आज बडा दशैंको छैटौं दिन, घरघरमा कात्यायनीदेवीको पूजा आराधना गरी मनाउँदै – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • आज बडा दशैंको छैटौं दिन, घरघरमा कात्यायनीदेवीको पूजा आराधना गरी मनाउँदै

आज बडा दशैंको छैटौं दिन, घरघरमा कात्यायनीदेवीको पूजा आराधना गरी मनाउँदै

आज बडा दशैंको छैटौं दिन, घरघरमा कात्यायनीदेवीको पूजा आराधना गरी मनाउँदै

काठमाडौं, ६ कार्तिक । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले घरघरमा कात्यायनीदेवीको पूजा गरेर मनाउँदै । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।

देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको पूजा गरिन्छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख गरिएको छ ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् । राजर्षि जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् ।

अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका