म्याग्दीमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण फैलँदै–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • म्याग्दीमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण फैलँदै

म्याग्दीमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण फैलँदै

म्याग्दीमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण फैलँदै

गलेश्वर, २ असोज । कोरोना भाइरस सङ्क्रमणको त्राससँगै म्याग्दीमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण फैलँदै गएको छ । जिल्लामा हालसम्म ३८ जनामा स्क्रब टाइफस र ७४ जनामा डेंगुको सङ्क्रमण देखिएको हो ।

सबैभन्दा बढी मङ्गला गाउँपालिकाकामा ३० जनामा डेंगुको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी रघुगङ्गामा छ, अन्नपूर्णमा चार, मालिकामा तीन र धवलागिरी गाउँपालिकामा दुई तथा बेनी नगरपालिकामा २९ जनामा डेंगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

उहाँले जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणको समस्या देखिएपछि बिरामीको नमूना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा डेंगु नै पुष्टि भएको जानकारी दिनुभयो ।

जीउ दुख्नु, उच्च ज्वरो आउनु, आँखाका गेडी दुख्नु, मांसपेशी तथा हाडजोर्नी दुख्नु, झाडापखाला लाग्नु र वान्ता आउनु डेंगुका लक्षण हुन् ।

डेंगु भाइरसले सङ्क्रमित लामखुट्टेले टोकेको तीन देखि १० दिनभित्र शरीरमा यसको लक्षण देखिन सक्छ । बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले भन्नुभयो, “सरसफाइमा ध्यान दिने, लामखुट्टेको बासस्थान र लामखुट्टेको लार्भा नष्ट गर्नु नै डेंगुबाट जोगिने प्रमुख उपाय हो ।”

बढ्दो गर्मी तथा पानी परेपछि म्याग्दीमा डेंगु रोगका बिरामीहरु बढ्दै गएका हुन् । डेंगु सङ्क्रमित बढेपछि यो जिल्ला उच्च जोखिममा परेको छ ।

एडिज एजिप्टाई नामक पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगु रोग सार्ने गर्दछ । यसबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, धेरै भीडभाडमा नजाने, सुत्ने बेलाको समयमा झुलको प्रयोग गर्ने र समुदायस्तरमा सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने डा. घिमिरेको भनाइ छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका