आंशिक शिक्षकको आन्दोलन : पिएन क्याम्पसमा सर्वपक्षिय छलफल–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • आंशिक शिक्षकको आन्दोलन : पिएन क्याम्पसमा सर्वपक्षिय छलफल

आंशिक शिक्षकको आन्दोलन : पिएन क्याम्पसमा सर्वपक्षिय छलफल

यहाँ आन्दोलन गरेर हुदैन, केन्द्रमै जानुहोस : थापा, पिएन क्याम्पसले दरवन्दी ल्याउन नसक्नु आन्दोलनको मुख्य कारण हो : केसी

आंशिक शिक्षकको आन्दोलन : पिएन क्याम्पसमा सर्वपक्षिय छलफल

पोखरा, ११ असोज । गण्डकी प्रदेशकै ठुलो क्याम्पस पृथ्वीनारायण क्यापसमा आंशिक शिक्षकहरुले ताला लगाएका छन् ।

समान कामको समाज ज्यालाको माग गर्दै उनिहरुले गत साउन २५ गते क्याम्पसमा ताला लगाएका हुन् । उनिहरुले त्रिवि र क्याम्पस प्रशासन गैह्रजिम्मेवार बनेको भन्दै ताला लगाउन बाध्य भएको बताएका छन् । आफूहरुले १४ वर्षदेखि समान कामको समान ज्याला माग गर्दै चरणबद्ध आन्दोलनमा रहेको आंशिक शिक्षकहरुको भनाइ छ ।

यहि समस्याको समाधान गर्न क्याम्पस प्रशासनले सर्वपक्षिय छलफल बोलाएको छ । कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले त्रि.विले लामो समय आंशिक शिक्षकहरुलाई यसरी राखिरहन नहुने बताउनुभयो । उहाँले समाचारपाटी डटकमसंगको कुराकानीमा भन्नुभयो – “त्रि.विले समास्या समाधान गर्नुपर्छ, कि तिमिहरु चाहिन्छ भनेर अगाडी बढ्नुपर्यो कि चाहिदैन भनेर अर्को बाटो रोज्नुपर्यो । यो जात्रा देखाईरहन भएन ।”

थापाले यति लामो समय देखि शिक्षकहरु आन्दोलन पनि गरिरहने, जागिर पनि छोड्न नसक्ने किन रहेछ भनेर प्रश्न पनि गर्नुभयो । उहाँले देशमा गणतन्त्र आइसेको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्न पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो – देशमा गणतन्त्र आइसक्यो, पिएन क्याम्पस केन्द्र मातहत छ, यहाँ आन्दोलन गरेर के हुन्छ ? काठ्माण्डौ गएर भिसिको अगाडी आन्दोलन गर्नुपर्यो, गणतन्त्र आएको छ राष्ट्रपतिसम्म उहाँहरु जान सक्नुहुन्छ । अहिले कक्षा बन्द गरेर ताला लगाएर आन्दोलन गर्नु राम्रो होइन बरु धेरै कक्षा संचालन गरेर आन्दोलन गर्न सकिन्छ, मेरो कुरा गर्नुहुन्छ भने यो आन्दोलनको अन्त्य हुनुपर्छ । त्रिबिले तत्काल समस्याको समाधान गर्नुपर्छ ।

हरेक कुरालाई राजनीतिसंग जोडिएको भन्दै उहाँले भन्नुभयो – “२० औँ वर्ष शिक्षकहरु आन्दोलन गरिरहने, त्रि.विले समस्या समाधानमा जोड नदिने यस्तो हुनु हुदैन ।” पिएन क्याम्पसलाई राम्रो बनाउने, शिक्षकहरुको समस्या समाधान गर्ने र शैक्षिक गुणस्तर वृद्धि गर्ने सवालमा आफ्नो तर्फबाट हुन सक्ने सहयोग आफुले गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री गोपालमान श्रेष्ठको पालामा २०७४ मंसिर ८ गतेको मन्त्रीपरिषदको निणर्य अनुसार त्रि.वि.मा कार्यरत आंशिक प्राध्यापकलाई करारमा नियुक्ति गर्नका लागि १ हजार ४ सय २० दरबन्दी सृजना गरि, अर्थ मन्त्रालयबाट आवश्यक बजेट समेत उपलब्ध गराई शिक्षा मन्त्रालयको नाममा निकासा गर्ने निणर्य गरेको भएपनि पिएन क्याम्पसबाट कुनै दरबन्दी ल्याउन नसक्नु दुखद भएको बताउनुभयो । पिएन क्याम्पसले ति दरबन्दी ल्याएर आंशिक शिक्षकलाई करारमा नियुक्त गर्न नसक्नुनै अहिलेको आन्दोलनको मुख्य कारण रहेको केसीको भनाई रहेको छ । लामो समय देखि काम गरेका शिक्षकहरु पिडामा रहेको अन्यायमा परेको भन्दै केसीले त्रि.विले तत्काल आंशिक शिक्षकहरुको माग पुरा गर्नुपर्ने बताउनुभयो ।

आशिंक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले पिएन क्याम्पसको समस्या समाधानका लागि छलफल भएपनि निष्कर्ष भने ननिस्केको उल्लेख गर्नुभयो । उहाँका अनुसार छलफलले केन्द्रमा विभिन्न दलका नेता, त्रिविका पदाधिकारीहरुलाई समस्याको बारेमा जानकारी गराएर समाधानको बाटो पहिल्याउन भुमिका खेल्ने र त्यसका लागि एउटा कार्यदल बनाउने सामान्य सहमति भएको र त्यस कार्यदल बन्नको लागि आंशिक शिक्षकहरुले पनि केहि आफ्ना शर्तहरु राखेको बताउनुभयो ।

आफ्ना शर्तहरु समेटिए भने कार्यदल बन्न सक्ने अन्यथा आफुहरु त्यसमा सहमती गर्न नसक्ने उहाँको भनाई रहेको छ । अहिले समस्याको समाधान गर्न छलफल मात्र भएको भन्दै छलफलको निश्कर्ष ननिस्केला क्याम्पसमा तालाबन्दी कायमै रहने गौतमको भनाई छ ।

आइतबार भएको छलफलमा विभिन्न राजनीतिक दल, शिक्षा क्षेत्रका सरोकारवालाहरुले दिर्घकालिन समाधानको उपाय खोज्नुपर्ने, शिक्षकहरुको माग पुरा गरि तत्काल ताला खोल्नुपर्ने बताएका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका