आजदेखि यमपञ्चक (तिहार) शुरु, पोखरा महानगरले जेठोबुढो धानको मुल्य तोक्यो (५ समाचार) – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • आजदेखि यमपञ्चक (तिहार) शुरु, पोखरा महानगरले जेठोबुढो धानको मुल्य तोक्यो (५ समाचार)

आजदेखि यमपञ्चक (तिहार) शुरु, पोखरा महानगरले जेठोबुढो धानको मुल्य तोक्यो (५ समाचार)

आजदेखि यमपञ्चक (तिहार) शुरु, पोखरा महानगरले जेठोबुढो धानको मुल्य तोक्यो (५ समाचार)

कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार बिहीबारदेखि (आजं ) शुरु हुँदैछ ।बिहीबार ९आज० बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ ।यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।तिथिको घटबढका कारण यस्तो भएको उहाँले बताउनुभयो ।कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताउनुभयो ।गाई, गोरु र आत्म म्ह पूजा कात्तिक ३० गते परेको छ ।आइतबार बिहान ११ः२७ बजेसम्म औँशी तिथि छ । मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका गरिने छ ।मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।मंसिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।नेवार समुदायका केही संस्थाले मंसिर २ गते भाइटीका मनाउने भनी निर्णय गरेका छन् ।त्यसैले सरकारले मंसिर २ गते पनि देशभर सार्वजनिक बिदा दिएको छ ।

तीव्र सहरीकरणले खेतीयोग्य जमिनहरुमा बिस्तारै प्लटिङ बढ्दो छ । किसानहरुमा किसानीप्रति आकर्षण पनि घटिरहेकै छ । खेतीभन्दा ब्यापारबाट धेरै आम्दानी हुने देखेपछि धानखेत मासेर घर ठडिएका हुन् । अहिले अधिकांश फाँटहरुमा बजार बनेको छ । जसका कारण अव्यवस्थित सहरीकरण मात्रै भएको छैन, पोखराको ब्राण्डमा समेत संकट थपेको छ । जेठोबुढो धान पोखराको पुख्र्यौली ब्राण्ड हो । बास्नादार र नरम भात पाक्ने भएकोले धेरै अघिदेखि पोखराको कोसेली हो, जेठोबुढो । खासगरी विदेश बस्ने नेपालीहरुमा यसको माग बढी छ । जेठोबुढो धानको माग बढेको र खेती प्रणाली व्यवस्थित नभएपछि पोखरा महानगरपालिकाले पहिलो पटक धानको मूल्य तोकेर किसानलाई प्रोत्साहन दिएको छ । महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरिया भन्छन्, ‘जति मार्केट बढेको छ, त्यति जेठोबुढोको मौलिकपना हराएको छ । यसको संरक्षणको दायित्व सरकारले लिनुपर्छ ।लागतलाई हेरेर नै महानगरले उत्पादित धानको बजार मूल्य कायम गरेको छ । उनका अनुसार प्रतिरोपनी १२ देखि १६ हजारसम्म लागत लाग्छ । एक मुरि उत्पादन गर्दा ३ हजार ६ सय लाग्ने अनुमान छ भने त्यसको बजार मूल्य महानगरले ४ हजार ५ सय तोकेको छ । ‘२० प्रतिशत मुनाफा, १० प्रतिशत लगानीको ब्याज र १० प्रतिशत ढुवानी खर्च गरी यो रकम कायम भएको हो,’ उनले भने ।(आदर्श समाज)

तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो ।गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार मानहुँकोटको अवलोकन गर्दै यहाँको विकासका लागि प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए । ‘मानहुँकोटको विकासका लागि एकीकृत ढङ्गबाट पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ’, मन्त्री गुरुङले भने, ‘यहाँ खानेपानी, सडक र सरसफाइको मुख्य समस्या देखिएको छ । गुरुयोजना बनाएर यसको समग्र विकास गर्न प्रदेश सरकार स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्न तयार छ ।’ यहाँको भौगोलिक अवस्थालाई नबिगार्ने गरी भौतिक संरचना निर्माण गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिए ।(रासस)

पार्टी सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच पेचिलो धुव्रीकरण देखिएको छ । बैठक बस्ने–नबस्ने विषय अब ओली र प्रचण्ड–नेपाल समूहका लागि प्रतिष्ठाको विषय बनेको छ । प्रधानमन्त्री ओलीले बैठक बोलाउनुको साटो शृंखलाबद्ध र अर्थपूर्ण अभिव्यक्ति दिइरहेका छन् साथै पार्टीभित्र नयाँ समीकरण गर्ने उनको प्रयास पनि जारी छ । यता प्रचण्ड–नेपाल समूह बहुमतसहित र औपचारिक बैठकमा अगाडि बढ्ने गृहकार्यसहित ओलीमाथि दबाब बनाउने काममा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली बैठकमा सहभागी नभए पनि प्रचण्ड–नेपाल समूह बिहीबार डाकिएको बैठकलाई औपचारिक बनाउने तयारीमा छ । प्रधानमन्त्री ओली सहमतिका लागि तयार नभएको भन्दै सचिवालय बैठकबाट स्थायी कमिटी र त्यसपछि क्रमशः केन्द्रीय कमिटी बैठक बोलाएर अघि बढ्ने उनीहरूको रणनीति छ । तर, प्रधानमन्त्री ओलीले बहुमतको औपचारिक बैठक बसे कडा ‘स्टेप’ चाल्न सक्ने चेतावनी दिँदै आएकाले बैठक राखे पनि कुन–कुन एजेन्डामा कस्तो निर्णय गर्ने भन्ने विषयमा भने प्रचण्ड–नेपाल समूह अन्योलमा छ । प्रधानमन्त्री ओलीले एक–दुई दिनकै बीचमा महासचिव विष्णु पौडेललाई औपचारिक बैठक बोलाउन निर्देशन दिइसकेकाले पनि बेग्लै बैठकबाट अगाडि बढ्ने या सहमतिकै बैठकमा रणनीतिसहित प्रस्तुत हुने उनीहरूबीच अन्योल देखिएको हो । कात्तिक पहिलो सातायता प्रचण्ड समूहमा रहेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले लगातार छलफल गर्दै आएका छन् ।यसैगरी नेकपाको सचिवालय बैठक शुक्रवार बस्ने भएको छ । नेकपा सचिवालय स्रोतले दिएको जानकारी अनुसार, सचिवालय बैठक शुक्रवार अपह्रान्न ४ बजे बस्ने तय भएको छ । पछिल्लो केहीदिन यता नेकपामा विवाद चुलिँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका अन्य सदस्यहरूले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्दै आएका थिए । नेकपाको सचिवालयका केही सदस्यहरूले भने प्रचण्डको अध्यक्षतामा ३ अनौपचारिक बैठक बसिसकेका छन् । (नयाँ पत्रिका)

मोरङमा कोरोना भाइरस संक्रमित पाँच जनाको एकै दिन मृत्यु भएको छ। १२ घण्टाभित्र मृत्यु भएकामा चार महिला र एक पुरुष छन्। चार जनाको उपचारका क्रममा कोभिड अस्पताल र एक जनाको होम आइसोलेसनमा ज्यान गएको हो। विराटनगरको नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मात्रै तीन जनाको मृत्यु भएको छ। (अन्नपुर्ण)

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका