आज 'फूलपाती' शास्त्रीय विधिअनुसार दशैँघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदै – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • आज ‘फूलपाती’ शास्त्रीय विधिअनुसार दशैँघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदै

आज ‘फूलपाती’ शास्त्रीय विधिअनुसार दशैँघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदै

आज ‘फूलपाती’ शास्त्रीय विधिअनुसार दशैँघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदै

काठमान्डाैँ, ७ कार्तिक । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

नेपाल एकिकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाँउहरुमा रहेका महत्वपूर्ण शक्तिपीठहरुमा पुर्‍याउने चलन थियो । नेपाल एकिकरणदेखि नै एकता र सांस्कृतिक प्रतिक गोर्खा जिल्लासंग नेपालीको पहिचान जोडिएको छ, तसर्थ गोरखाको फूलपाती विशेष हुनेगर्दछ । काठमाण्डौको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैघरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ्ग जिल्लाको जीवनपुर हुँदै भित्राइने चलन थियो ।

लोकतन्त्र आगमनपछि यो एतिहासिक चलनलाई निरन्तरता नदिएपनि थोरै फूलपाती भएपनि मोटरसाईकलमा काठमाडौसम्म ल्याइने गरिएको स्थानिय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तबमात्र फूलपाती भित्राउने चलन छ ।

फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरवारका कर्मचारीहरु सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती संकलन गर्न निस्किन्छन्, यसरी सङ्कलनगरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सतीपिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ ।

उक्त फूलपातीलाई विशेष माैलिक सिङ्गारपटार गरेर, झकीझकाउ बनाएर अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ, दरबारबाट आएका विशेष टोलीहरुले वाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रागरेर फूलपाती दरवार भित्राउने चलन छ । यस्तो शोभायात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरु उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपातीलाई काठमाण्डौ ल्याएपछी नेपाली सेनाको एकटुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन पनि रहेको छ ।

अर्कोतर्फ गाउँघरमा आजबाट औपचारीक रुपमा लिङ्गेपिङ हालिन्छ, खरको डोरी र टुप्पो नकाटिएको हरियो चारवटा बाँसलाई गाडेर बनाइने यो पिङ दशैंको अर्को रौनक हो, जुन सदियाैंदेखि दशैंमा मनोरञ्जन गरीने एउटा माैलिक साधनको रूपमा प्रचलित छ । मान्छे चढेर मच्चिएपछी बाँसको टुप्पोबाट एकतमासको आवाज आउँछ, दशैंको यस विशेष अवधिकाबिच एकपटक भएपनि भूँई छोडनु भन्ने चलन छ, पिङ चढेका बखत भुई छोडिन्छ र मच्चिउनञ्जेल प्रकृतिको खुल्ला काखमा पञ्छिझै स्वतन्त्र भइ यो शरीरले स्वाँस भर्छ, अथवा एउटा नियन्त्रित उडानको अनुभूत गर्छ ।

गाँउघरमा माहौल पक्कै पनि रोमाञ्चक छ, मुग्लान पसेका साथीभाइ आफन्तजन, प्रियजन आफ्ना गाउँठाउँमा कत्तिको फर्केका छन ? शहर बस्नेहरु पनि गाँउठाउँ फर्केका छन् कि छैनन ? कत्तिका आमाबुवा, दिदि वहिनी, दाजू भाईका मन हर्षले गदगद होलान त कति प्रतिक्षाका आँखा ओछ्याइ पर्खि बसेका होलान् । छोराछोरी, बुहारी अनि नातिना लगायत तीन चार पुस्तानै घरमा भेला भएको हुनपर्दछ । लिपपोत गरिएको सफा काठले बनेको नेपाली टाँडेघरको रौनक वास्तवमैं अतूलनीय छ, आजैबाट खसीबोका काट्ने तथा वलि कार्य प्रारम्भ भइसक्यो ।

चाडवाडहरु नभईदिएका भए हाम्रो जीवन कति निरस हुन्थ्यो होला ? चाडपर्वले जीवनलाई एउटा फरक उर्जारसले भर्नेगर्दछ । यो दशैंपछि म यो गर्छु, त्यो गर्दिन भन्ने हाम्रा स्वप्रतिज्ञाहरु र योजनाहरु पनि छन्, दशैंले सबको इच्छा पूरा गरोस् । यो चाड सनातन हिन्दू मात्रको नभई तमाम नेपालीजनको हो, यसको माैलिक विशेषता भनेकै यहि हो । तडक भडक भन्दा पनि सामान्य जीवनशैली अनि असामान्य आत्मियताका साथ चाड मनाउनुहोला ।

source:hamropatro

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका