लिमीमा बस्न थाले स्वास्थ्यकर्मीहरू, शुरु गरे घरदैलो स्वास्थ्य सेवा अभियान–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • लिमीमा बस्न थाले स्वास्थ्यकर्मीहरू, शुरु गरे घरदैलो स्वास्थ्य सेवा अभियान

लिमीमा बस्न थाले स्वास्थ्यकर्मीहरू, शुरु गरे घरदैलो स्वास्थ्य सेवा अभियान

लिमीमा बस्न थाले स्वास्थ्यकर्मीहरू, शुरु गरे घरदैलो स्वास्थ्य सेवा अभियान

कर्णबहादुर रोकाया, हुम्ला, ३० असाेज । संघीयता लागु भएपछि बल्ल हुम्लाको उत्तरी क्षेत्र लिमीमा स्वास्थ्यकर्मीहरू बल्ल बस्न थालेकाले स्थानीयहरू खुशी भएका छन् । साउन यता तीन गाउँका मानिसहरू पाँच सयभन्दा धेरै स्वास्थ्य चौकीमा उपचारका लागि आएका छन् ।

हिमालपारीको गाउँमा सरकारले स्थानीय नागरिकका लागि स्वास्थ्य, शिक्षा, सञ्चार र अन्य विभिन्न विषयको सेवा प्रवाह गर्न गराउनका लागि विभिन्न प्रकारका कर्मचारीहरूको व्यवस्था गरेर पनि दुर्गमको नाम, राजनीतिक जोडघटाउ र कर्मचारीतन्त्रको हालीमुहालीले यहाँ जो कोही बस्न नमान्ने तर सदरमुकाममा बसेर दुर्गमको सुविधा लिने प्रवृत्ति बढेको बेला स्थानीय सरकारको पहल र परिचालनमा लिमीमा बल्ल स्वास्थ्यकर्मीहरू बस्न थालेको जानकारी गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले दिनुभएकाे छ।

हाल लिमी स्वास्थ्य चौकी स्थानीय सरकारको मातहतमा आएपछि बल्ल गाउँमा कर्मचारीहरूको चहलपहल हुन थालेको लिमी हल्जी गाउँका स्थानीय छिरिंग तुन्डुप तामाङ्गले बताउनुभयाे । उहाँले भन्नुभयाे अब त सानोतिनो बिमारी भए पनि मानखाङ अर्थात् स्वास्थ्य केन्द्रमा ओक्तो अर्थात् औषधी पाइने भएकाले खुशी लागेको छ ।

साउन यता गाउँपालिकाले लिमीमा चार जना स्वास्थ्यकर्मी पठाएको छ । अवस्था हेरी स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सचेतनाका लागि गाउँ गाउँमा घुम्ती स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको लिमी स्वास्थ्य चौकीका ईन्चार्ज गोरा भण्डारीले जानकारी दिनुभएकाे छ ।

उहाँले भन्नुभयाे हाल दैनिक सरदर १५ जना स्थानीयहरू विभिन्न प्रकारका स्वास्थ्य समस्या ल्याएर स्वास्थ्य चौकीमा आउने गरेका छन् । साउनदेखि असोज २८ गतेसम्म ५ सय जनालाई उपचार गरिएको छ । तील र जांग गाउँमा गएर घरदैलो स्वास्थ्य सेवा पनि दिइने गरिएको छ ।

लगभग कात्तिकदेखि वैशाससम्म बाहिरी संसारसँग सम्बन्ध विच्छेद हुने गर्दछ । लिमीमा नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गबाट दुई दिनमा दुई र सदरमुकाम सिमकोटबाट तीन चार दिनमा हिंडेर लिमीमा पुग्नका लागि दुई ठूला पाँच हजार मिटर अग्ला हिमालहरू नारा र न्यालु पार गरेर जानु पर्दा धेरै गाह्रो र शारीरिक र मानसिक तनाव हुने स्थानीयवासी र स्वास्थ्यकर्मीहरूको अनुभव रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका