जटिल मोडमा नेकपा विवाद – Samacharpati
Samacharpati
बुधबार, माघ १४, २०७७

जटिल मोडमा नेकपा विवाद

जटिल मोडमा नेकपा विवाद

काठमाण्डौ,२,मंसिर
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्दैछ । बैठकको अघिल्लो दिनसम्म केपी शर्मा ओली पक्ष र प्रचण्ड(माधव पक्षका नेताहरुवीच सहमति जुटाउने प्रयासहरु भइरहेका छन् ।सचिवालय बैठकको अघिल्लो दिन मंगलबार बिहान खुमलटार पुगेर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।भेटमा के कुराकानी भयो भन्नेबारे नखुलाइए पनि पार्टीभित्र देखिएको द्वन्द्व कसरी समाधान गर्ने भन्नेबारे छलफल भएको स्रोतले बताएको छ । बुधबार बस्ने बैठकका एजेण्डाहरु के(के तय गर्ने भन्नेबारे कार्यकारी अध्यक्ष र महासचिववीच छलफल भएको स्रोतले बतायो ।पार्टीको विधानअनुसार अध्यक्षको परामर्शमा महासचिवले बैठकको कार्यसूची तयार पारेर बैठकमा पेश गर्नुपर्ने हुन्छ । शुक्रबारको बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गरे पनि ठोस कार्यसूची तयार गर्न बाँकी रहेको र बुधबारको बैठकमा महासचिवले ठोस कार्यसूची बनाई त्यसमाथि छलफल हुने स्रोतले बतायो ।शुक्रबारको सचिवालय बैठकमा केपी ओलीको पत्र, त्यसको जवाफमा प्रचण्डको प्रत्युुत्तर पत्र, र सचिवालय बैठकमा केपी ओलीमाथि थप आरोपहरु लगाउँदै कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावका कारण नेकपाभित्रको अन्तरविरोध नयाँ मोडमा पुगेको छ । अध्यक्षद्वयवीचको अन्तरविरोध शत्रुतापूर्ण चरणमा पुगेका कारण बुधबार बस्ने भनिएको सचिवालय बैठकलाई धेरैले चासोका साथ हेरेका छन् । बैठक वीचैमा स्थगित हुने हो कि भन्ने आशंका पनि नेकपा नेताहरुले गरिरहेका छन् ।शुक्रबारको बैठकमा आफूमाथि प्रचण्डले कडा आरोपहरु लगाएपछि प्रधानमन् त्री ओली विभिन्न परामर्शमा सक्रिय बने । प्रधानमन्त्रीले शनिबार बालुवाटारमा उपाध्यक्ष वामदेव गौतमसँग डेढघण्टा छलफल गरे ।

वामदेवसँगको छलफललगत्तै प्रधानमन्त्री ओलीले शनिबार नै बालुवाटारमा वरिष्ठ नेता माधवकुमार नेपालसँग करिब दुईघण्टा कुराकानी गरे । नेता नेपालसँगको कुराकानीमा महासचिव विष्णु पौडेल पनि समभागी थिए । गौतम र नेपालका अतिरिक्त प्रधानमन्त्री ओलीले चारदिन यता आफू निकटका नेताहरुसँग पनि पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेका छन् । र, यही छलफलको निचोड अनुसार प्रधानमन्त्री ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल मंगलबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेको स्रोतले बतायो ।उच्च स्रोतका अनुसार नेकपाभित्र अब ओली र प्रचण्डवीच मेलमिलाप गराउने र यसका लागि कुनै उच्चस्तरको ‘राजनीतिक लेनदेन’ हुन सक्ने सम्भावना नजिकिएको छ ।कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमा अब केपी ओलीले आत्मालोचना गर्ने र त्याग देखाउने बेला आएको बताएका छन् ।तर, प्रधानमन्त्री ओली भने आफूले राजीनामा नदिने र प्रचण्डले लगाएका आरोपहरुको जवाफ नदिने अडानमा छन् ।तथापि बाहिर दुवै नेताहरुले आ(आफ्नो अडान व्यक्त गरे पनि भित्रचाहिँ कुनै न कुनै लेनदेनमा गएर समाधान खोज्ने प्रयास भइरहेको स्रोतले बतायो । यद्यपि मंगलबार दिउँसोसम्म नेकपाभित्र त्यस्तो कुनै सहमति भने जुटिसकेको छैन ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका