वालिङ, ५ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री बनाउँदै लगिएको बताउनुभएकाे छ ।
स्याङ्जाको वालिङमा आज मालपोत कार्यालयको उद्घाटन गर्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयको छवि बदल्नका लागि सफलता प्राप्त हुँदै गएको र सो कुरा कार्यालयबाट हुने सेवाप्रवाहबाट पुष्टि हुँदै गएको जिकिर गर्नुभएकाे छ।
“सुशासन कायम गर्नका लागि नयाँ प्रविधिको प्रयोग गर्नु आवश्यक छ”, मन्त्री अर्यालले भन्नुभयाे, “नयाँनयाँ प्रविधिको प्रयोगसँगै सेवाग्राहीमैत्री बनाउँदै लगिएकाले मालपोत कार्यालयबाट प्रवाह हुने सेवाबाट सेवाग्राहीले सहजै सेवा लिन सक्नुहुनेछ ।” देशभर हाल १३१ मालपोत र नापी कार्यालय छन् ।
ती कार्यालयलाई नमूनाका रुपमा अगाडि बढाउँदै लैजाने मन्त्री अर्यालले बताउनुभयाे । “प्रविधिको प्रयोगका लागि दक्ष जनशक्तिको अभाव हाम्रा लागि चुनौतीका रुपमा रहेको छ”, मन्त्री अर्यालले भन्नुभयाे, “जनशक्तिलाई आवश्यक तालीम तथा प्रशिक्षण प्रदान गरी अगाडि बढ्छौँ जसले गर्दा सेवा प्रवाह थप प्रभावकारी हुनेछ ।”
कार्यसम्पादनका लागि विभिन्न कानूनी झन्झटिला रहेकाले त्यसलाई संशोधन गर्दै स्थानीय तहमा सेवा हस्तान्तरण गरिने मन्त्री अर्यालको भनाइ रहेकाे थियो ।
सो अवसरमा गण्डकी प्रदेश विधायन समिति सभापति मोहनप्रसाद रेग्मीले मालपोत र नापी कार्यालयको सेवा प्रवाह चुस्तदुरुस्त र सेवाग्राहीमैत्री भएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयाे।