श्रीभद्र पौडेल, हेमजा, १८ मङ्सिर । पोखरा–९, दरवारथोक मार्ग स्थित धनुष बचत तथा ऋण सहकारी संस्था लि. ८ औं वर्षमा प्रवेश गरेको छ । त्यस अवसरमा सहकारीले सप्ताहव्यापी विभिन्न कार्यक्रमका साथ बार्षिक साधारणसभा मनाएको छ ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी सहकारी रजिष्टारको कार्यालय पोखराका रजिष्टार प्रेमप्रसाद ढकालले सहकारीले सदस्य हीतमा कार्य गर्दै आइरहेको जनाउँदै त्यसलाई अझै बढाउनुपर्ने बताउनुभयाे ।
विशेष अतिथी शैक्षिक समाज सहकारी संस्थाका अध्यक्ष लिलाधर बरालले स्थापनाको छोटो समयमै धनुषले उल्लेख्य सफलता प्राप्त गरेको औँल्याउँदै त्यसलाई निरन्तरता दिन सक्नुपर्नेमा जोड दिनुभयाे।
उक्त अवसरमा शेयर सदस्यको तर्फबाट लक्ष्मीप्रसाद पौडेल(अनिल) र बालकृष्ण लुईटेलले पनि धारणा राख्नुभएकाे थियाे।त्यस्तै प्रमुख कार्यकारी अधिकृत विराज सुवेदीले भावी योजना माथि प्रष्ट पार्दै पेन्सन बचत, अवकाश बचत र बाल दक्षिणा बचत खाताका बारेमा प्रकाश पार्नुभयाे।
कार्यक्रमका बीच अध्यक्ष राजाराम सुवेदी, सचिव जगत पौडेल, कोषाध्यक्ष गोविन्दप्रसाद तिम्सिना र कर्जा उपसमितिका संयोजक कृष्णबहादुर खाँणद्वारा प्रस्तुत विभिन्न प्रतिवेदन छलफल सहित अनुमोदन गरिएको थियो ।
सहकारीका अध्यक्ष राजाराम सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साधारणसभा कार्यदलका संयोजक प्रदिप भुजेलले स्वागत तथा सचिव जगत पौडेलले संचालन गर्नुभएकाे थियाे ।