मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण – Samacharpati Samacharpati मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन २४, २०७७

हालको खबर

  • होमपेज
  • मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण

काठमाडौं, २७ कार्तिक । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ ।

सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयाे ।

उहाँका अनुसार त्रुटि सच्याउने काम मङ्सिरको दोस्रो सातासम्म सकिने भारतीय कम्पनीले बताएको छ । केही महिना यता सुरुङमा पुनरावलोकनको काम भइरहेको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, “सम्भावित सबै ठाउँमा पुनरावलोकन भइरहेको छ ।”

मङ्सिरसम्ममा त्रुटि सच्याए पनि काठमाडौंमै पानी झार्न भने माघ मसान्तसम्म लाग्ने देखिएको छ । सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता शाक्यले जानकारी दिनुभयाे । मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ ।

सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उहाँले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, “पानी भित्र भरिएर केही दिन राख्दा बल्ल कतै समस्या छ छैन थाहा हुन्छ, समस्या छैन भन्ने भएपछि मात्रै पानी झारिनेछ ।”

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उहाँले जानकारी दिनुभयाे । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् ।

यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उहाँले जानकारी दिनुभयाे ।

यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो । सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा एक सातामा पानी बाहिर निस्केको हो ।

दुर्घटनाका बारेमा बुझ्का लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ ।

आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्याङ्की निर्माण भइसकेको छ । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियन विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा निर्माण भएकोे थियो ।

बन्दाबन्दीका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको र निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्था जसरी काम हुन सकेको थिएन ।

निर्माण कम्पनीले उपलब्ध जनशक्ति र सामग्रीबाट निर्माण गरिरहेको थियो । स्थानीयवासी र स्थानीय तहले आयोजनाका कारण कोभिड–१९ को जोखिम भएको भन्दै बन्द गर्न भनिरहँदा पनि आयोजना सुचारु थियो ।

 

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका