बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा पहिलोपटक सडक कालोपत्र शुरु भएको छ । रेश जाने सडकको अहिले धमाधम कालोपत्र भइरहेको छ । स्थानीय तह आइसकेपछि गाउँपालिकाले धेरै सडक स्तरोन्नति गरेको भए पनि कालोपत्रको काम काठेखोला गाउँपालिका–७ रेश पुग्ने सडक कालोपत्र गर्न थालिएको छ ।सो सडकमा गाउँपालिकाकै सबैभन्दा ठूलो गौरवको आयोजना सञ्चालनमा रहेको छ । गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय पुग्ने सडक कालोपत्र गर्ने योजनाअनुसार पहिलोपटक रेश जाने सडक कालोपत्र गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो ।गाउँपालिकाको केन्द्रबाट वडा नं ७ रेश पुग्ने सडक पहिलो चरणमा ४०० मिटर सडक कालोपत्र भइरहेको र थप चार किलोमिटर सडक कालोपत्रका लागि धमाधम पूर्वाधार निर्माणको काम भइरहेको थापाको भनाइ छ ।सङ्घीय सरकार र स्थानीय सरकारको समपुरक बजेटमा सङ्घीय सरकारको ६० प्रतिशत र स्थानीय सरकार काठेखोला गाउँपालिकाको ४० प्रतिशत बजेटमा रेश पुग्ने सडक एक्लेफाँट रेश खोलाबाट चार किलोमिटर सडक कालोपत्रका लागिसमेत पूर्वाधार निर्माण भइरहेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।रु ६ करोड ७१ लाख ४५ हजार ५९८ लागतमा चार किलोमिटर सडकको पाँच महिना अगाडि जोसी निशान आचार्य जेभी निर्माण सेवासँग ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको छ ।रेश पुग्ने गरी कालोपत्र गर्न थालिएको दोस्रो चरणको कालोपत्र भने २०७९ जेठ २६ सम्म कालोपत्र भइसक्नुपर्ने छ । अहिले एक्लेखेतदेखि जिरेदीसम्म सडक चौंडा पार्ने, ग्याबिन चिन्ने जस्ता कार्य भइरहेको छ । रेश जाने सडक रेश खोलामा पक्की पुल नहुँदा बर्खामा यातयातका साधन चल्न नसक्ने समस्यालाई ध्यान दिँदै गत वर्षदेखि पक्की पुलसमेत निर्माण थालिएको छ ।गाउँपालिकाका अनुसार उक्त सडकलाई गाउँपालिकाको गौरवको सडकका रुपमा लिइएको छ । चार किलोमिटर, नाली, कल्र्भट, पर्खाललगायतका संरचना निर्माण भइरहेको छ । उक्त सडक छ मिटरको चौडाइ हुनेछ । रेश जाने सडक झण्डै साढे चार किलोमिटर कालोपत्र हुने र खोलामा पक्की पुलजस्ता विकास निर्माण हुँदा स्थानीयवासी उत्साहित भएका छन् ।
यसैगरी कटानका लागि २० दिनदेखि जारी मध्यपहाडी लोकमार्गको बन्द आजदेखि हटेको छ । लामो समयदेखि ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मङ्सिर २५ गतेदेखि कामले तीब्रता पाएको छ । मङ्सिर २५ गतेदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत उपल्लाचौर अछेते बिहुँ घोडाबाँधे खण्डको काठेखोला गाउँपालिका–१ स्थित खहरे भीर कटानका लागि दैनिक छ घण्टा सडक बन्द गरिएको थियो । सो खण्डमा हुँदै आएको दैनिक छ घण्टा सडक बन्द खुले पनि चट्टान कटानको काम भने निरन्तर चलिरहने मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।