नवलपरासीमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • नवलपरासीमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण

नवलपरासीमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण

नवलपरासीमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण

कावासोती, ५ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको पहिलो चरणको काम शुरु गरिएको छ ।

रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले राजधानीबाहिर यति ठूलो क्षमतामा पहिलो चिस्यान केन्द्र निर्माण गर्न लागेको कम्पनीका अध्यक्ष नेत्र थनेतले बताउनुभयो ।

साइड अफिस, कम्पाउण्डवाल र पार्किङस्थल निर्माणको काम थालनी गरिएको अध्यक्ष थनेतले बताउनुभयो । आउँदो पुस महिनाभित्र पहिलो चरणको काम सकिने र त्यसलगत्तै दोस्रो चरण (सिभिलको) काम थालनी गरिने उहाँले जानकारी दिनुभयो ।

जर्मन प्रविधिबाट निर्माण गरिने चिस्यान केन्द्र आधुनिक हुनेछ । केन्द्रमा आठवटा च्याम्बर रहनेछन्, जहाँ फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ ।

किसानले चिस्यान केन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् भने भाडामा लिएर आफ्ना सामान राख्न चाहनेका लागि पनि सेवा उपलब्ध हुने थनेतले जानकारी दिनुभयो ।

अध्यक्ष थनेतका अनुसार केन्द्र, प्रदेश र ‘रिटर्नी’ नेपालीहरुको लगानी गरी रु २० करोडको लागतमा नवलपुर चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वदेशका लागि’ भन्ने नारा लिएर विदेशबाट फर्किएका नेपालीहरुको पहलमा उक्त चिस्यान केन्द्र निर्माण हुन लागेको हो ।

वैदेशिक रोजगारमा आर्जेको सीप र ज्ञानलाई आफ्नै माटोमा प्रयोग गरेर आत्मनिर्भर बन्ने र देशलाई पनि समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पुर्याउने उद्देश्यले रिटर्नीहरुको पहलमा चिस्यान केन्द्र निर्माण गर्न लागेको अध्यक्ष थनेतले बताउनुभयो । यस चिस्यान केन्द्रमा देशभरका रिटर्नीहरुको सहभागिता रहेको छ ।

अठार कठ्ठा जग्गा लिजमा लिएर उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । नवलपुर कृषि उपजका हिसाबले समृद्ध रहेको र यहाँका किसानलाई थप प्रोत्साहित गर्न सकिएमा किसानदेखि उपभोक्तासम्मलाई लाभ दिन सकिने भएका कारण चिस्यान केन्द्र निर्माण गर्ने योजना बनाएर काम थालनी गरिएको थनेतले बताउनुभयो ।

कृषि उपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालिम र बिउबीजन चिस्यान केन्द्रले नै उपलब्ध गराउने अध्यक्ष थनेतको भनाइ छ । यसले हालको भन्दा बढी उत्पादन हुने र किसानलाई लागत खर्च कम भई प्रतिफल वृद्धि हुने उहाँले बताउनुहुन्छ ।

जिल्लामा नै चिस्यान केन्द्र निर्माण हुने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् । कावासोती नगरपालिका–१४ अग्यौलीमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको काम थालनी गरिएसँगै जिल्लाका किसानले उत्पादित कृषि उपजको भण्डारण गर्न अन्यत्र जान नपर्ने भएपछि खुशी छन् ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका