स्याङ्जाको वालिङ नगरपालिकाका युवालाई खुसीको खबर , स्वरोजगार बनाउन नगरपालिकाले दुई करोड खर्च गर्दै – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • स्याङ्जाको वालिङ नगरपालिकाका युवालाई खुसीको खबर , स्वरोजगार बनाउन नगरपालिकाले दुई करोड खर्च गर्दै

स्याङ्जाको वालिङ नगरपालिकाका युवालाई खुसीको खबर , स्वरोजगार बनाउन नगरपालिकाले दुई करोड खर्च गर्दै

स्याङ्जाको वालिङ नगरपालिकाका युवालाई खुसीको खबर , स्वरोजगार बनाउन नगरपालिकाले दुई करोड खर्च गर्दै

वालिङ, २३, असोज

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण रोजगारी गुमाएकालाई लक्षित गरी स्याङ्जाको वालिङ नगरपालिकाले विशेष कार्यक्रम शुरु गरेको छ । कोभिडका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका वालिङका नागरिकलाई लक्षित गदै विशेष कार्यक्रम शुरु गरेको वालिङ नगरपालिकाले जनाएको छ ।

युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना शुरु गरिएको हो ।कोभिड–१९ का कारण समस्यामा परेका नागरिकलाई दिगो आर्थिक विकासतर्फ अभिप्रेरित गरी उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले यो परियोजना शुरु गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

विशेष गरेर विभिन्न मुलुकमा रोजगारी गर्दागर्दै कोभिडका कारण स्वदेश फर्केका नागरिकलाई सहज अवस्थामा ल्याउनका लागि यो अभियानको शुरु गरेको उहाँको भनाइ छ । कोभिडकै कारण रोजगारी गुमाएका तथा पेशा व्यवसायमा हानिनोक्सानी व्यहोरेका नागरिकलाई लक्षित गरी यो अभियान सञ्चालनमा ल्याइएको हो ।नगरपालिकाका १४ वटै वडामा नर्सरी स्थापना गर्नुका साथै आवश्यक बीउविजन तथा उपकरण प्रदान गरिने नगर प्रमुख खाँणले बताउनुभयो ।

अभियानअन्तर्गत उद्यमशीलता व्यवसाय प्रवर्तन केन्द्र इविक सेन्टर को स्थापना गर्ने, उद्यम तथा नवप्रवर्तन डेस्कमार्फत कम्तीमा ५० हजार अनुदान सहयोग गरिने छ भने वालिङ प्रोडक्ट होल्डिङ कम्पनीमार्फत बजारीकरणको ब्यवस्था मिलाइने नगर प्रमुख खाँणको भनाइ छ ।नगरपालिकाले वालिङ नगरभित्रै रहेका वा विदेशी भूमिमा कोभिड–१९ का कारण प्रभावित बनेका कम्तीमा एक हजार जनालाई स्वरोजगार बनाउने गरी तयारी थालिएको बताउनुभयो ।

अभियान सञ्चालनका लागि वालिङ नगरपालिकामार्फत रु दुई करोड र युएनडिपी नेपालमार्फत रु एक करोड छ लाख ९४ हजार २५० बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । मागअनुसारको सीप तथा तालीम प्रदान गरी स्वरोजगार बनाउनका लागि यस अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाइने छ।कोभिड–१९ बाट प्रभावित रोजगारी गुमाएका वालिङका नागरिकमा रहेको अन्यौलतालाई चिर्दै उनीहरुको मनोभावनाअनुसार जनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने गरी कार्यक्रम पु¥याइने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका