म्याग्दीको मुदी सडक सञ्जालमा आएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • म्याग्दीको मुदी सडक सञ्जालमा आएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा

म्याग्दीको मुदी सडक सञ्जालमा आएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा

म्याग्दीको मुदी सडक सञ्जालमा आएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा

म्याग्दी, १२ कात्तिक । म्याग्दीको धौवलागिरि गाउँपालिका–४ मुदी सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाको केन्द्र मुनाको फलियागाउँदेखि दरहुँदै मुदी जोड्ने सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको हो ।

सडक निर्माण भएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा छोटिएको छ । मुदीका विजय घर्तीमगरले यातायातका साधन चल्न थालेपछि यात्राको अवधि छोटिएको, ढुवानी भाडा घटेको र आवतजावतमा सहज भएको बताउनुभयो । “मुदीबाट मुना पुग्न अप्ठ्याराे भीर र खोल्साको बाटो डेढ घण्टा पैदल हिँड्नुपथ्र्यो,” उहाँले भन्नुभयो “गाडी चढेर बीस मिनेटमै पुगिन्छ । बिरामीलाई गाडीबाटै समयमै अस्पताल पुर्याउन सजिलो भएको छ ।”

गत असार महिनामा मार्ग खोलिएको सडकमा खसेको पहिरो पन्छाएपछि यसै महिनादेखि जीप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । यसअघि घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महँगो परेको थियो । मुदी म्याग्दीको जडीबुटीको भण्डार मानिन्छ । कृषकले पालेका खसीबोका बजार पठाउन सजिलो भएको छ ।

वडाध्यक्ष बेगप्रसाद घर्तीले मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोशका करिब एक हजार घरधुरी लाभान्वित भएका बताउनुभयो । विसं २०७३ मा शुरु भएको फलियागाउँदेखि मुदी सम्मको सडकको दुरी करिब ६ किलोमिटर छ । बस चलाउन मिल्ने गरी छ मिटर फराकिलो बनाइएको छ ।

अधिकांश ठाउँमा पहाड फुटाएर सडक निर्माण गर्न रु तीन करोड खर्च भएको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ मा तत्कालीन जिविसले रु ४२ लाख र राष्ट्रिय योजना आयोगले रु ४० लाख खर्चेर दरसम्म ट्याक खोलेका थिए ।

विसं २०७४ मा गाउँपालिकाले विनियोजन गरेको रु ९० लाखबाट सिमवाङको फाँटसम्म सडक पुर्याइएको थियो । २०७५ मा गाउँपालिकाको रु ६५ लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रु २३ लाख खर्च भएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले आर्थिक वर्ष २०७६÷७७ मा रु ४५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थापा निर्माण सेवाले एक कलोमिटर ३०० मिटर नयाँ सडक खनेको थियो । बाहै्र महिना यातायात सञ्चालनका लागि दरखोलामा मोटरेबल पुल निर्माण गर्न सङ्घीय सरकारबाट बजेट विनियोजन भएको बताउनुभयो ।

 

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका