नेकपामा दाहाललाई मनाउने प्रयास तीब्र, शीतल निवासदेखि खुमलटारसम्म उपप्रधानमन्त्री पोखरेलको दौडाहा – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • नेकपामा दाहाललाई मनाउने प्रयास तीब्र, शीतल निवासदेखि खुमलटारसम्म उपप्रधानमन्त्री पोखरेलको दौडाहा

नेकपामा दाहाललाई मनाउने प्रयास तीब्र, शीतल निवासदेखि खुमलटारसम्म उपप्रधानमन्त्री पोखरेलको दौडाहा

नेकपामा दाहाललाई मनाउने प्रयास तीब्र, शीतल निवासदेखि खुमलटारसम्म उपप्रधानमन्त्री पोखरेलको दौडाहा

काठमाडौं, मंसिर १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच पत्रारोपको जुहारी चलेपछि बिग्रेको सम्बन्ध सुधार्न प्रयास तीब्र बनाइएको छ ।

पछिल्ला दिनमा सचिवालयका बहुमत सदस्यले आफूलाई किनारामा पार्ने देखेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफैमाथि आरोपको वर्षा गर्ने अर्का अध्यक्ष दाहाललाई फकाउन घनिभूत प्रयास थाल्नुभएको हो ।दाहाललाई फकाउनकै लागि राष्ट्रपति विद्या भण्डारीसँग हारगुहार गर्नेदेखि सचिवालयका आफू पक्षीय नेताहरुलाई परिचालन गरिरहनुभएको छ ।यसैक्रममा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल शुक्रवार विहानैदेखि दाहाललाई फकाउन लाग्नुभएको छ ।पोखरेल प्रधानमन्त्री निवास बालुवाटार, दाहाल निवास खुमलटार हुँदै राष्ट्रपति निवास शितलनिवासको दौडाहा हुनुहुन्छ । बिहान पार्टी अध्यक्ष दाहालसँग भेट गर्नुभएको पोखरेल दिउँसो भने राष्ट्रपति कार्यालय शितलनिवास जानुभएको हो ।पार्टीभित्रको झगडामा प्रधानमन्त्री ओली पक्षमा रहनुभएका पोखरेल दाहाललाई बेलाबखत सैद्धान्तिक बहसमा चुनौति दिने नेतासमेत मानिनुहुन्छ । खासगरी नेकपामा जबज नै पार्टी लाइन हुनुपर्ने उहाँको मत रहेको छ ।

ओली र दाहालबीच वारपारको संघर्ष देखिएका समयमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले पनि दाहाललाई नै साथ दिनुभएको छ ।
वामदेव गौतम र नारायण्काजी श्रेष्ठ पनि ओलीको विपक्षमा रहेकाले मंसिर २० गते बोलाइएको सचिवालय बैठकमा ओलीले कि त बहुमतको निर्णय मान्नुपर्ने, कि त आफ्नो रणनीति तयार पार्नुपर्ने देखिन्छ ।यस्तोमा उहाँले आफूनिकट नेताहरुलाई दाहाललाई मनाउन खटाउनुभएको हो । दाहालसँगको भेटमा पोखरेलले दुबै अध्यक्षको प्रतिवेदन फिर्ता लिएर साझा प्रस्ताव तयार गर्न आग्रह गर्नुभएको थियो ।बिहीबार पनि ओलीले आफूनिकटका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई दाहाललाई मनाउन खुमलटार पठाउनुभएको थियो । दुबै जनाले दुई अध्यक्ष मिलेर जाँदा मात्र समस्याको समाधान हुने बताउनुभएको थियो ।ओलीले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई घण्टा छलफल गर्नुभएको थियो भने साँझ दाहालले पनि भण्डारीसँग भेट गर्नुभएको थियो ।

नेकपाको आन्तरिक पार्टी संघर्षमा राष्ट्रपति भण्डारीबाट ओलीका पक्षमा हस्तक्षेप गर्ने गरेको आरोप लाग्ने गरेको छ ।कात्तिक २८ गते बसेको सचिवालय बैठकमा दाहालले पेश गरेका राजनीतिक प्रतिवेदनलाई लाञ्छना पत्रको संज्ञा दिँदै ओलीले मंसिर १३ गते प्रत्युत्तर दिनुभएको थियो । दुबै नेताले एकार्कामा सक्दो आरोप प्रत्यारोप गर्नुभएको छ ।दाहालसहितका बहुमत सचिवालय सदस्य दुबै प्रतिवेदनमाथि छलफल गरेर निचोड निकाल्नुपर्ने पक्षमा रहँदा प्रधानमन्त्री ओली र उहाँ पक्षधरले प्रतिवेदनमा छलफलको औचित्य नभएको बताउने गरेका थिए । तर पछिल्लो पटक भने ओली पक्ष दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउने बाटोमा पुगेका छन् ।(ईमेज खवर)

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका