नाम्खा गाउँपालिकामा खानेपानीका लागि पाँच करोड खर्च – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • नाम्खा गाउँपालिकामा खानेपानीका लागि पाँच करोड खर्च

नाम्खा गाउँपालिकामा खानेपानीका लागि पाँच करोड खर्च

नाम्खा गाउँपालिकामा खानेपानीका लागि पाँच करोड खर्च

कर्णबहादुर रोकाया, हुम्ला, १२ मङसिर । हुम्लाको उत्तरी गाउँपालिको एघार खानेपानी आयोजनाका लागि पाँच करोड रकम खर्च भएको छ । यसबाट करीब तीन हजार जनसंख्या लाभान्वित भएका छन् ।

नाम्खा गाउँपालिका, नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन तथा स्थानीयहरूको जनश्रमदानबाट यी एघार आयोजनाहरू सम्पन्न भएका छन् । यी आयोजनाहरू नाम्खा गाउँपालिकाको वडा नं १ मा तीन, वडा नं ४ मा तीन, वडा नं ५ मा दुई र वडा नं ६ मा तीन रहेका छन् ।

यसबाट नाम्खा गाउँपालिकामा वर्षौदेखि खोला र नदीको पानी खानुपर्ने अवस्थामा सुधार आउने जानकारी ग्रामीण जलस्रोत परियोजनाका परियोजना सल्लाहकार विरेन्द्र थापाले दिनुभएकाे छ ।

उहाँले भने यसबाट स्थानीय जनसमुदायको स्वास्थ्यमा सुधार आई आय आर्जनमा सहयोग पुग्ने भएको छ । यो कामले स्थानीय विभिन्न प्रकारका रोगव्याधीका लागि खर्च हुने रकमको बचत हुनेछ ।

नाम्खा गापाको वडा नं १ मा गाडापारी, हेप्का र लामागाउँ गरी तीन परियोजना सम्पन्न भएका छन् । यसै गरी वडा नं ४मा छ्याच्ची, छुईलुङ र ङ्योज्याक गरी तीन आयोजना रहेका छन् । वडा नं ५मा सुन्ताक र फुईसुङ दुई खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएका छन् ।

यसै गरी वडा नं ६मा चाङजुमा, छिसेरी र गुन्छु खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएको जानकारी ग्रामीण जलस्रोत परियोजना हुम्लाका जलस्रोत अधिकृत दन्त शाहीले जानकारी दिनुभएकाे छ ।

यी आयोजनाहरू लागत न्यूनतमा सवा २४ लाखदेखि अघिकतम सवा ९३ लाख रकम खर्च भएको छ । यी सबै आयोजनाका लागि कुल खर्च पाँच करोड एक लाख ९६ हजार ३६९ रुपैँया ६४ पैशा रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका