्रमा पानीमा धारामा पानी जम्ने, चिसो बढ्ने, बत्ती जाने जस्ता सामान्य समस्या पनि देखिएका छन् तर यी मानवीय कमजोरीलाई भूगोलमैत्री बनाउनका लागि विशिष्टीकृत योजना बनाउनु पर्ने पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देबी ऐडीको बताउनुभएको छ ।

हिउँले कृषि, वन, वातावरण, सिंचाई, रोगब्याधी जस्ता कुराहरुलाई स्वतस्फुर्त रुपमा कम गर्न सहयोगी भूमिका खेलेको हुन्छ । हिउँ एक जलउपचार पद्धतिको मुख्य स्रोत हो भने जडिबुटीहरुका लागि पनि मुलतत्व हो । हामी सबैले प्रकृतिलाई बचाऔं । जल संस्कृतिको संरक्षण गरौं ।

आफु पनि बाँचौं र प्रकृतिलाई पनि संरक्षण गरौं । समष्टिगत रुपमा हिउँ पर्दा हुम्ली किसानहरू खुशी भएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका