बुटवल,२३,कार्तिक
कोभिड–१९ को लक्षण देखिए पनि जटिलबाहेकका अन्य बिरामी उपचारबाटै वञ्चित हुने गरेका छन् । संघीय सरकारले सीमित वर्गबाहेक निःशुल्क उपचार बन्द गर्ने निर्णय गरे पनि लुम्बिनी प्रदेश सरकारले निःशुल्क उपचार गर्दै आएको थियो ।बुटवलस्थित कोरोना विशेष अस्पतालमा शय्या खाली हुँदाहुँदै पनि भर्ना लिन बन्द गरिएपछि संक्रमित मर्कामा परेका छन् । प्रदेशका कोभिड अस्पतालमा निःशुल्क उपचार हुने गरे पनि सबैले उपचार सेवा पाउन सकेका छैनन् । लक्षण भएका बिरामीलाई पनि अस्पतालले भर्ना लिनै छाडेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको बुटवलको धागो कारखानास्थित कोरोना अस्थायी अस्पतालमा साधारण बिरामीका लागि ३६ शय्या छन् । जटिल बिरामीका लागि १६ वटा आईसीयू शय्या छन् । जटिल बिरामीको चापले आईसीयूमा सहजै भर्ना पाउने अवस्था छैन । साधारण शय्यामा पनि अस्पतालले भर्ना लिन नमानेको बिरामीको गुनासो छ ।सरकारले लक्षण देखिएका जटिल भएका बिरामीलाई मात्र भर्ना गरेर उपचार गर्न निर्देशन दिएपछि कोभिड अस्पतालमा नयाँ बिरामी भर्ना लिन बन्द गरिएको हो । अस्पतालले आईसीयूमा उपचारपछि सामान्य अवस्थामा फर्कन थालेका बिरामीलाई मात्रै अहिले साधारण शय्यामा राख्न थालेको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा सुदर्शन थापाले बताए ।(कान्तिपुर)