गलकोटकाे पाण्डवखानी गाउँमा रहेका ऐतिहासिक पञ्चधारा र मन्दिर संरक्षणको पर्खाइमा – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • गलकोटकाे पाण्डवखानी गाउँमा रहेका ऐतिहासिक पञ्चधारा र मन्दिर संरक्षणको पर्खाइमा

गलकोटकाे पाण्डवखानी गाउँमा रहेका ऐतिहासिक पञ्चधारा र मन्दिर संरक्षणको पर्खाइमा

गलकोटकाे पाण्डवखानी गाउँमा रहेका ऐतिहासिक पञ्चधारा र मन्दिर संरक्षणको पर्खाइमा

गलकोट, ५ कात्तिक । बागलुङको गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी गाउँमा अवस्थित सामरिक तथा ऐतिहासिक महत्व बाेकेका पञ्चधारा र मन्दिर संरक्षणको पर्खाइमा रहेका छन् ।

हिन्दूको सबैभन्दा ठूलो ग्रन्थमध्ये एक महाभारतमा रहेका कुन्ती र माद्रीका छोरा पाण्डवसँग जोडिएको पञ्चधारा संरक्षण नगरिँदा अहिले अस्तित्वविहीन बन्दै गएका हुन् । पाँच पाण्डवले १२ वर्ष वनवासका क्रममा यहाँ आएर तामाको खानी खनेका कारण यो गाउँको नाम पाण्डवखानी रहन गएको किंवदन्ती छ ।

पाण्डवखानीको ग्याथरमा पाँच पाण्डवले नुहाउने गरेको पञ्चधारा, त्यस क्षेत्रमा रेगिश्वरे मन्दिर र पाण्डवखानी माध्यमिक विद्यालयको प्राङ्गणमा कुन्तीमाईको मन्दिर छ । अहिले पञ्चधारासहित ती मन्दिर संरक्षणको अभावमा निकै जीर्ण अवस्थामा छन् । संरक्षणको अभावका कारण पाँच पाण्डवले नुहाएको पञ्चधारा पुरिने अवस्थामा छ भने रेगिश्वरे मन्दिर र कुन्तीमाई मन्दिर जीर्ण अवस्थामा पुगेको छ ।

धृतराष्ट्रका भाइ पाण्डुका पत्नी कुन्तीबाट युधिष्ठिर, भीम र अर्जुन तथा माद्रीबाट नहकुल र सहदेव जन्मिएका थिए । यी पाँच जनालाई पाण्डवका रुपमा व्याख्या गरिएको छ । धृतराष्ट्रका छोराहरू भने पाण्डवलाई देखिसहँदैनथे । उनका सय जना छोरामध्ये दूर्याेधन र दुशासन उद्दण्ड थिए ।

कौरवहरू धुर्त, स्वार्थी र घमण्डी थिए । उनीहरू विभिन्न षड्यन्त्र गरेर पाण्डवलाई दुःख दिने योजनानुसार एक दिन कौरवले सल्लाह गरी पाण्डवसँग पासा खेल्ने र हराउने योजना बनाए । पासा खेल्दा पाण्डवले जितेमा कौरवले आफ्नो आधा राज्य उनीहरूलाई दिने भए । पाण्डवले हारेमा उनीहरूले १२ वर्ष वनवास र एक वर्ष अज्ञातवास जानुपर्ने शर्त राखियो । जालझेल गरेर कौरवले पासा जितेपछि शर्तानुसार पाण्डवले राज्य छाडेर वनवास लागे । वनवासकै क्रममा बागलुङ जिल्लाको पाण्डवखानीमा केही समय आएर बसेको किंवदन्ती रहेको ७७ वर्षीय स्थानीय पुनराम पुन बताउनुहुन्छ ।

पाण्डवकी आमा कुन्ती पनि नुहाएर फर्कने क्रममा सोही स्थानमा मृत्यु भएकाले पाण्डवखानीको झियाथरस्थित पाण्डवखानी माध्यमिक विद्यालयको प्राङ्गणमा उहाँको शव गाडिएकाले कुन्ती माता मन्दिर निर्माण गरिएको बताइन्छ । इतिहास बिर्सदै गएको सन्दर्भमा यसको खोज, संरक्षण तथा प्रचारप्रसार गर्नुपर्ने उहाँको जोड छ ।

निकै गर्विलो इतिहास बोकेको यस क्षेत्रको संरक्षण नहुँदा इतिहास मेटिदै जाने सम्भावना रहेको स्थानीयवासी बताउँछन् । माङ्खोलाको किनारमा अवस्थित पाण्डवले नुहाएको पञ्चधारा, नुहाएपछि पूजा गर्ने शिवलिङ्ग र रेगिश्वरे मन्दिर रहेको स्थानमा वनज¬ङ्गलले ढाकेको मात्रै छैन, त्यहाँ पुग्ने बाटोसमेत अस्तव्यस्त भइसकेको छ ।

एउटै ढुङ्गालाई कुँदिएर पाँचवटा प्वालबाट पानी आउने बनाइएको धारा अहिले पुरिने अवस्थामा पुगेको छ । धारामा लेउ भरिएर पानी खस्नै छोडेको छ । परापूर्वकालमा पाँच पाण्डव वनवास आएको समयमा पाण्डवहरुले त्यस स्थानमा नुहाउने र पूजापाठ गर्ने गर्दै आएको कथन छ । विसं १८१९ सम्म पञ्चधारा पुरानै अवस्थामा रहे पनि सोही वर्ष आएको बाढीले पञ्चधारामा क्षति पुगे पनि विसं २०४८ मा पुनःनिर्माण गरिएको पुनराम बताउनुहुन्छ । पुनका अनुसार त्यसयता संरक्षणमा कसैले पहल र चासो नदेखाउँदा इतिहास मेटिन थालेको छ ।

बागलुङमा इतिहास बोकेको पाण्डवले नुहाएको पञ्चधारालाई संरक्षण र प्रचारप्रसार गर्न सकेमा ऐतिहासिक र धार्मिक हिसाबले पाण्डवखानीलाई अघि बढाउन सहज हुने बागलुङ पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । पाण्डवका विषयमा धेरै इतिहास रहेकाले यसका विषयमा स्थानीय सरकारले थप खोज, अनुसन्धान गरेर संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका