शिक्षा क्षेत्रमा रोटरीको योगदानको जति चर्चा गरे पनि कम हुन्छ:प्रदेश प्रमुख शेरचन – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • शिक्षा क्षेत्रमा रोटरीको योगदानको जति चर्चा गरे पनि कम हुन्छ:प्रदेश प्रमुख शेरचन

शिक्षा क्षेत्रमा रोटरीको योगदानको जति चर्चा गरे पनि कम हुन्छ:प्रदेश प्रमुख शेरचन

शिक्षा क्षेत्रमा रोटरीको योगदानको जति चर्चा गरे पनि कम हुन्छ:प्रदेश प्रमुख शेरचन

दमौली, २५ असोज । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले सामाजिक क्षेत्रमा रोटरी क्लवले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

रोटरी क्लवले शनिबार पोखरामा आयोजना गरेको पिसीआर उपकरण र शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोटरीले सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो ।

सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर उकास्ने उद्देश्य सहित क्लवले सञ्चालन गरेको अभियानले राम्रो प्रभाव पारेको उहाँको भनाई थियो ।

“रोटरीले पछाडि पारिएकाहरुलाई शिक्षित र दिक्षित बनाउने उद्देश्य सहित सञ्चालन गरेको कार्यक्रम सकरात्मक छ, शिक्षा क्षेत्रमा रोटरीको योगदानको जति चर्चा गरे पनि कम हुन्छ,” प्रदेश प्रमुख शेरचनले भन्नुभयो ।

उहाँले शिक्षा प्रणाली उत्पादनमूलक र व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । अहिलेको शिक्षा प्रणालीले बेरोजगार जनशक्ति मात्रै उत्पादन भइरहेकाले अबको युगको प्राविधिक शिक्षाको युग रहेको चर्चा गर्नुभयो ।

“डिग्री हासिल गरेर व्यावहारिक ज्ञान नसिकेसम्म त्यो डिग्रीको काम छैन, पढेको शिक्षा व्यवहार उपयोगी हुनुपर्छ,” उहाँले भन्नुभयो, “सरकारले पनि प्राविधिक शिक्षालाई जोड दिएर लगानी बढाएको छ ।”

सोही अवसरमा क्लवले गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३३ वटा सामुदायिक विद्यालयलाई सिकाई सामग्री सहितको स्मार्ट टिभी हस्तान्तरण गरेको छ ।

रोटरी नेपाल शिक्षा अभियानका गण्डकी प्रदेश सचिव बाबुराम बरालले तनहुँ, कास्की, स्याङ्जा, गोरखा, बागलुङ, पर्वत, म्याग्दीका विभिन्न विद्यालयलाई सिकाई सामग्री सहित टिभी हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका