पोखरामा थपियो घुम्ने ठाउँ, यसरि भईरहेको छ पोखरा ३३ मा सुन गुफाको विकास–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • पोखरामा थपियो घुम्ने ठाउँ, यसरि भईरहेको छ पोखरा ३३ मा सुन गुफाको विकास

पोखरामा थपियो घुम्ने ठाउँ, यसरि भईरहेको छ पोखरा ३३ मा सुन गुफाको विकास

तिक्लाङ चमेरे गुफाबाट रबिन्द्र स्मृति सुन गुफा तिक्लाङ नामाकरण

पोखरामा थपियो घुम्ने ठाउँ, यसरि भईरहेको छ पोखरा ३३ मा सुन गुफाको विकास
फोटो/भिडियो : रोबर्ट घिमिरे/समाचारपाटी डटकम

पोखरा, १५ असोज । पोखरा महानगरपालिका वडा नं. ३३ मा तिकलाङमा रहेको रविन्द्र स्मृति तिक्लाङ सुन गुफाको संरक्षण र प्रवद्र्धनमा स्थानिय, जनप्रतिधि र सरोकारवालाहरु जुटेका छन् ।

विगत लामो समयदेखि बेवारिसे अवस्थामा रहेको उक्त गुफामा स्थानियले फोहोर फाल्ने गाउँमा मरेका पशु व्यवस्थापन गर्ने गर्दथे तर स्थानिय जनप्रतिनिधि आइसकेपछि पोखरामा नयाँ पर्यटकिय बन्न सक्छ भनेर गुफाको सरसफाई र संरक्षणमा जुटेको पोखरा महानगरपालिका वडा नं. ३३ का अध्यक्ष शिव प्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो – गुफा हो भन्ने जानकारी थियो तर संरक्षण थिएन । पोखरामा यो एउटा राम्रो पर्यटकिय गन्तव्य बन्न सक्छ भनेर हामीले यसको संरक्षणका लागि प्रयास गरेका हौँ ।

गुफाको तल्लो भागमा प्रवेशद्धार सहित गुफामा यसअघि रहेका आकृति र गुफाको स्वरुप नबिग्रने गरि मानिसहरुलाई सहजरुपमा प्रवेश गर्न मिल्ने बनाइएको छ । गुफाको करिब १०० मिटर भित्र सहज रुपमा जान सकिने बनाइएको छ भने अब करीब २ सय मिटर सफा गर्न बाँकी रहेको वडा अध्यक्ष आचार्यले बताउनुभयो । उहाँका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारण काम प्रभावित भएको छ । गुफाको तल्लो भागमा प्रवेशद्धार, त्यहाँसम्म पुग्ने सिंढी र माथिल्लो भागमा कार्यालय बनाइएको छ ।

गुफाको संरक्षणको काम सुरु गरेको वडाले सुरुमा ३ लाख रुपैया यसको संरक्षणका लागि छुट्याएको थियो । पछि महानगरपालिकाले पनि यसको संरक्षणका लागि २० लाख रकम विनियोजन गरेको थियो । यस्तै पुर्व मन्त्री स्व. रविन्द्र अधिकारीले यसको विकासका लागि निकै चासो देखाएर सांसद विकास कोष मार्फत सुरुमा ठुलो रकम छुट्याउनुभएको अध्यक्ष आचार्यले बताउनुभयो । उहाँका अनुसार गुफामा अहिलेसम्म विभिन्न ठाउँबाट गरि १ करोड भन्दा बढी खर्च भईसकेको छ ।

स्व. रविन्द्र अधिकारीले सुरुमा निकै चासो देखाएर यसको विकासका लागि प्रेरित गरेको र स्थानिय प्रतिनिधि भएपछि यो गुफाको नाम तिक्लाङ चमेरे गुफाबाट रबिन्द्र स्मृति सुन गुफा तिक्लाङ नामाकरण गरिएको गुफा संरक्षण समितिका अध्यक्ष बल बहादुर बानियाले बताउनुभयो । साथै अहिले सांसद विद्या भट्टराईले निकै चासो देखाईरहेको र करीब ६० लाख रकम उहाँकै सकृयतामा गुफामा आएको अध्यक्ष बानियाले जानकारी दिनुभयो ।

गुफा छ भन्ने थाहा पाएपनि यस अघि आफुहरुले केहि गर्न नसकेको तर जनप्रतिनिधि निर्वाचित भएर आएपछि गुफाको संरक्षणमा चासो देखाएकाले गुफा अहिले घुम्न लायक र पर्यटकिय गन्तव्यको रुपमा विकास भएको स्थानिय बसन्तकुमारी बानिया महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – रविन्द्र सर अहिले हामीमाझ हुनुभएको छैन, तर यदि उहाँले चासो नदेखाएको भए र वडा अध्यक्ष शिव सरले वास्ता नगरेको भए अहिले पनि यो ठाउँमा फोहोर फाल्ने र गाउँ घरमा मरेका भैसी फालिरहेको हुन्थ्यो, उहाँहरुले चासो देखाईदिनुभयो र यसले मुहार फेर्यो ।

अहिले स्थानियहरुले यस गुफाको विकासका लागि निकै उत्साहित भएर लागेका छन् । उनिहरुले आवश्यक जनश्रमदान गर्न तयार रहेको भन्दै सम्बन्धीत निकायलाई पनि यसको विकासमा ध्यान दिन अनुरोध गरेका छन् ।

गुफाभित्र विभिन्न भगवानका आकृति देखिने मुर्तीहरु रहेका छन् भने अधिकांश ठाउँमा सुन झैँ टल्किने बस्तु रहेका छन् । जसकारण यस गुफालाई सुन गुफा भनिएको छ । गुफामा केहि चमेराहरु पनि देख्न सकिन्छ । पोखरामा रहेका अन्य गुफा भन्दा यो गुफा निकै फरक भु–धरातल र वातावरणमा रहेको छ । गुफामा रहेका विभिन्न आकृति, सुन जस्तै टिलिक्क टल्कने मनमोहक दृश्य र चमेराहरुको अवलोकन गर्दै उकालो बाट ओरालो बाटो हुदै सेतीको छेउमा निस्कन सकिन्छ ।

पोखराको दोविल्ला हुदै लेखनाथको गगनगौडा निस्कने सडक छेउमा रहेको यो गुफाको राम्रोसंग विकास गर्ने हो भने पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ एक दिन एपनि लम्ब्याउन सकिने स्थानियहरुको विश्वास रहेको छ । गुफामा पोखराको गगनगौडाबाट सेती तरेर बाघमारा तिक्लाङ पुग्न सकिन्छ भने दोविल्लाबाट पनि यो गुफामा पुग्न सकिन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका