लमजुङमा रहेकाे घलेगाउँ घरबासमा आउन थाले पर्यटक – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • लमजुङमा रहेकाे घलेगाउँ घरबासमा आउन थाले पर्यटक

लमजुङमा रहेकाे घलेगाउँ घरबासमा आउन थाले पर्यटक

लमजुङमा रहेकाे घलेगाउँ घरबासमा आउन थाले पर्यटक

लमजुङ, ६ मङ्सिर । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् ।

गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । यतिबेला दैनिक ३०÷३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा निरास बनेका यहाँका घरबास सञ्चालक आन्तरिक पर्यटक आउन थालेपछि खुशी हुन थालेका घरबास सञ्चालक दीर्घराज घलेको भनाइ छ ।

उहाँले भन्नुभयो, “विगतमा ४०० को हाराहारीमा पर्यटक आउँदा घरबासमा राख्ने ठाउँ अभावले समस्या बनाएको थियो, तर अहिले पर्यटकको पर्खाइमा रहनुपरे पनि विस्तारै पर्यटक वृद्धि हुन थालेको छ ।”

पर्यटक आगमनमा वृद्धि हुँदै गएपछि केही राहत पुुगेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।

घलेगाउँबाट लमजुङ, अन्नपूर्ण (दोस्रो) र चौथो, माछापुच्छे, मनास्लु, हिमालचुली, ङादीचुली (डा हर्क हिमाल) र वुद्ध हिमाल देख्न सकिन्छ ।

सूर्योदय र सूर्यास्त, नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, घले राजाको पार्क र गुरुङ सङ्ग्रहालय हेर्न सकिन्छ । जिल्लाको सदरमुकाम बेँसीशहरबाट सो गाउँ पुग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करिब तीन घण्टा र पैदलयात्रा गरेमा करिब पाँच घण्टा समय लाग्छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका